एसीसी इमर्जिङ टिम्स एसिया कप क्रिकेट खेलेर नेपाली राष्ट्रिय टोली आज स्वदेश फर्किएको छ । प्रतियोगितामा नेपाली टोलीले समूह चरणमा खेलेका तीन मध्ये दुई खेल हारेको थियो । एसीसी इमर्जिङ टिम्स एसिया कपपछि नेपालले श्रीलंकामा ४ टीमसँग अभ्यास खेल समेत खेलेको छ । स्वदेश फर्किने क्रममा त्रिभवन अन्तराष्ट्रिय विमानस्थलमा पत्रकारसंग टोलीका कप्तान रोहित पौडेलले श्रीलंका भ्रमणबाट धेरै कुरा सिकेको प्रतिक्रिया दिएका छन् ।
पौडेलले नेपाली टिम बिस्तारै सिक्दै र बढ्दै गरेको टिम भएकाले ठूलो आशा गर्नु व्यवहारिक नभएको बताएका छन् । नेपालले ५ जना सिनियर खेलाडीलाई भने श्रीलंका भ्रमणमा सहभागी गराएको थिएन । जसले गर्दा टोलीमा युवा खेलाडीको बाहुल्यता थियो । इमर्जिङ कपमा नेपाल भारत ‘ए’ सँग ९ विकेट र पाकिस्तान ‘ए’ सँग ४ विकेटले पराजित भएको थियो । युएई ‘ए’ लाई भने नेपालले ३ विकेटले पराजित गरेको थियो ।
नेपालले अब पाकिस्तान र श्रीलंकामा अगष्टदेखि सुरु हुने एसिया कप खेल्नेछ । नेपाल रहेको समूह ‘ए’ मा पाकिस्तान र भारत छ । नेपालले अगष्ट ३० मा पाकिस्तान र सेप्टेम्वर ४ मा भारतसंग खेल्नेछ ।