नेपाल सुनचाँदी व्यवसायीहरुले सुन आयातमा लगाइएको कोटा प्रणाली हटाउन माग गरेको छ ।सोमबार नेपाल सुनचाँदी व्यवसायी महासंघ, नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघ र नेपाल हस्तकला महासंघले संयुक्त पत्रकार सम्मेलन गरी सुन आयातमा लगाइएको कोटा प्रणाली हटाउन सरकारको ध्यानाकर्षण गराएको हो ।पत्रकार सम्मेलनमा बोल्दै नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष माणिकरत्न शाक्यले सुनचाँदी बजारलाई नियन्त्रित तरिकाले कोटा प्रणालीबाट चलाइरहेकाले सरकारसँग सुन आयातको कोटा प्रणाली हटाउन माग गर्नुभयो । उहाँले सुन आयातको कोटा प्रणालीका कारण बजारमा सुनको माग बढी भएपनि मागअनुसार बिक्री वितरण गर्न नपाएको बताउनुभयो ।
उहाँले राज्यको कर दायित्व भुक्तानी गरी र स्वदेशी रोजगार सिर्जना गर्दै पेशा व्यवसाय गर्ने अधिकार स्थापित गर्न र सुनचाँदीको कारोबार गर्न राज्यका तर्फबाट स्पष्ट मापदण्ड बनाइ लागू गर्न र सुनचाँदी व्यवसायको विकास र प्रवद्र्धन हुनेगरी ऐन नियम कार्यविधि निर्माण गर्न सरकारसँग आग्रह गर्नुभयो । उहाँले कोटा सिस्टम क्षणिक समयका लागि हुने भएपनि सरकारले अहिलेसम्म कोटा प्रणाली नै राखिराख्नुले सुन तस्करी गरी ल्याउने क्रम बढेको बताउनुभयो । उहाँले अहिलेको सुन आयातको सिस्टम नहटे सुनचाँदी पसल चलाउन नसकिने बताउनुभयो ।
महासंघले बजारमा सिजनको समयमा ४० किलोको हाराहारीमा माग आएपनि १० किलो मात्रै सुन आयात भइरहेको जनाएको छ । विधिवत रुपले बैंकबाट आउने सुनबाहेक विदेशबाट आउने नेपालीहरुले बिना भन्सार ५० ग्राम र भन्सार तिरेर १०० ग्राम सुनका गरगहना ल्याउन पाउने सुविधाअनुसार सुन बजारलाई केही धानेको भएपनि अहिले प्रहरीले त्यसरी सुन ल्याउने व्यवसायीहरुलाई पक्राउ गर्ने र अनावश्यक दुःख दिने गरेको आरोप महासंघको छ ।
महासंघले विगत १३ वर्षदेखि लागू हुँदै आएको राष्ट्र बैंकको परिपत्र र एकाधिकार व्यव्स्थाको समीक्ष हुन जरुरी रहेको बताएको छ । नेपाली मौलिक गरगहनाहरु विश्वव्यापीरुपमा माग भइरहेको सम्बन्धमा गरगहना निर्यातका लागि स्थानीय बजारको व्यवस्थापनका लागि र घरघरमा रहने आम उपभोक्ताहरुको सम्पतीका रुपमा रहनका लागि सुनचाँदी गरगहनाको यो पेशा व्यवसायलाई आवश्यक नीति, नियम र ऐन कानून निर्माण गर्न आवश्यक रहेको बताएको छ ।