अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:५१ | Colorodo: 16:06

प्रचण्ड सरकार पाँच वर्ष चल्न सक्छ: शशांक कोइराला

बिआरटीनेपाल २०८० भदौ ३१ गते ०:२२ मा प्रकाशित

नेपाली कांग्रेसका नेता शशांक कोइरालाले अहिले सरकार परिवर्तनको सम्भावना नरहेको बताउनुभएको छ । आइतबार चितवनमा पत्रकारहरूसँग कुराकानी गर्दै उहाँले सत्ता गठबन्धनमा सामान्य खटपट भए पनि अहिले नै सरकार परिवर्तनको सम्भावना नरहेको बताउनुभएको हो । ‘मेरो दृष्टिकोणले पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकार पाँच वर्षसम्म जान सक्छ, मलाई त्यस्तो लाग्छ,’ सरकारको स्थायित्व आवश्यक रहेको उल्लेख गर्दै कोईरालाले भन्नुभयो ।

स्थायित्वले मात्रै देशको विकास सम्भव रहेकाले पार्टीभित्रको खिचातानी सरकारमा हुन नहुने उहाँको भनाइ छ। विगतमा कतिपय समझदारी भएर पनि तोडिएको प्रसंग उल्लेख गर्दै उहाँले प्रचण्ड साधारण व्यक्ति नभएको बताउनुभयो। तर नेकपा(एमाले) र नेकपा(माओवादी केन्द्र)बीचको तिक्तताका कारण पुनः एमालेसँग मिल्न जान सक्ने अवस्था नभएको कोईरालाले जिकिर गर्नुभयो ।

सम्भावना नेपालमा धेरै कुराको हुने भएकाले अब कांग्रेस एक्लै हिँड्नुपर्ने उहाको भनाई छ । ‘कांग्रेस सकेसम्म एक्लै जाने हो, कसैसँग मिल्नु छ भने अहिले मिलिराखेको छ भइहाल्यो,’ उहाँले भन्नुभयो, ‘मेरो दृष्टिकोणमा कांग्रेसले ठूलो पार्टी भए पनि प्रतिपक्षको नेतृत्व गरेको भए हुन्थ्यो।’ सच्चा कांग्रेस एक भएर लाग्नुपर्ने समय आएको कोइरालाको भनाइ छ। ‘इतिहास बलियो, सिद्धान्त राम्रो र परिवर्तनको महत्त्वपूर्ण भूमिका खेलेको कांग्रेस एक्लै अघि बढ्नुपर्छ,’ कोईरालाले भन्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू