अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:५७ | Colorodo: 10:12

नेपालका लागि एडीबीद्वारा करिब ६ अर्ब ६० करोड ऋण स्वीकृत

बिआरटीनेपाल २०८० असार १४ गते ५:५४ मा प्रकाशित

एसियाली विकास बैंक (एडीबी) ले आन्तरिक र अन्तर्राष्ट्रिय व्यापार सुधारमा नेपालका लागि ५ करोड डलर ९६ अर्ब ५९ करोड रुपैयाँ० ऋण स्वीकृत गरेको छ । आन्तरिक तथा अन्तर्राष्ट्रिय व्यापारका नीतिगत समस्या सुधारलाई कार्यान्वयन गर्न ५ करोड डलर ऋण स्वीकृत गरेको हो । आर्थिक वर्ष २०२२ मा नेपालको कुल गार्हस्थ उत्पादनमा व्यापार र उद्योगको योगदान १४.१ प्रतिशत रहेको एडीबीको तथ्यांक रहेको छ । सरकारले व्यापार र निकासी प्रवर्द्धनको वातावरणमा सुधार र प्राथमिक वस्तुको आपूर्तिलाई सुदृढ गरी कुल गार्हस्थ्य उत्पादनमा व्यापारको योगदान बढाउन जोड दिएको र भन्सार प्रणाली, सेवा तथा सीमा प्रक्रियाको सुधार आवश्यक रहेको एडीबीले जनाएको छ ।

‘व्यापार र उद्योग क्षेत्रको विकासले प्रतिस्पर्धात्मकतालाई बढावा दिनेछ र देशलाई दिगो आर्थिक वृद्धितर्फ डोर्‍याउन मद्दत गर्नेछ,’ एडीबी दक्षिण एसिया विभागका क्षेत्रीय सहयोग तथा सञ्चालन समन्वय निर्देशक थियाम ही एनजीले भन्नुभयो, ‘यसबाहेक सुधारिएको व्यापार सहजीकरणले निर्यात बढाउन र नेपालको भुक्तानी सन्तुलनलाई सम्बोधन गर्न मद्दत गर्न सक्छ ।’

कार्यक्रमले भन्सार महसुल तथा शुल्कको विद्युतीय भुक्तानी गर्न, निर्यात कागजात पनि विद्युतीय रुपमै पेस गर्नेगरी डिजिटल प्रविधि मार्फत भन्सार प्रक्रियामा सुधार र आधुनिकीकरण योजना कार्यान्वयन गर्न मद्दत गर्ने जनाइएको छ । यसले भन्सार क्लियरेन्सलाई सहज बनाउन अनलाइन भन्सार मूल्याङ्कन डाटाबेस स्थापना हुनेछ र कागजात घटाउनेछ । कार्यक्रमले भारत र बंगलादेश जस्ता देशका प्रमुख आर्थिक साझेदारसँग व्यापार सहज बनाउन पूर्वाधार र उपकरणहरूको प्राविधिक मापदण्ड पुरा हुने जनाइएको छ ।

 

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू