अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:२३ | Colorodo: 11:38

”संघीय शिक्षा ऐन मेरो प्राथमिकतामा छ” : प्रधानमन्त्री प्रचण्ड

बिआरटीनेपाल २०७९ पुष २३ गते ४:११ मा प्रकाशित

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नयाँ सरकारले संघीय शिक्षा ऐन जारी गर्ने विषय आफ्नो प्राथमिकतामा राखेको बताउनुभएको छ । शनिबार बिहान काठमाण्डाैको महेन्द्र माविमा एकीकृत अखिल नेपाल शिक्षक संगठनको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले संघीय शिक्षा ऐन जारी गर्ने विषयमा सरकार गम्भीर रहेको बताउनुभयो ।प्रधानमन्त्रीले भन्नुभयो, ‘‘अघिल्लो सरकारको कार्यकालमा पनि संघीय शिक्षा ऐनका केही काम भएका छन् । तर, ऐन जारी भएन। यसपटक संघीय शिक्षा ऐन ल्याउने कुरा सरकारको प्राथमिकतामा छ। यो ऐन जारी गरेपछि शिक्षा क्षेत्र र शिक्षकहरूसँग सम्बन्धित अधिकांश समस्या सम्वोधन हुन्छन् ।’’

देशको राजनीतिक परिवर्तन र सामाजिक रुपान्तरणमा शिक्षकहरूको अहम् भूमिका भएकोमा प्रधानमन्त्रीले जोड दिनुभयो । सामाजिक चेतनाका निम्ति, राजनीतिक जागरण र राजनीतिक एवं सामाजिक उत्तराधिकारी निर्माणमा शिक्षकहरूको महत्वपूर्ण योगदान रहँदै आएको पनि उहाँले बताउनुभयाे ।यस्तै उहाँले आफ्नो तेस्रो कार्यकाललाई चुनौतीपूर्ण अवसरका रूपमा चित्रित गर्दै एउटा पनि नराम्रो काम नगर्ने र गर्न नदिनेमा आफू सचेत भएकाे पनि उल्लेख गर्नुभयाे । “सिंगो देशले हामीलाई आशाको नजरले हेरिरहेको छ। जनताको त्यो आशालाई सम्बाेधन गर्न तपाईँ हामी सबै गम्भीर र जिम्मेवार हुनुपर्छ’’, उहाँले भन्नुभयाे ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय