शेयर बजार यो हप्ताको पाँचैँ दिन बढेको छ । पाँच दिनमा शेयर बजारमा १ सय ३ अङ्कको वृद्धि भएको छ । गएको आइतवार बजार खुल्दा १ हजार ९ सय ३९ विन्दुमा रहेको शेयर बजार परिसूचक नेप्से आज बिहीवार २ हजार ४२ विन्दुमा पुगेको छ । पछिल्लो आठ दिनदेखि शेयर बजार घटेको छैन । नेप्से आज ५ अङ्कले बढेको छ । बीमा, उत्पादन, होटल र अन्य समूहको शेयर बढेको छ भने अरू सबै समूहको शेयर ओरालो लागेको छ ।
बजार बढे पनि कारोबार रकममा भने निकै कमी आएको छ । हिजो बुधवार ५ अर्ब रुपैयाँभन्दा धेरैको कारोबार भएकोमा आज दुई सय ७० वटा कम्पनीका ७८ लाख ९६ हजार कित्ता शेयर ३ अर्ब ६२ करोड ८१ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै शिवम् सिमेन्टको १७ करोड ९३ लाख रुपैयाँको शेयर किनबेच भयो ।
आज सबैभन्दा धेरै सिटी होटलको शेयर १० प्रतिशत र अभियान लघुवित्तको शेयर नौ प्रतिशतले बढेको छ । आज सबैभन्दा धेरै बुङ्गोल इनर्जी डेभलपमेन्ट कम्पनीको शेयर झन्डै छ प्रतिशत र मल्टिपर्पोज फाइनान्स, मिर्मिरे लघुवित्त र साधना लघुवित्तकोे शेयर झन्डै चार प्रतिशतले ओरालो लागेको छ ।