अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:५१ | Colorodo: 01:06

एक वर्षमा ३ खर्ब बढीको पेट्रोलियम पदार्थ आयात

बिआरटीनेपाल २०७९ साउन ७ गते ६:३७ मा प्रकाशित

पछिल्लो एक वर्षमा नेपालमा तीन खर्ब १० अर्ब रुपैयाँ बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ ।नेपाल आयल निगका अनुसार आर्थिक वर्ष २०७८/०७९ मा तीन खर्ब १० अर्ब १८ करोड १६ लाख ७६ हजार रुपैयाँ बराबरको ३१ लाख ८९ हजार ७१६ किलोलिटर पेट्रोलियम पदार्थ आयात भएको छ ।रुस–युक्रेनको युद्धका कारण अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य लगातार बढ्दै गएपछि दोब्बर मूल्यको आयात भएको हो ।

आर्थिक वर्ष २०७७/०७८ मा एक खर्ब ५८ अर्ब रुपैयाँ बराबरको २८ लाख ६६ हजार किलोलिटर आयात भएको थियो । स्थानीय बजारमा इन्धनको खपत सामान्य बढेर परिमाणमा समेत वृद्धि हुँदा अघिल्लो वर्षको तुलनामा ११ प्रतिशतले पेट्रोलियम पदार्थको आयात बढेको हो ।निगमका नायब कार्यकारी निर्देशक नागेन्द्र साहले अन्तर्राष्ट्रिय बजारमै मूल्य बढेकाले दोब्बर परिणामको इन्धन आयात भएको बताउनुभयो । गत वर्षदेखि नै अन्तर्राष्ट्रिय बजारमा पेट्रोलको मूल्य निरन्तर उकालो लागेको थियो । मूल्य बढेका कारणले गर्दा दोब्बर परिणामको इन्धन आयात भएको निगमको भनाइ छ ।

मूल्य वृद्धिसँगै स्थानीय बजारमा माग बढेकाले आयातमा समेत सामान्य वृद्धि भएको छ । निगमका अनुसार एक वर्षको अवधिमा सबैभन्दा धेरै १७ लाख ४० हजार ९८६ किलोलिटर डिजेल आयात भएको छ । यस्तै, पेट्रोल सात लाख ३७ हजार ३१२ किलोलिटर, हवाई इन्धन एक लाख ५७ हजार ५७२ किलोलिटर आयात भएको छ । मट्टितेल १७ हजार २८० र खाना पकाउने एलपी ग्यास पाँच लाख ३६ हजार ५६६ मेट्रिक टन आयात भएको निगमको तथ्यांक छ ।

निगमका अनुसार एक वर्षमा डिजेल दुई प्रतिशत, पेट्रोल २४ र ग्यास १३ प्रतिशतले खपत बढेको छ । बढ्दो सवारीसाधनको प्रयोगले गर्दा इन्धनको खपत बर्सेनि बढ्ने गर्छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू