सरकारले सन् २०२३ देखि २०३३ लाई नेपाल भ्रमण दशक घोषणा गरेकाे छ । आइतबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पर्यटन पुनरुत्थान कार्ययोजना सार्वजनिक गर्दै यस्तो घोषणा गरेकाे हो । पर्यटनमन्त्री जीवनराम श्रेष्ठले कार्यभार सम्हाल्ने क्रममा गर्नुभएको ‘रिकोभरी प्लान’ अनुसार मन्त्रालयले यस्तो कार्ययोजना सार्वजनिक गरेकाे मन्त्रालयले जनाएकाे छ ।
कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले मन्त्रालयले घोषणा गरेको ७३ बुँदे कार्ययोजनाले कोरोना महामारीले परेको असरलाई पुनरुत्थान गरी पर्यटन व्यवसायलाई प्रवर्द्धन गर्ने काम गर्ने दाबी गर्नुभयो । सरकारले नेपाललाई विश्वको एक पर्यटन आगमनको केन्द्र बनाउने बताउनुहँदै उहाँले वर्तमान सरकारले एक दशकलाई नै नेपाल भ्रमण वर्ष मनाउने घोषणा गरिने बताउनुभयो ।
मन्त्री श्रेष्ठले नेपाल भ्रमण दशक घोषणा मन्त्रालयको मात्रै नभएर सरकारको कार्ययोजना भएको बताउनुभयो । भ्रमण दशकबारे प्रधानमन्त्री शेरबहादुर देउवा पनि सकारात्मक रहेको बताउनुभयो, ‘सरकारले पर्यटन विकासमा लिएका लक्ष्य र चाहना पूरा गर्नसक्छौं । यो उद्देश्यले दशकको रुपमा नै पर्यटन वर्ष बनाएर जाने घोषणा गरेका छौं ।’
मन्त्री श्रेष्ठले भन्नुभयाे, ‘यो पर्यटन मन्त्रालयको मात्रै नभएर सरकारको कार्ययोजना हो । प्रधानमन्त्रीज्यूले पर्यटन क्षेत्रको विकास र प्रवर्द्धनको लागि के के गर्नुपर्ने हो । अगाडि बढाउनुस्, भन्नुभएको छ । सरकारको तर्फबाट के सहयोग गर्नुपर्छ गर्ने बताउनुभएको छ ।’