कविता
सङ्लो राम्रो सकल जगमा मेट्न लागे सबैले
नौला नौला मधुर सपना रेट्न लागे सबैले
धर्ती सारा सलह, धमिरा खान्छ माटो सबै कि?
मान्छे मान्छे, कलुषित हुँदा भाग्छ बाटो सबै कि ?
सेवा, आस्था, विनय अथवा धर्म निष्ठा हराए
नास्ने, मास्ने अझ,अझ उँचो शब्द गर्दै कराए
मान्छे मार्ने, अधम गणले राज्य सत्ता चलाए
हत्या, हिंसा ,दिन दिन यहाँ जिन्दगानी डराए ।।
राम्रो गर्नै जन मन सँधै कर्म राम्रो गरेका
राम्रो भन्दा किन किन सँधै झन् नराम्रो बढेका
चोरी, ढाटी, छल,बल गरी मक्ख पर्दै हिँडेको
धर्ती सारा ,खलबल छ है शान्ति टाढा पुगेको ।।
मान्छे स्वार्थी अतिशय भयो स्वच्छ बाटो बिरायो
लोभी, पापी, दिन, दिन बढे कर्म राम्रो हरायो
मारामारी कलह ननिका साम्य चाँडै गराऊ
स्वार्थी, झेली सकल जनमा दण्ड चाँडै दिलाऊ ।।
दुर्गा माता, भन, भन तिमी सुन्न कस्तो सकेकी
कोरोनाको अतिक्रमण यो हेर्न कस्तो सकेकी
तिम्रै सारा करकमलका शक्ति देऊ सबैमा
देवी, दुर्गा, नमन छ सधैँ बुद्धि देऊ सबैमा ।।
मन्दाक्रान्ता छन्द