कवितासंग्रह माथि भर्चुअल छलफल सम्पन्न
नर्थ क्यारोलाइना नेपाली साहित्य समाज, अनेसास नर्थ क्यारोलाइना च्याप्टरको आयोजनामा नोभेम्बर १२, २०२२ मा साहित्यकार कवि मञ्जुलको कवितासंग्रह बाल्यकालसँग खेल्दै माथि भर्चुअल छलफल सम्पन्न भयो ।
ड्राइभर दाइ खलासी भाइ,
हाम्रो धेरै माया तिमीलाई, हाम्रो धेरै आदर तिमीलाई
कैले लान्छौ उकालीमा, कहिले ओरालीमा
कैले लान्छौ घुम्ती घुम्ती कहिले द्यौरालीमा …..
शिशिर खनालले अध्यक्षता गर्नुभएको र डा. ऋषि बस्ताकोटीले सञ्चालन गर्नुभएको दुई चरणमा विभाजित कार्यक्रमको पहिलो चरणमा माथि उल्लेखित गीतका लेखक, गायक तथा बहुमुखी प्रतिभाका धनी कवि मञ्जुलको साहित्यिक यात्राको बारेमा नम्रता गुरागार्इंले छोटो परिचय दिनुको साथै वहाँको आफ्नै हस्तलिखित कवितसंग्रह बाल्यकालसँग खेल्दैका केही प्रतिनिधिमूलक कविताहरू संस्थाका सदस्यहरू क्रमशः सुजाता ढुङ्गेल, प्रभा पोख्रेल र विक्रम गौतमले वाचन गर्नुभयो । उक्त चरणमा खाइराखेको जागिर छोडेर दुखी गरिबको उत्थानका लागि आवाज उठाउँदै हिडने कवि मञ्जुल राल्फा आन्दोलन, सङ्कल्प परिवार तथा अरू जुनसुकै सङ्घसंस्थामा जोडिए पनि तिनै भोकानांगाहरुको दुखका गीतहरू गाउँदै गाउगांउ हिडन नछोडेका कुरा वहाँका लेखहरूमा पाइएको कुरा उपस्थित श्रोताहरूका माझ पस्कियो ।
कार्यक्रमको दोस्रो चरणमा कवि मञ्जुलको साहित्यिक यात्राको कुन साहित्यिक पाटोले आफूलाई धेरै छोयो भन्ने कुरामा विभिन्न साहित्यकारहरूले आ– आफ्नो मन्तव्य राख्नु भयो ।
मन्तव्य राख्नेहरूमा भारती गौतमले कसैसँग साहित्य सृजना गर्ने अलिकति बीउ छ भने त्यसलाई मलजल गरेर प्रोत्साहन गर्ने काम साहित्यकार मञ्जुलले गर्नुहुन्थ्यो, जुन प्रोत्साहनको मलजन मैले पनि पाएकी छु भन्नुभयो । सुजन सिमोन— संस्थाका सल्लाहकार ईश्वर देवकोटाले चिनाउनु भएको फोटो पत्रकार सुजन सिमोनले कवि मञ्जुल चित्रमा कविता लेख्न सक्ने मान्छे हो भन्दै वहाँले आहालमा बसेका भैँसीका चित्र र त्यो चित्रमाथि मञ्जुल दाइले लेख्नुभएको भैँसीको सिंह डुब्नु हुँदैन भन्ने कविताका नेपाली र अङ्ग्रेजी दुवै कपि देखाउनु भयो । उक्त चित्र कविता सुजनले करिब करिब २० वर्ष अघि नर्थ क्यारोलाइना स्थित च्यापल हिलको सार्बजानिक पुस्तकालयमा प्रदर्शन गर्नुभएको थियो । वसन्त श्रेष्ठले मेरो गुरु वहाँ हिमालको सुन्दरताको मात्र कविता गाउनुहुन्न, वहाँ हिलोमा फुल्ने कमलको शुन्दरताकोपनि गीत गाउनुहुन्छ । वहाँको चोकटी भन्ने कवितासंग्रहले मलाइ धेरै कविता लेख्न प्रेरित गरेको हो ।