साहित्य र समाज एक अर्काका पर्याय हुन् । यसको प्रमाण प्रयोगले पुष्टि गर्दछ । समाज रोए साहित्य रुन्छ, समाज हाँसे साहित्य हाँस्छ । यो भनाइ नै यसको उदाहरण हो । समाज र साहित्य एक अर्कामा अन्योन्याश्रित रहेका छन् भन्नुको दृष्टान्त पनि हो । । त्यसै भएर पनि हो, साहित्यकार समाजको अनौपचारिक विधायक मानिन्छ । यसमा नीति निर्माताहरूले गर्नुपर्ने कर्तव्य र दायित्वप्रति सचेत गराइएको हुन्छ । यसका साथै, साहित्यका विविध विधाका माध्यमले समाजका यथार्थ बिम्ब उतार्नु र त्यसलाई निर्देशन गर्नु साहित्यको प्रमुख उद्देश्य हुन्छ । पूर्वीय र पाश्चात्य साहित्यमा विविध किसिमले तत्कालीन समाज, देश काल र परिस्थितिजन्य अभिव्यक्ति प्रस्तुत भएका पाइन्छन् । नेपाली साहित्यमा पनि आदिकवि भानुभक्त, कविशिरोमणि लेखनाथ, महाकवि देवकोटा, युगकवि सिद्धिचरण, राष्ट्रकवि माधव घिमिरे, गोपाल प्रसाद रिमाल, भूपी शेरचन, मोहन कोइरालाहरूका कविताहरूले नेपाल र नेपालीको मनोभावना दर्शाउने बिम्बहरू बडो सटिक ढङ््गले गरिएको पाइन्छ । बालकृष्ण सम, विजय मल्ल, गोपाल प्रसाद रिमाल तथा गोविन्द गोठालेहरूका नाटकमा नेपाली जनजीवन सशक्त रूपमा उल्लेख भएका छन् । त्यस्तै गुरुप्रसाद मैनाली, विश्वेश्वरप्रसाद कोइराला, पुष्कर शमशेर, बालकृष्ण सम, भवानी भिक्षु, गोविन्द गोठाले, विजय मल्ल र रमेश विकलका कथाहरूमा नेपाली जनमानसका सजीव रूप उत्रिएका पाइन्छन् । साहित्यका चार विधामध्ये आख्यान पनि एक हो । आख्यान अन्तर्गत उपन्यास, लघु उपन्यास, कथा र लघुकथा पर्दछन् । मैनालीको ‘नासो’बाट सुरु भएको आधुनिक नेपाली कथाले विभिन्न रूप, ढङ्ग र ढाँचामा आफूलाई परिष्कृत रूपमा प्रस्तुत गरिरहेको छ । यस्ता परिष्कृतिहरूको प्रमाण रमेश विकलपछिका पारिजात ध्रुवचन्द्र गौतम उल्लेख्य रहेका छन् । उनीहरूका कथामा विसङ्गत स्वर र विभिन्न प्रयोगहरू पाइन्छन् । त्यसपछि थुप्रै कथाकारहरू नेपाली साहित्यमा आफ्नो उपस्थिति देखाइरहेका छन् ।
नेपाली साहित्यमा आख्यानको विशेष महत्व रहँदै आएको छ । यस्तै आख्यानको सानो विधा अर्थात् लघुकथाको पनि हिजोआज विकास र विस्तार ज्यादै उल्लेखनीय रूपमा अघि बढिरहेको छ । आधुनिक समय भनेको प्रविधिको तीव्र विकासले गति लिएको समय हो । सामाजिक सञ्जालको सहज पहुँच बढेको कारण पाठक छोटो र सजिलो साहित्यतिर आकर्षित भएका छन् । पाठकहरूले पनि लामा लामा उपन्यास कथाभन्दा हिजोआज लघुकथालाई प्राथमिकता दिन थालेका छन् । त्यसैले पनि समयानुकूल आख्यान क्षेत्रमा लघुकथाप्रति पाठकहरूको बढ्दो रुचिका कारण यसको महŒव र आवश्यकता बढेको हो । लघुकथाको शाब्दिक अर्थ छोटो वा सानो कथा भन्ने नै बुझिन्छ । शाब्दिक अर्थका दृष्टिले सानो कथा नै लघुकथा भनिए पनि वास्तविक रूपमा यसको अभिप्राय केही विशिष्ट प्रकृतिको रहेको छ । कथाका दीर्घतर, दीर्घ र लघुजस्ता भेदहरू हुने गर्दछन् । यहाँ लघुकथाको तात्पर्य ती कथागत भेदका रूपमा नभई स्वतन्त्र विधागत पहिचानसँग गाँसिएको हुन्छ । पूर्वीय संस्कृत साहित्यका आदिम ग्रन्थहरूदेखि नै लघुकथाका अनेक प्रयोगहरू हुँदै आएका पाइन्छन् । खास गरी वैदिक साहित्यका आख्यानमूलक सूक्तहरू, नीतिपरक एवम् औपदेशिक प्रकृतिका पौराणिक आख्यानचूर्णकहरू वा पञ्चतन्त्र, हितोपदेशलगायत अनेक ग्रन्थहरू लघुकथाकै सन्दर्भमा देखा पर्दछन् । विद्यमान समयमा लघुकथाको सिर्जना र सर्जकहरूको सङ्ख्यात्मक रूपमा मूल्याङ्कन गर्ने हो भने पनि यसको मात्रा अधिक नै देखिन्छ । कथानक, चरित्र, परिवेश र प्रस्तुतिका हिसाबले मूल्याङ्कन गर्ने हो भने पनि लघुकथाका कृति, कृतिकार र पाठकको सहभागिता उल्लेखनीय रूपमा वृद्धि भइरहेकै छ । यिनीहरूमध्ये कथाकार दिव्य गिरी पनि उल्लेख्य रहेका छन् ।
तीसको दशक एवं समसामयिक धाराका प्रतिभाशाली दिव्य गिरीले साहित्यका विविध विधामा कलम चलाएका छन् । नाटक बाहेक उनले सबै विधामा हात हालेको देखिन्छ । २०३६ सालको जनमत सङ्ग्रहताका भवानी घिमिरेको नेतृत्वमा भएको सडक कविता क्रान्तिमा सक्रिय सहभागी रहेका दिव्य गिरी पछिल्लो समयमा आख्यानतिर बढी आकर्षित भएको पाइन्छ । सुरुदेखि नै कविताका साथै कथामा पनि सक्रिय गिरी पछिल्लो समयमा आएर लघु साहित्यतिर बढी आकर्षित भएका छन् । उनले हाइकु, मुक्तक, गजल र लघुकथा साहित्यका लघुतम रूपहरूमा सिर्जना क्षमता प्रस्तुत गरेको पाइन्छ । उनका प्रकाशित कृतिहरूमा कङ्काल बस्ती मुक्तक सङ्ग्रह २०३८, सागर लहर किनार गजल सङ्ग्रह २०५४, धुनी तापेर हाइकु सङ्ग्रह २०६१, अनामिका कथासङ्ग्रह २०६१, स्वप्निल शिविर मुक्तक सङ्ग्रह २०६४, हराएका इलाकाहरू कविता सङ्ग्रह २०७३ र २०७३ सालमै प्रकाशित प्रस्तुत पुस्तक ‘भेडीगोठ र भेडो’ लघुकथा सङ्ग्रह रहेको छ । यसमा सरल भाषा शैलीमा व्यङ्ग्यात्मक प्रस्तुति, सत्य, यथार्थ र कल्पनाको संयोजन र प्रयोग पाइन्छ । यो नै उनको साहित्यिक विशेषता हो । यस्तै साहित्यिक विशेषताको कसीमा मुलुकमा घटेका यथार्थ घटना, समाजको यथार्थ वस्तुस्थिति र तत्कालीन नेपालमा घटेको सशस्त्र द्वन्द्वकालीन समयको सत्य घटना र सिर्जना भएका परिस्थितिहरूको बोधसहित यथार्थ चित्रणलाई समायोजन गरेर तयार पारेका लघुकथाहरूको सङ्ग्रहको रूपमा आएको एउटा महŒवपूर्ण कृति हो लघुकथा सङ्ग्रह ‘भेडीगोठ र भेडो’ ।
‘भेडीगोठ र भेडो’ भित्र थुप्रै लघुकथाहरू सङ्गृहीत छन् तर सबैको मुख्य विशेषता भनेको यसले बोकेको तत्कालीन र विद्यमान समाज र देशको यथार्थता नै हो । साना आकारका कथाहरू भए पनि यसभित्रका लघुकथाहरूको गहनता, कथानकीय संरचना, कथोपकथन, घटना र पात्र, रहस्य, रोमाञ्च, क्रन्दन, पीडा र सन्देशमूलक उद्देश्यलाई मूल्याङ्कन गर्दा लघुकथा भए पनि बृहत् र व्यापकता महसुस गर्न सकिन्छ । कथाहरूमा देखिने गम्भीरता र व्यङ्ग्यात्मक प्रस्तुतीकरणले कथाहरू ज्यादै प्रभावशाली देखिन्छन् । कल्पनातीत प्रयोगले पनि कथाहरूलाई सार्थक दृश्यमा रूपान्तरण गरेर यथार्थ बोध गराउन कथाहरू सफल रहेकाले कृति र कृतिभित्रका कथाहरू विशेष, उत्कृष्ट र महŒवपूर्ण सङ्ग्रहको रूपमा आएको छ । तत्कालीन नेपालको सरकार र माओवादी विद्रोहीबिच भएको दश वर्षे द्वन्द्व र त्यसले सिर्जना गरेको परिस्थिति, विस्थापन, हत्या, हिंसा, अराजकता, आतङ्क, नेपालको दक्षिणी सीमामा भारतीय सुरक्षा बलको ज्यादती, सीमा क्षेत्रका नागरिकहरूले भोग्नुपरेको पीडा, चेलीबेटी बेचबिखन, नागरिक पलायन, आफ्नै देशमा नागरिकहरूले न्याय नपाएको विषयवस्तु कथामा छन् । यस्तै नेपालमा भइरहेका राजनीतिक परिवर्तनले यथास्थितिलाई फेर्न नसकेको, राजीतिक नेतृत्व नसुध्रिएको, सत्ताको लडाइँ, भ्रष्टाचार, अनियमितता, प्रशासनमा ढिलासुस्ती, नातावाद कृपावाद र संविधानले परिकल्पना गरेको अधिकारबाट लक्षित समुदाय वञ्चित रहनुपरेको विकृति विसङ्गतिका विषय पनि कथामा उठान गरिएका छन् । मानवीय अवसरवादी चरित्र र प्रवृत्ति, कृषिमा विषादीको प्रयोग, मिलावट, सीमा असुरक्षा, नदी बाँधका समस्या, सहिदको सपना पुरा हुन नसकेको सन्दर्भ लगायतका कथानक कथामा उल्लेख छन् ।
मानवअधिकार शीर्षकको कथामा द्वन्द्व कालको घटनालाई उठाइएको छ । व्यक्ति हत्याको मुद्दामा अदालतमा वादी र प्रतिवादीबिच बहस हुन्छ । हत्या हुनु वा मर्नु यथार्थ हो तर तर्क आआफ्नै किसिमका छन् । न न्याय न आफन्त, परिवारले भोग्नुपरेको आफन्त गुमाउनुको पीडा ज्युँ का त्युँ नै बाँकी छ । यस्तै द्वन्द्वको पीडा बोकेको छ ‘खण्डहर’ शीर्षकको कथाले । गाउँ छोडेको धेरै वर्ष भइसकेकोले गाउँका घर खण्डहरमा परिणत भइसकेको विस्थापित जनताको कथा पोखिएको छ । शीर्षक ‘भेडीगोठ र भेडो’ राजनीतिप्रति साङ्केतिक रूपमा व्यङ्ग्य गरिएको कथा हो । सत्ता नपाउँदा दुब्लो पातलो सत्ताको सुख भोगेपछि मोटो घाटो, आफै मात्र बन्ने स्वार्थ केन्द्रित वस्तुस्थितिको चित्रण कथामा पाउन सकिन्छ । विशेष गरी तत्कालीन समयको संविधानसभा मार्फत संविधान बन्न नसक्ने असफल नेताहरूलाई ‘भेडो’ र संविधानसभा लाई ‘भेडीगोठ’ को सङ्केत दिएर भेडो नब्याएको जस्तै संविधान बन्न नसकेको देशको यथार्थ कथन कथामार्फत कथाकारले दर्साउन खोजेका छन् । यस्तै विषयको अलि फरक प्रसङ्ग ‘परम्परा शीर्षक’को कथामा पनि छ । देशमा भ्रष्टाचार, असुरक्षा, कुशासन व्याप्त छ र जिम्मेवार व्यक्तिहरू हेर्छन् र कुरा पनि गर्छन् तर समाधान कहिले पनि निस्कँदैन । कारण आफै संलग्न भएको समस्याको समाधान कसरी निस्कन सक्थ्यो ? भ्रष्टाचार एउटा परम्परा नै बनिसकेको दृष्टान्त कथाको मूल भाव रहेको छ । यस्तै कुर्सीको तानातान र सत्ता मोहको परिदृश्य ‘सत्ता मोह’ शीर्षकको कथाले पनि देखाउँछ । ‘सिमानाको पीडा’ शीर्षकको कथामा सीमा क्षेत्रमा भारतीय सुरक्षा बलको अत्याचारको विषय उठाइएको छ । यस्तै समाचारमा द्वन्द्व, जनधनको क्षति, विस्थापन मात्र सुन्न परेर समाचार नै हेर्न मन नपराएको दृष्टान्त शीर्षक ‘खण्डहर’मा भेटिन्छ । यस्तै पैसाको थैली दिएर सत्तामा समानुपातिक सांसद बनेर सत्तामा पुग्ने प्रवृत्तिलाई कथा ‘करोडी लाल’ शीर्षकले उजागर गरेको छ ।
कथासङ्ग्रहमा सामाजिक विषयवस्तुका कथाहरू पनि थुप्रै छन् । चेलीबेटी बेचबिखनको विषय उठाइएको कथा हो ‘मानव व्यापार’ । नेपाली चेलीहरू गोरखपुरबाट कसरी भारतमा लगेर बेचिन्छ भन्ने यथार्थ चित्रण कथाले गरेको छ । समाजमा चलेका केही विवाहलाई पेसा बनाउने विकृतिको घटनालाई पनि कथा बनाइएको छ । ‘आधुनिक पेसा’ शीर्षकको कथामा विवाह र सम्बन्ध विच्छेद पनि पेसा बन्न थालेको यथार्थता प्रस्तुत गरिएको छ । यस्तै अर्को यथार्थ हो अभाव । सबै नियतवश चोर र फटाहा बन्दैनन्, कहिलेकाहीँ अभाव र बाध्यताले पनि मानिसलाई खराब बनाउँछ भन्ने भाव ‘भोक’ शीर्षकले प्रस्तुत गरेको छ । असत्यको बोलवाला भइरहेको मुलुकमा अब सत्यको विकल्प कसरी खोज्ने भन्ने उपायको खोजी शीर्षक ‘कल्कि अवतार’मा गरिएको छ । अहिले चौतर्फी खराब प्रवृत्ति बढ्दो छ, सकारात्मक पक्ष कमजोर बन्दै गइरहेकोप्रति आशा र विकल्पको खोजीको सन्देश कृतिको अन्तिम कथाको भावले दर्साउन खोजेको छ ।
करिब ८४ वटा यस्तै प्रखर र उत्कृष्ट परिवेश र यथार्थताको भावना बोकेका कथाहरू पुस्तकमा सङ्गृहीत गरिएका छन् । मुख्य उद्देश्य, प्रस्तुति, शैली र कथाको परिवेशको संयोजन लघुकथाहरूमा जोडदार रूपमा गरिएको पाइन्छ । कथाहरूमा प्रयोग भएका भाषा शैली सरल, सहज स्वाभाविक, बोध गम्य पाठकमैत्री छ । कथामा व्यङ्ग्य चेतना उल्लेख्य रहेको पाइन्छ । सामाजिक परिवेशमा घटेका घटनाहरूको यथार्थ चित्रण मात्र नभएर विसङ्गति र वृकृतिप्रति व्यङ्ग्य गर्दै विरोध र सुधारको अपेक्षा समेत गरिएको कारण कथाहरू विशिष्ट लाग्छन् । कथानक, चरित्र चित्रण, परिवेश र उद्देश्यलाई दृष्टिगत गर्दा पनि कथाहरू पूर्ण सक्षम र सफल छन् भन्न सकिन्छ । कथाहरूको संयोजन र प्रस्तुतिलाई हेर्दा व्यङ्ग्यात्मक शैली नै प्रमुख बनाइएकोले ‘भेडीगोठ र भेडो’ पुस्तकको शीर्षक चयन सार्थक बनेको छ । साहित्य भन्न ुनै उत्कृष्ट शब्द संयोजनको अभिव्यक्ति हो । यस दृष्टिकोणबाट हेर्ने हो भने पनि कृति उत्कृष्ट रूपमा देखिन्छ र अझै परिष्कारको आवश्यकता भने देखिन्छ नै । कुनै कुनै कथाहरू अलिक लामो पनि भेटिन्छन् । लघुकथा जतिसक्दो छोटो, सङ्केतात्मक र बिम्बात्मक हुनुपर्दछ । यसका कतिपय कथामा यी कुराहरू कम भेटिन्छन् । तर कथामा सामयिकता, स्वैर काल्पनिकता र युगीन चेतना भने प्रबल रूपमा पाइन्छन् ।
यस कृतिका बारेमा भन्नुपर्दा प्रसिद्ध समालोचक प्राध्यापक मोहनराज शर्माको भनाइ उल्लेख गर्नु उपयुक्त हुन्छ । ‘उपर्युक्त स्वैरकल्पनाको प्रयोगबाट यो लघुकथा गम्भीर, व्यङ्ग्यपूर्ण, प्रभावशाली र सार्थक बनेको छ । स्वैरकल्पनाको प्रयोग अनिवार्य छ भन्ने होइन । आवश्यकता अनुसार यसको प्रयोग ऐच्छिक रूपमा गर्न सकिन्छ भन्ने हो । यस लघुकथामा स्वैरकल्पनाको प्रयोग किन आवश्यक देखिन्छ भने त्यसका अभावमा यो रचना कोरा र खल्लो वक्तव्य मात्र बन्ने थियो । स्वैरकल्पनाका कारण यसको अर्थवत्ता र मूल्यवत्ता बढी, रचना रोचक, पठनीय र प्रभावी बनेको छ । यो स्वैरकल्पना यथार्थको भाव भूमिमा अडिएको हुँदा महत्वपूर्ण भएको छ ।’ नेपाली साहित्यको महत्वपूर्ण स्थान ओगटिरहेको लघुकथाको क्षेत्रमा प्रस्तुत पुस्तक ‘भेडीगोठ र भेडो’ एक पठनीय कृति र उत्कृष्ट पुस्तकको रूपमा रहन सफल भएको छ भन्न सकिन्छ ।