अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:०० | Colorodo: 19:15

अमेरिकामा पूर्व मुख्यमन्त्री डा. पवन चाम्लिडःगको न्युयोर्कमा स्वागत तथा सम्मान

सुरेश चाम्लिङ / शेखर राई २०७९ भदौ ११ गते १०:२१ मा प्रकाशित

न्यूह्याम्सायर । युनाइटेड किरात राई अर्गनाइजेसन अफ अमेरिका (UKROA) ले सन् २०२२ को जुन महिनामा उभौलि साकेलाको पावन अवसर पारी विश्वका विभिन्न देशहरूमा सङ्गठित भएका किरात राईहरूको सामाजिक सांस्कृतिक सङ्घ-संस्थाहरूलाई गोलबद्ध गर्दै आयोजना गरेको भर्चुअल “शुभकामना आदान-प्रदान गरेको छ ।

कार्यक्रम का प्रमुख अतिथि भारतको सिक्किम राज्यका सम्माननीय पूर्व मुख्य मन्त्री तथा वरिष्ठ नेपाली साहित्यकार डा. पवन चाम्लिङ राईलाई एक विशेष कार्यक्रमको आयोजना गरी नेपाली-अमेरिकन किरात राईहरूको सांस्कृतिक/सामाजिक संस्था युनाईटेड किरात राई अर्गनाइजेसन अफ अमेरिका UKROA ले गत २० अगस्ट,२०२२ का दिन अमेरिकाको न्यु योर्क सहरमा एक विशेष कार्यक्रमको आयोजना गरी भब्यरूपमा सम्मान गरेको छ।

पच्चिस वर्ष सम्म सिक्किम राज्यको सत्तामा निरन्तर रही सिक्किमेकी जनताको जीवनमा आमूल परिवर्तन ल्याउन सफल हुनु भएका कुशल राजनीतिज्ञ श्री चाम्लिङ राई ज्युले उक्त सम्मान समारोहलाई सम्बोधन गर्नुहुँदै, सम्पूर्ण नेपाली जाती र भाषीहरूको उन्नति र प्रगति समग्र एकतामा नै रहेको र आपसी सरसहयोग अनि सद्भावबाट मात्रै एकअर्काको बिचमा स्वाभिमान पूर्वक बाच्ने वातावरणको सृजना गर्न सकिने विचार व्यक्त गर्नुभएको थियो।

आफू सिक्किमको मुख्य मन्त्री रहँदा सिक्किम राज्यमा विभिन्न भाषाहरूको स्कुलहरू, धार्मिक मठ-मन्दिरहरु, गुम्बा तथा गिर्जा घरहरू बनाएको स्मरण गर्नुहुँदै किरातीहरुको सामूहिक मांडःखिम पहिलो पटक सिक्किममा नै निर्माण गरिएको बताउनु भएको थियो।

उहाँले नयाँ कुरा गर्दा निकै बाधा अड्चनहरु आउने तर त्यसलाई निरन्तर रूपमा ईमान्दारीकासाथ कोसिश गरिरहदा सफल भइने तर्क गर्नुहुँदै, सिक्किमलाई अर्ग्यानिक राज्य बनाउने सङ्कल्प गर्दाका चुनौतीपूर्ण समयको सामना गरेको आफ्नो अनुभव समेत सुनाउनु भएको थियो।

अर्को एक प्रसङ्गमा ”किनी खाने भन्दा बेची खाने राम्रो, अझ आफै उत्पादन गरी अरूलाई समेत बचाउँदै बेची खानेहरू त झन् संसार कै असल मानिसहरू हुन् भन्दै”, हाल अमेरिकामा बसोबास गरिरहेका किरात तथा गैर किरात नेपालीहरूलाई अमेरिकामा साह्रै सस्तोमा प्राप्त हुने धेरै भूमिको फाइदा उठाउँदै कृषि उपार्जनमा समेत लाग्न सुझाउनु भएको थियो। अन्तमा विशेष रूपमा आफ्ना नानीहरूको शिक्षामा ध्यान पुर्‍याउन सुझाव दिनुहुँदै समुचित शिक्षाबाट मात्रै राज्यको मूल प्रवाहमा समाहित हुन सकिने महत्त्वपूर्ण विचार व्यक्त गर्नु भएको थियो।

UKROA का सल्लाहकार तथा केन्द्रीय पूर्व अध्यक्ष विष्णु राईले आजका दिनमा हरेक कुराहरू ‘’Globalize” भइरहेको वर्तमान परिप्रेक्षमा संसार भरिका विभिन्न देशहरूमा सङ्गठित हामी किरात राईहरूको सामाजिक, सांस्कृतिक सङ्घ, संस्थाहरूको प्रतिनिधित्व हुने गरी साझा विचार र कार्यक्रममा आधारित, साझा उद्देश्यमा केन्द्रित एउटा ग्लोबल किरात राई अर्गनाईजेशनको आवश्यक्ता महसुस गरिएको औलाउनु भयो।

उक्त ग्लोबल अर्गनाईजेशनले हामी किरात राईहरूको भाषा, परम्परा, घर्म संस्कार र इतिहासलाई संरक्षण र संवर्द्धन गर्ने सन्दर्भमा प्रभावकारी भूमिका खेल्न सक्ने आफ्नो विचार राख्नुहुँदै, यसको महत्त्वलाई प्रस्ट्याउनु भएको थियो। उक्त विशेष सम्मान समारोहमा न्यु योर्क स्थित विभिन्न सङ्घ/ संस्थाका प्रतिनिधिहरूले पनि पूर्व मुख्य मन्त्री चाम्लिङ राई ज्युको सफल कार्यकालको मुक्त कण्ठले प्रशंसा गर्दै बधाई मन्तव्यहरू राखेका थिए। बधाई मन्तव्य राख्ने प्रतिनिधिहरूमा नेपाल आदिवासी जनजाति महासङ्घ अमेरिका (FIPNA) का अध्यक्ष राज कुमार बिस्ट, नेपाल अमेरिका पत्रकार महासङ्घ (नेजा) का कार्यवाहक अध्यक्ष मच्छे गुरुङ, न्युयोर्कका मेयर एरिक एडम्स् का एसियन अफेयर्स एडभाइजरि काउन्सिल मेम्बर हामी नेपाल ग्लोबलक उपाध्यक्ष तथा कलेज पोइन्ट सिभिक एण्ड ट्याक्स् पेयर्स एसोसिएसनका अध्यक्ष नवराज के.सी. थिए।

NRNA NCC अमेरिकाका पूर्व अध्यक्ष, फिप्नाका पूर्व अध्यक्ष तथा UKROA का संस्थापक अध्यक्ष शिव कुमार राईले डा. चामलिंडःगलाई अभिनन्दन प्लेग हस्तान्तरण गर्नुहुँदै मातृभूमि भन्दा टाढा रहँदा आफ्नो भाषा, धर्म संस्कृति र रीतिरिवाजको ‘’Nostalgic’ प्रचुर हुने भएता पनि नयाँ ठाउँमा बाँच्नको निम्ति आधारभूत सङ्घर्ष मै धेरै समय खर्चनु पर्ने बाध्यता र नगन्य किरात राईहरूको सङ्ख्याका कारण सन् २००३ को अन्त्यसम्म किरात राईहरूको आधिकारिक सांस्कृतिक संस्था अमेरिकामा अस्तित्वमा नरहेको बताउनु हुँदै तत् पश्चात् साह्रो-गार्हो पर्दा सहयोग गर्न सकियोस्।

मरौ-परौमा आफ्नो धर्म संस्कार अनुरूप कर्म काण्ड गर्न सकियोस्।अनि मुख्य रूपमा हाम्रो भाषा,परम्परा, संस्कृति र इतिहासलाई संरक्षण र संवर्द्धन गर्दै भविष्यको पीढीमा पुस्तान्तरण गर्न सकियोस भन्ने पवित्र उद्देश्यका साथ सन् २००७ मा विभिन्न राज्यहरूमा लोकल्ली सङ्गठित किरात राई ”क्लस्टर” हरूलाई सङ्गठित गर्दै युनाईटेड किरात राई अर्गनाइजेसन अफ अमेरिका (UKROA) भन्ने संस्थाको स्थापना गरिएको इतिहासलाई सुनाउनु भएको थियो।साथै यस संस्थाको ५ च्याप्टर कमिटीले अमेरिकाको पूर्व देखी दक्षिण हुँदै पश्चिमी राज्यहरू सम्म नै आफ्नो सञ्जाल विस्तार गर्दै ६५ आजीवन सदस्यता सहित करिब ७०० सदस्यहरूलाई संस्थामा संग़ठित गरिसकेको तथ्य बताउनु भएको थियो।

उक्त विशेष सम्मान समारोहलाई अध्यक्षता गर्नु भएका युनाइटेड किरात राई अर्गनाइजेसन अफ अमेरिका (UKROA) का अध्यक्ष जय राईले समारोहको विसर्जन गर्नु हुँदै श्री डा. चाम्लिङ कुशल राजनेता मात्र नभएर वरिष्ठ नेपाली साहित्यकार र साँचो अर्थमा मुन्धुमी आदर्श र शिक्षालाई आफ्नो जीवनमा अनुसरण गर्ने पारुहाङ र सुम्निमाका एक असल सन्तान भनी मुक्त कण्ठले प्रशंसा गर्नु भएको थियो।

पूर्व मुख्य मन्त्री चाम्लिङलाई संस्थाको तर्फबाट सम्मान पत्र प्रदान गर्नुहुँदै अध्यक्ष राईले वहाँ सम्पूर्ण नेपालीको एक आदर्श अभिभावक हुनुभएकोमा गर्व समेत गर्नु भएको थियो। कार्यक्रमको दोस्रो सेसनमा पूर्व मुख्य मन्त्री चाम्लिङको सम्मानमा उहाँका धर्मपत्नी श्रीमती टीकामाया राई, छोरी-ज्वाइँ कोमल चाम्लिङ र अनिल राई सहित सपरिवारसँग श्याम्पेन टोस्ट गर्दै विशेष डिनर भोजको आयोजना गरिएको थियो।अर्गनाइजेसनका केन्द्रीय उपाध्यक्ष केशव राम राईको संयोजकत्वमा विशेष सुरक्षाको प्रबन्ध सहित दुवै सेसनको कार्यक्रम भव्य रूपमा व्यवस्थापन गरिएको थियो भने स्वगत तथा सम्मान समारोहको सञ्चालन कानुनी सल्लाहकार सुरेश चामलिंङ्ग राईले गर्नु भएको थियो।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू