अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:२५ | Colorodo: 18:40

गलत सन्देशका कारण सम्पर्क टुटेको अन्तरिक्ष यान भ्वायजर टू सम्पर्कमा आयो

बिआरटीनेपाल २०८० साउन २० गते ३:३० मा प्रकाशित

अमेरिकी अन्तरिक्ष निकाय (नासा) ले गलत सन्देश पठाएका कारण सम्पर्कबाहिर पुगेको अन्तरिक्ष यान भ्वायजर टू सँग पुनः सम्पर्क भएको छ । पृथ्वीबाट अर्बौँ माइल टाढा रहेको भ्वायजर टू लाई गलत सन्देश पठाएका कारण दुई हप्ताअघि सम्पर्क टुटेको थियो ।नासाका वैज्ञानिकहरुले समस्या समाधान गरेपछि ४६ वर्षदेखि अन्तरिक्षमा रहेर अनुसन्धानमा सघाइरहेको भ्वायजर टू सम्पर्कमा आएको बीबीसीले जनाएको छ । गलत सन्देश पठाइएका कारण पृथ्वीको अर्कोतर्फ फर्किएको भ्वायजर टू को एन्टेना पहिलेकै अवस्थामा फर्काउन नासाले अष्ट्रेलियामा रहेको शक्तिशाली रेडियो एन्टेनाको प्रयोग गरेको हो ।

पृथ्वीबाट १२ अर्ब माइल टाढा रहेको भ्वायजर टू मा पृथ्वीबाट पठाएको सन्देश पुग्न १८ घण्टा र त्यहाँबाट पृथ्वीमा सन्देश आइपुग्न पनि १८ घण्टा नै लाग्छ । सन् १९७७ मा प्रक्षेपण गरिएको भ्वायजर टू ले वृहस्पति र शनिसहित चन्द्रमाहरुको अनुसन्धानका लागि महत्त्वपूर्ण सन्देशहरु पठाइरहेको थियो । भ्वाएजर वान र भ्वायजर टू एकै वर्ष अन्तरिक्षमा पठाइएका थिए । यी दुवै अन्तरिक्षबाट सबैभन्दा टाढा रहेका अन्तरिक्ष यान हुन् । भ्वायजर टू ले केही समयदेखि सूर्यबाट बाहिर निस्कने अत्यधिक ऊर्जावान आयनहरू मिलेर बनेको इन्टर स्टेलर स्पेसको अन्वेषण गरिरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू