अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:४१ | Colorodo: 10:56

प्रधानमन्त्रीसँग पोखराका व्यवसायीको भेट- नाम मात्रैको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल बन्यो

बिआरटीनेपाल २०७९ चैत २७ गते ७:३८ मा प्रकाशित

पोखराका उद्योगी, व्यवसायीले पोखराबाट अन्तराष्ट्रिय उडान सुरु गर्न माग गरेका छन् । पोखरा पर्यटन परिषदको नेतृत्वमा काठमाडौं पुगेका व्यवसायले सोमबार सिंहदरबारमा प्रधानमन्त्रीसँगको भेटमा पोखरेली व्यवसायीले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नाममात्रैको नबनाउन आग्रह गरेका हुन् । ‘तपाईं आफैंले उद्घाटन गरेको विमानस्थल अहिले नाम अन्तर्राष्ट्रिय तर उडान काठमाडौंजस्तो मात्र भएको छ,’ पोखरा पर्यटन परिषदका अध्यक्ष पोमनारायण श्रेष्ठले प्रधानमन्त्रीको ध्यानाकर्षण गराउनुुभयो, ‘भारत, चीन, बंगलादेशलगायत देशमा तत्काल उडान थाल्न नीतिगत पहल गरिदिनुपर्यो ।’

बैंकको ब्याजदर एकल अंकमा झार्नुपर्ने, कर्जा पुनर्तालिकीकरण गर्नुपर्ने, पोखराबाट अन्तर्राष्ट्रिय उडान थानुपर्ने, पोखराको रत्न मन्दिर, हिमा गृहजस्ता सम्पदा खुला गर्नुपर्ने लगायतका माग प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसमक्ष राखेका हुन् । नेपाल एयरलाइन्स पूर्ण व्यवसायिक बनाई आन्तरिक र अन्तर्राष्ट्रिय उडानहरु सञ्चालन गर्न आवश्यक जहाजहरू खरिद गर्न व्यवसायीले प्रधानमन्त्रीसँग आग्रह गरे । कम्तीमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट पनि नेपाल एयरलाइन्सको जहाज उडानको व्यवस्थासहित हवाइ सञ्जाल बिस्तार गर्न व्यवसायीले ध्यानाकर्षण गराएका छन् ।

साहसिक पर्यटनको मुख्य गन्तव्य पोखराको प्याराग्लाइडिङलाई अन्तर्राष्ट्रिय उडानलाई असर नगर्ने गरी पूर्ववत स्थापित गर्नुपर्ने, पोखराको रत्न मन्दिर, हिमा गृहजस्ता सम्पदा मन्त्री फेरिएपिच्चे खुला गर्ने भनेर चर्चा कमाउने तर नखोल्ने गरिएकोमा व्यवसायीले असन्तुष्टि जनाएका छन् । उनीहरुले यी सम्पदा सधैं खुला गर्ने व्यवस्था मिलाउन प्रधानमन्त्रीसँग आग्रह गरेका छन् ।नेपाल पर्यटन बोर्डको प्रशासनिक एवं व्यवस्थापकीय सुधार गरी पर्यटकीय संघ सस्थाका संस्थागत प्रतिनिधित्व सुनिश्चित गर्न पनि व्यवसायीहरुले माग गरे । स्थलमार्ग हुँदै नेपाल भित्रिने पर्यटकलाई सहज र मुख्य सहरसम्मको यात्रा सुविधाका लागि राजमार्गहरुको सुधार गर्नुपर्ने र पृथ्वी राजमार्गको पुनर्निर्माणलाई छिटो तथा व्यवस्थित बनाएदिन पनि उनीहरुले प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका छन् ।

नेपाल पर्यटन बोर्डको बजेट नितान्त पर्यटन प्रवर्द्धनका लागि विनियोजन र खर्च गर्न व्यवसायीले माग गरेका छन । मुक्तिनाथ दर्शन गर्न जाने दर्शनार्थीलाई टिम्स र गाइड अनिवार्यको व्यवस्था अनिवार्य नगर्न, पदयात्रामा मात्रै गाइड र सहयोगी अनिवार्य गर्न र मोटर गाडी जाने ठाउँमा यो नियम नलगाउन पनि व्यवसायीले आग्रह गरेका हुन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू