न्वारान गरेर दिएको नाम मेरो बिचरामा त्यति महत्त्वपूर्ण हैन। महत्त्वपूर्ण कुरा के हो भने त्यो व्यक्ति, व्यक्ति विशेष या ठाउँ विशेषले के कस्तो भूमिका निर्वाह गर्छ, प्रकृतिको रक्षाको निम्ति, मानव हितको निम्ति अनि सम्पूर्ण जगतको निम्ति। यहाँ सम्पूर्ण मह्त्वकुरालाई लुकाएर या भनौ गर्नु पर्ने कुरालाई थाती राखेर धेरै मान्छे नामको पछि दौडिएको छ, सबैलाई अलमल्ल परेर। यहाँ कसैको के स्वार्थ छ त कसैको के, यहाँ आफू बाहेक, आफ्नो बाहेक, अरूको मर्म बुझ्ने फुर्सद छैन कसैलाई, सबैलाई यो डर छ कि नामभित्रै अडिएको संसारमा आफ्नो नाम नजोडिएको हुने हो कि । तर यहाँ नाम हैन काम चाहिएको छ, यहाँ नाम हैन समर्पण चाहिएको छ, यहाँ नाम हैन जीवन चाहिएको छ, यहाँ नाम हैन विकास चाहिएको छ, यहाँ नाम हैन सन्ततिको निमित्त अवसर चाहिएको छ खै कुरा बुझेको ? जे होस् आज नामको बारेमा चर्चा गरौँ ।’मुख्य अहिले चर्चामा आएको नामहरू; कोशी-बिराट, सगरमाथा, किरात लिम्बुवान, किरात यस्तै यस्तै । यिनीहरू मध्य एक नाम राख्दा के हुन्छ अनि के चाहिँ हुँदैन? के फरक पर्छ त ? यो नामकै आधारमा कसैको जीवन लमिन्छ या छोटिन्छ ? खै मलाई त्यस्तो लाग्दैन । तर यो नामको विषय आज कसै कसैको लागि सानको विषय भएको छ जुन हुनुहुँदैनथ्यो अनि हुनुहुन्न पनि । जे होस पक्ष विपक्ष हुनु यो प्रजातन्त्रको, गणतन्त्रको यो एक शोभा पनि हो यसलाई अन्यथा लिनु हुँदैन । तर हामीले भोट गरेर पठाएको मान्छेलाई नाम छान्न दिनेकी ? यसो भन्दा पनि आफ्नो मान्छेलाई भोट गरेनौ भन्छन् नाममा दाबी गर्नेहरू अनि भोट चाहिँ आफ्नो मान्छेलाई नगर्ने अहिले किन आफ्नो नाम चाहियो ? भोट गर्दा त आफ्नो मान्छे आफूले विश्वास गर्न सक्नेलाई गर्नु पर्ने हैन र ? गल्ती यहाँ आफ्नै छ अरूलाई किन दोष ?
कोशी-बिराट नाम राख्दा हिन्दूत्वकरण मोदिलाई खुसी भन्छन् कोही ,कोही भन्छन् हाम्रो प्राकृतिक पहिचान नै यही हो। सगरमाथा नाम राख्दा कोही भन्छन् मान्छेलाई पहिचान चाहिएको हो, सगरमाथाको पहिचान त बनिसकेको छ, कोही भन्छन् सगरमाथाको पहिचानमा मेरो पहिचान जोड्छु। जे होस यो दुई नाम राजनैतिक किसिमले पार्टीहरूले राख्न खोजेको हो, नामकै लागि प्रदेश भवनमा अहिले चुनाव भए यी दुई मध्य एक हुने सम्भावना देख्छु म उनीहरूकै सभासदहरु छन्। आयो लिम्बुवानको उनीहरूको माग उनीहरूको सोचैमा सही होला तर उनीहरू करिब पाँच वटा जिल्लामा मात्र बसोबास गर्छन् अनि त्यसमा पनि उनीहरूको जनसंख्या तै जिल्लाहरूमा पनि बिस प्रतिशत भन्दा थोरै देखिन्छ। बाँकी नौ वटा जिल्लामा त उनीहरूको बसोबास करिब करिब शून्य नै छ। तसर्थ लिम्बुवान प्रदेश असम्भव प्राय छ। उनीहरूको इतिहासदेखि बसोबास भएको पाँच वटा मात्र जिल्लाको प्रदेश भएको भए जनसंख्या कम भए पनि लिम्बुवान राख्न मिल्थ्यो तर अहिले चौध वटा जिल्लाहरूको प्रदेश हो एक प्रदेश। लिम्बुवान किरात बाँकी किरातिले माने सम्भव छ तर अरू किराँती मान्ने पक्षमा देखिन्न किन कि उनीहरू लिम्बुवान राख्दा किरात को साठो खबुवान ,थारुवान अन्य अन्य मिसाउन तम्सिन्छन । उनीहरूको तर्क छ लिम्बु पनि किरात नै हो जुन सही पनि हो किन कि उनीहरूले आफ्नो जातीय संस्थालाई किरात याख्थुम चुम्लुङ भन्छन् । अब किरात, यदि लिम्बुवान छोडेर लिम्बु जातिले किरात लाई समर्थन गरे किरात प्रदेश हुने सम्भावना धेरै छ किनकि चौध वटै जिल्लामा किरातको उल्लेख्य उपस्थिति छ अनि ऐतिहासिक पनि छ माझ किरातमा राईहरू, वल्लो किरातमा सुनुवारहरू र पल्लो किरातमा लिम्बुहरूले हजारौँ वर्ष शासन गरेको बसोबास गरेको सबैलाई सर्वविदितै छ। अनि केलाएर अध्ययन गर्ने हो भने धिमाल, थारु, राजवंशी, नेवार अनि थुप्रै अन्य जाती किराँती भित्रै पर्ने गरेको तथ्य भेटाइन्छ। किरातले एक जात मात्र नभएर अनेक जातलाई समाहित गर्दछ, अझ किरात जात नभै कुनै समयको एक सभ्यता हो भनेर पनि बुझ्ने गरिन्छ उसो हुँदा त किरात प्रदेश हुँदा कोही कसैलाई पनि अप्ठ्यारो नपर्ने हुन्छ।
अन्त्यमा, नाम जे रहे पनि, जे राखे पनि सबैले सबैको मान सम्मान सबै प्रति राखोस् । कसैले सानो मन नगरोस् किन कि नाम त आखिरमा नाम हो, नाम हैन हामीलाई जिउन को लागि, हाँस्न रमाउनको लागि, राम्रो सभ्य समाज अनि मित्र चाहिन्छ जुन सम्पूर्ण एक नम्बर प्रदेशको सबै व्यक्तिले पाउन । नाम हैन सबै व्यक्ति रोजगार सृजना गर्न तिर अघि बढुन्, सकेसम्म नाम राख्न जनप्रतिनिधिलाई स्वतन्त्र छोडेर विकासको विभिन्न परीयोजना बनाएर त्यसलाई अबिलम्ब लागु गर्न नेताहरूलाई दबाब दिई प्रदेशको विकासमा सबैको साथ रहिरहोस्। नाम जे भए पनि राम्रो काम गर्यो भने तपाईँ हाम्रो भावी सन्ततिले मरुभूमिमा अकालमा ज्यान गुमाउनु पर्दैन तर नाम तपाईँले भनेको भयो तर केही काम भएन भने कहिल्यै सुखको सास फेर्न पाउने छैनौ हामीले । तसर्थ नाम हैन कामको पछि दगुरौँ ।