प्रधानमन्त्री शेरबहादुर देउवाले मानव अधिकार, लोकतन्त्र र कानूनी शासनको पक्षमा सामूहिक रुपमा काम गर्न आवश्यक रहेको बताउनुभएको छ । शनिबार ललितपुरमा राष्ट्रिय मानव अधिकार आयोगले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले यस्तो बताउनुभएको हो ।उहाँले नेपालको संविधानले विश्वव्यापी रुपमा मानव अधिकारका आधारभुत मागहरु अन्तर्गतका सबै अधिकारहरुलाई मौलिक अधिकार हकको रुपमा संवैधानिक रुपमा प्रत्याभुत गरेको उल्लेख गर्नुभयो ।
उहाँले मौलिक हकको कार्यान्वयनका लागि आवश्यक कानून निर्माण भइसकेको भन्दै उहाँले मानव अधिकारको संरक्षण, संवद्र्धन गर्ने दायित्व राज्यको भएपनि मानव अधिकारको सम्मान गर्नु सबैको जिम्मेवारी भएको बताउनुभयो ।प्रधानमन्त्री देउवाले प्रचलित कानूनको पालना र मानव अधिकारको सम्मान गर्न निजी क्षेत्र, प्राज्ञिक समाज, नागरिकहरु सबैको सहयोग आवश्यक रहेको बताउनुभयो । उहाँले राष्ट्रिय मानव अधिकार आयोगको पेरिस सिद्धान्तअनुरुपको स्वतन्त्रता र स्वायत्ततालाई अघि बढाउन सरकार सदैव प्रतिवद्ध रहेको पनि उल्लेख गर्नुभयो । उहाँले सबै किसिमका दण्डहीनता अन्त्य गर्ने र मानव अधिकार उल्लंघनप्रति शून्य सहनशीलताको नीति नेपाल सरकारले लिएको बताउनुभयो ।
उहाँले नागरिकको आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार प्रत्याभुत गर्न मानवअधिकारमैत्री वातावरण सिर्जना गर्न सरकार प्रतिवद्ध रहेको पनि बताउनुभयो । प्रधानमन्त्री देउवाले सरकारले मानवअधिकार सम्बन्धी कानूनी संरचना व्यवस्थापनदेखि मानवअधिकार उल्लंघनका घटनाहरु कम गर्न आवश्यक काम गर्दै आइरहेको बताउनु भयो । नेपालसहित वश्वभर शनिबार ७४ औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवस मनाइएको छ ।
