अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:२८ | Colorodo: 00:43

कतारमा हुने विश्वकपमा छोटो अवधिका लागि शून्य लागतमा कामदार पठाउँदै नेपाल

बिआरटीनेपाल २०७९ साउन ६ गते ७:३९ मा प्रकाशित

कतारमा हुने विश्वकप फुटबलमा छोटो अवधिका लागि नेपाली श्रमिक लैजान  नेपाल सरकारले अनुमति दिएको छ । आउँदो नोभेम्बरदेखि कतारमा सुरु हुने विश्वकप फुटबलको समयमा कतारका विभिन्न कम्पनीले छोटो अवधिका लागि नेपाली श्रमिक लिन चाहेको र नेपाल सरकारले श्रम स्वीकृति प्रदान गरेर नै श्रमिक पठाउने निर्णय गरेको श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव तथा रोजगार व्यवस्थापन महाशाखाका राजिव पोख्रेलले जानकारी दिनुभयो ।

विश्वकप फुटबलको समयमा कतारले छोटो अवधिका लागि झण्डै १२ हजार श्रमिक लिन चाहेको र त्यसमा नेपाली श्रमिक पनि लैजानका लागि कतारका विभिन्न कम्पनीहरूले दूतावासमा चासो राखेपछि कतारमा रहेको नेपाली दूतावासले श्रम मन्त्रालयमा पत्र लेखेको थियो । जसअनुसार आज शुक्रबार श्रम मन्त्रालयले दुईतर्फी हवाई टिकटसहित भर्ना प्रक्रियामा लाग्ने सम्पूर्ण खर्चसमेत रोजगारदाताले नै बेहोर्ने गरी शून्य लागतमा छोटो अवधिका लागि श्रमिक लैजान अनुमति दिने निर्णय गरेको हो ।

यसरी जाने श्रमिकले श्रम स्वीकृति लिएर नै जान पाउने छन् । लागत खर्च सम्पूर्ण रोजगारदाताले नै बेहोर्ने छन् । श्रमिकले एक रुपैयाँ पनि पैसा तिर्न पर्दैन । विश्वकप फुटबल आउन केही महिना मात्र बाँकी रहेकाले श्रम मन्त्रालयले मागपत्र प्रमाणीकरणपछि श्रमिक पठाउने प्रक्रियालाई पनि छिटो र सरल रूपमा हुने गरी व्यवस्था गरेको जनाएको छ । वैदेशिक रोजगार विभागबाट इजाजत लिएका सबै म्यानपावर कम्पनीहरूले यो छोटो अवधिका लागि कामदार मागपत्र ल्याएर श्रमिक पठाउन पाउनेछन् । त्यसरी जाने श्रमिकले कतारमा काम गर्ने अवधि ६ महिनाभन्दा कम समयको हुनेछ । म्यानपावर कम्पनी बाहेक व्यक्तिगत रूपमा यसरी छोटो समयको रोजगारीको लागि जान खोज्नेहरूले भिसा ल्याएर श्रम स्वीकृति लिन आएमा पनि श्रम स्वीकृति प्रदान गर्ने मन्त्रालयले जनाएको छ ।

कानुन अनुसार श्रम स्वीकृतिको अवधि दुई वर्षको हुने व्यवस्था भए पनि कहीँ कतैबाट त्यो भन्दा कम अवधिको कामको अवसर र भिसा आएमा पनि श्रम स्वकृति प्रदान गर्ने पनि कानुनी व्यवस्था भएकाले यो छोटो अवधिका लागि श्रम स्वीकृति दिएरै कामदार पठाउन कानुनी अड्चन नभएको सहसचिव पोख्रेलले जानकारी दिनुभयो । तर नेपालबाट कति श्रमिक लैजाने र सेवा सुविधा कति पाउने भन्ने कुरा अहिले नै निश्चित भइसकेको छैन ।

अब मागपत्र प्रमाणीकरणका लागि आएपछि मात्रै त्यहाँ पाउने तलब र सेवा सुविधाको बारेमा जानकारी हुनेछ । तर सामान्य अवस्थामा जाने श्रमिकले भन्दा विश्वकपको समयमा छोटो अवधिका लागि जाने श्रमिकले राम्रो तलब र सेवा सुविधा पाउनेछन् । विश्वकप फुटबलकै समयमा छोटो अवधिका लागि श्रमिक पठाउँदा हुन सक्ने ठगी रोक्न मन्त्रालयले वैदेशिक रोजगार व्यवसायीहरूसँग छलफल गरेको छ । वैदेशिक रोजगार व्यवसायीहरूले छोटो अवधिका लागि विश्वकपको काममा श्रमिक पठाउँदा कुनै पनि शुल्क नलिने सहमति गरेको मन्त्रालयका सहसचिव पोख्रेलले जानकारी दिनुभयो ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू