फाटेको दौरा, उध्रेको टोपी र च्यात्तिएको चप्पल लगाएर मनबहादुर अदृश्य शक्तिप्रतिको आशा र विश्वास बोकेर हिडेकाे थियो । उसले भगवान् बस्ने मन्दिर खोज्दै थियो । उसले टाउकोमा सेतो टोपी लगाएको नवाज पढेर विपरीत दिशाबाट आइरहेको अब्दुललाई सोध्छ “ए भाइ यता मन्दिर कता छ ?”मनबहादुरको मुखमा हेर्दै अब्दुलले भन्छ,”मन्दिर त पल्लो गाउँमा छ । यो त मुस्लिम बस्ती हो । त्यो चाहिँ क्रिस्चियनहरूको हो । तपाई हिन्दु होइन र ? कि कुन भगवान् मान्नु हुन्छ ?
मनबहादुरले खुइए सुस्केरा हाल्दै भन्छ ,”खै कुन भगवान्, कुन ? म त भए जति सबै भगवान् मान्छु, ब्रह्मा, विष्णु, महेश्वर, राम, कृष्ण, बुद्ध, देवी, भगवती, दुर्गा, माता, वर,पिपल, जल, थल, वायु, जीव, जनावर अनि यस्तै यस्तै—– थुप्रै !
अवदुल र मनबहादुरको संवाद सुनिरहेको बलेन्द्र चर्चबाट निस्केर सडकछेउ अडिएको थियो । सडकको पल्लो किनाराबाट उसले भन्यो, “ए दाइ पर्खनुस् मेरो प्रे. सिद्धियो, मन्दिर भएतिर म जाँदै छु, मै पुराइदिउँला”।
सडक पार गरिरहेको बलेन्द्रलाई अचानक गाडिले ठक्कर दियो । “हरे परमेश्वर”! भन्दै,- ऊ किनारामा पछारियो । ए ! हान्यो, हान्यो, भन्दै देख्ने सबै जना घाइतेलाई उठाउन गए ।
रातो कपडा लगाएको, केश खौरिएको लामाजस्तो देखिने चालक हस्याङ्ग फस्याङ्ग गर्दै,- “सरी सरी मैले देख्नै सकिन” । चालक सहित पाँच, छ जना मिलेर सोही कारमा अस्पताल लिएर गए । परीक्षण सकियो । संयोगले ठुलो चोट लागेन छ।
बलेन्द्रले मनबहादुरको मुखमा हेर्दै भन्यो । “हेर्नुस् न मन्दिर पुर्याइदिन्छु भनेको अस्पताल पुगियो” । बलेन्द्रकाे छुटेको झोला दिँदै वृद्धले भने-“बाबु हो तम्रा सबै कुरा सुन्या र घटना नि पछाडि बाटै देख्या । तमीहरू तम्रा आस्थाका कुरा गर्याै । भगवान् त तमिहरु हाै । लोकमा धर्मका नाममा धेरै युद्ध भया छन् तर तमीहरू चारैधर्मका मुन्छेमा मानवता, सहिष्णुता र सद्भाव देख्या। मुङ त भन्छ ,तमीहरू भन्दा ठुला भगवान् मन्दिर,मस्जिद,गुम्वा र चर्चमा नाइहुन ” । गोडामा पट्टी बाँधी रहेको डक्टरले भने,-“त्यसैले त यो नेपाल हो, सबै धर्मको शिर” ।
लामा जस्ता देखिने चालकले प्रफुल्लित हुँदै भने- “बुद्धको देशमा सबै महान्, सबै भगवान्” उनले गरल्याम्म घाइतेलाई अङ्गालो हाले । उपस्थित सबै क्रमश:एउटै अँगालोमा बाँधिए । सबैजना अंगालाेमा बाँधिदा अनौठो दृश्य देखियो । यस्तो दृश्य न कहिले देखिएको थियो । न अन्त कतै देखिन्छ । देखिन्छ त केबल नेपालमा!!!