बस्तीमा सन्नाटा छाएको छ
दन्यकथा सुनाउने
न ती बा- आमाहरू छन्
न ती कथाहरू सुन्ने
सानासाना नानीहरू छन् !
डढेलो दन्किरहेको छ
जीवन रित्तिरहेको छ
बचेखुचेका केही
अधमरा रूपहरू नियाल्दै
र, आफू पनि तिनैमा रूपान्तरित हुँदै
काँपेको हातले
म कसरी कलम समातूँ !
र, कुन कविता लेखूँ !
अनि कसलाई सुनाउन के लेखौँ !
आस्थाका मनहरू मूर्च्छित छन्
विषालु धुवाँमात्र छ – आँखामा
सिर्जनाकै खडेरी परेको मौसममा
मिल्किएको उपेक्षित कलम च्यापेर
कागजका मान्द्रामा
अक्षरका आँसुहरू बिस्कुन बनाएर
कति सुकाऊँ !
यस विषम परिस्थितिमा
मसँग आँसु पनि रित्तिसकेको छ
डढेलामाथि बसेर
म कुन कविता लेखौँ ?
लासमाथि भन्किरहेका
झिँगाहरू मात्र देखिन्छन् – जताततै
के झिँगाहरू
कविताका भाकाहरू बुझ्लान् ?
आगाको ज्वालालाई
कविताको कुन लहर मानौँ ?
बम- गोलालाई
मान्छेको कुन युगको भाषा ठानौँ ?
पराजित विजेताहरूले
कविताको कुन परिभाषा देलान् ?
जडताको यस जर्जरतामा
म जीवनको कस्तो कविता लेखौँ ?
कसलाई सुनाउन के लेखौँ ?
*****************
गोरखा, लप्सीबोट;
हाल: काठमाडौँ – ६,सरस्वतीनगर ।