निलम कार्की निहारिकाले नयाँ कविहरुकालागि मञ्जुल दाइ अबिभाबक नै हुनुहुन्थ्यो, दाइबाट कविता कसरी लेख्ने र वाचन कसरी गर्ने मैले पनि सिकेकी हु भन्नुभयो । गोवर्द्धन पूजाले कवि मञ्जुलले साहित्यबाट अरूलाई सम्मान गर्ने संस्कार सिकाउनु भयो । मलाइ कविता लेख्न र वाचन गर्न सिकाउनु भयो र मेरा कतिपय पुस्तकको नाम राखिदिने काम पनि मञ्जुल दाइले गर्नुभएको छ भन्नुभयो ।
अन्त्यमा कवि मञ्जुललाई धेरै नजिकबाट चिन्नुभएको साहित्यकार सुस्मिता नेपालले आफू कसरी लेखनतिर आकर्षित भए र अप्ठ्यारो अवस्थाबाट कवि मञ्जुललाई बाहिर ल्याउन के के गरेँ वहाँले यसरी भन्नुभयो — मैले कवि मञ्जुलको कविता बुझ्नकै लागि पद्मकन्या क्याम्पसमा साहित्य लिएर पढ्न थालेँ । वहाँलाई घरमा भेट्न आउने कविहरूले घन्टौँ वहाँसँग बसेर कविता सुन्ने सुनाउने गर्थे । पछिपछि उनीहरूका कविता सुन्दा सुन्दा मलाई पनि लेख्न आउँछ होला, मचाहिँ किन नलेख्ने जस्तो लाग्यो र लेख्न सुरु गरेकी हु । वहाँको जीवन छङ्छङ् बगिरहने नदीजस्तै थियो तर वहाँ बिरामी पर्नुभयो र त्यो बगिरहने नदी एकाएक पोखरीमा पुगेर रोकियो । बोलिरहने, हाँसिरहने मान्छेको एकाएक बोली बन्द भएपछि म केही विचलित भएको त थिएँ नै तर म वहाँको बोली फर्कन्छ भन्ने विश्वासमा थिएँ । वहाँलाई पहिलाको अवस्थामा ल्याउनकालागि रातदिन प्रयासरत भए । त्यो बोली फर्काउन मैले गरेका धेरै प्रयासहरूमध्ये यो बाल्यकालसँग खेल्दै वहाँको हस्तलिखित कवितासंग्रह एक हो । कवि मञ्जुल बिरामी हुँदा मैले वहाँका धेरै रचनाहरू पढेँ । वहाँले लेखेका सबै रचनाहरू अध्ययन गर्दा मेरो मुल्याङकनमा वहाँ एक जना जन्मजात कवि हो ।
कार्यक्रमको अन्त्यमा आफ्नो मन्तव्य राख्ने क्रममा स्रष्टा मञ्जुललाई तपाइको कुनै कविताले कसैलाई एकदमै राम्रो भएको केही प्रसङ्ग छन् कि भनेर श्रोताहरूले सोधेको प्रश्नको उत्तरमा वहाँले एक जना आत्महत्या गर्न भनेर हिँडेको मान्छे संयोगवश मकहाँ ठोकिन आइपुग्दा उ घर फर्केको एउटा रोचक प्रसङ्ग सुनाउनु भएको थियो । मन्तव्यकै क्रममा वहाँले अहिले परिवर्तन त आयो तर सोचेकोजस्तो परिवर्तन आएन, केही सङ्गतिसँगै विसंगतीपनि आयो भन्नुभयो । अन्त्यमा एउटा लेखकलाई उसकै अगाडि उसका विगतका पत्रपत्र देखाइदिने कार्यक्रम मलाइजस्तै अरुलाईपनि गर्नुहोला भन्दै वहाँले खुसी व्यक्त गर्नुभयो ।