नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) निकट युवा संघ नेपालले कञ्चनपुरको महाकालीबाट महाकाली–मेची जनजागरण यात्रा शुरु गरेको छ । अनौपचारिक रुपमा भदाै १५ देखि काठमाडाैंबाट शुरु भएको जागरण यात्राको महाकालीबाट शुक्रवार औपचारिक रुपमा शुरुवात गरिएको हो ।
संघले नेपालमा व्यापक भष्ट्राचार रहेको, भष्ट्राचारको मुख्य कारण भड्किलो र खर्चिलो चुनाव रहेका कारण चुनाव निश्पक्ष, स्वतन्त्र ढंगले हुन नसक्दा समस्या बढेको भन्दै मेची–महाकाली जागरण यात्रा शुरु गरेको हो । महाकालीबाट अगाडि बढेको यात्रा झापाको मेची पुगेर भाद्र २३ गते समापन हुने कार्यक्रम रहेको छ।
यात्राको क्रममा प्रत्येक जिल्लालाई झण्डा हस्तान्तरण गर्दै अगाडि बढ्ने कार्यक्रम रहेको युवा संघ नेपालका अध्यक्ष नरेश शाहीले बताउनुभयो । राज्यको नीति परिवर्तन गर्न सफल भए पनि नियती परिवर्तन गर्न नसकिएको भन्दै उहाँले अहिेले देशमा देखापरेका समस्या समाधानको लागि युवा संघले काम गर्ने बताउनुभयो।
नेपालको राजनीतिमा हुने गरेका विभिन्न अभियान तथा आन्दोलनहरुलाई उत्कर्षमा पुर्याउन युवाहरुको महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छ भन्ने सन्देश दिन यो जागरण यात्रा महत्वपूर्ण रहेको एकीकृत समाजवादीका केन्द्रीय सदस्य प्रकाश रावलले बताउनुभयो ।
देशमा भ्रष्टाचार बढेको भन्दै आगामी मंसिरमा हुने निर्वाचनमा पैसाको आडमा गलत व्यक्ति सत्तामा पुग्न सक्ने खतरा रहेको भन्दै युवाहरुमार्फत् खबरदारिका लागि यो अभियान सञ्चालन गरिएको एकीकृत समाजवादीका उपमहासचिव विजय पौडेलले बताउनुभयो ।