पोखरा हवाई दुर्घटनामा मृत्यु भएकामध्ये ६ जनाको शव पहिचान हुन बाँकी रहेको छ। काठमाडौं लगिएका ४८ मध्ये ६ जनाको शव पहिचान हुन बाँकी रहेको त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण अस्पतालले जनाएको छ। अस्पतालका फरेन्सिकविद डा तुलसी कँडेलले फरेन्सिक र फिंगर प्रिन्टबाट ४२ जनाको शव पहिचान गरिएको जानकारी दिनुभयो । ६ जनाको शव अब ’डिएनए’ परीक्षणबाट पहिचान गरिने उहाको भनाई छ ।
नेपाल प्रहरीको प्रयोगशालामा शवको ‘डिएनए’ परीक्षण गरिने छ। कँडेलले ‘डिएनए’ परीक्षणका लागि मृतक र मृतकका नातेदारको नमूना संकलन गर्ने कार्य भइरहेको जानकारी दिनुभयो । यो विधीबाट शव पहिचान गर्न कम्तीमा २२ दिन लाग्नेछ। विमान दुर्घटनाका ४८ शव फरेन्सिक जाँचका लागि काठमाडौं लगिएको थियो भने पोखरामा २२ शवको जाँच गरिएको थियो । गत माघ १ गते काठमाडौंबाट पोखरातर्फ गइरहेको यती एयरलाइन्सका जहाज सेती नदीको खोंचमा दुर्घटना हुँदा जहाजमा सवार ७२ जनाको मृत्यु भएको थियो।
