सभ्यताको यही मूल तपस्वी स्थल पावन
सिंह-मृगसँगै चर्दै गर्थे सद्-भाव पालन
हिमाली काखको ध्यान सिद्धि शिखरमा हुँदा
सुकिला निर्झरी जस्तै सिर्जिए ज्ञान सम्पदा ।१।
तनमा रूखका बोक्रा मन हुन्थे समुज्ज्वल
आँखा चिम्ली अझै हेर्थे योगी जगतका बल
बुद्ध वा जनकै जो हुन् साधकै हुन् महामना
मृत्तिका यो सीता-गार्गी सबैको गर्छ वन्दना ।२।
धरा यो देवको धाम तप विश्वासको घर
साधनाशीलले गर्दा पलाए ज्ञान-अङ्कुर
धर्म यो धारणा राम्रो खोज सत्-मार्ग सिर्जना
यही संस्कारले जन्मे मानवी शिष्ट भावना ।३।
हाम्रा संस्कार आफ्नै छन् आफ्नै छन् विधि पद्धति
परमार्थीहरूमाथि देख्ने मानवको गति
निषेध विधि मानेर विधि भत्काउँदै चले
हुन्न आदरको भाव शठ पुज्दैन लोकले ।४।
शिव हुन्छन् सधैँ पूज्य शक्ति गर्छिन् परिक्रमा
विना शिव कहाँ शक्ति ? अच्युत हुन्न च्युतमा
सनातनी यही श्रद्धा यही विश्वास व्याप्त छ
आफ्ना पूर्वजको बाटो माटामा अझ शेष छ ।५।
ज्ञान हो हित संसार जहाँ जीवन बोल्दछ
अज्ञान मृत्युको रूप सधैँ निस्सार ढल्दछ
भकुण्डासरि जो- जो छन् उफ्रिई मारमा परे
विना काम कहाँ नाम ? सुकेका पात झैँ झरे ।६।
सुख-शान्ति कहाँ मिल्छ ? कर्म चोखो नभैकन
कर्म चोखो कहाँ हुन्छ बोकेर धमिलो मन
शिवका बुद्धका आँखा खुल्नुपर्छ अझै-अझै
नफाटी तमको जालो कहाँ भेटिन्छ शान्ति नै ।७।
——————————-
गोरखा, लप्सीबोट; हाल: काठमाडौँ- ६, सरस्वतीनगर ।