जिल्लाको अति व्यस्त पर्यटकीय क्षेत्रमा रहेको तेन्जिङ हिलारी विमानस्थल (लुक्ला विमानस्थल)मा पाँच दिनदेखि सबै हवाई उडान सेवा ठप्प भएको छ ।पाँच दिनदेखि लगातार मौसममा आएको खराबीका कारण सबै उडान अवरुद्ध हुँदा पर्यटक तथा अन्य यात्रु अलपत्र परेका हुन् । मौसममा सुधार नभएपछि लगातार उडान हुन नसकेको हो ।
दैनिक जसो दर्जनौं उडान हुने खुम्बुक्षेत्रको एक मात्र विमानस्थल लुक्लामा सबै उडान अवरुद्ध भएपछि खुम्बु भ्रमण गरी लुक्लाबाट फर्कने तथा काठमाण्डौँबाट आउने दुवैतिरका यात्रु अलपत्र बनेका छन् ।लुक्लामा मौसममा सुधार आउला र काठमाडौं जान पाइएला भनेर विमान कुरेका यात्रुहरू तनावमा छन् । लुक्लामा बाक्लो कुहिरो र वर्षाका कारण उडान प्रभावित भएको नेपाल नागरिक उडड्यन कार्यालय लुक्लाका प्रमुख द्वारिका अछामी नेपालीले जानकारी दिनुभयो ।
दस दिनयता मौसम प्रतिकुलताका कारण उडान प्रभावित बन्दै आएकोमा पाँच दिनदेखि पूर्ण रूपमा हवाइजहाज र हेलिकप्टरले समेत कुनै उडान हुन नसकेको उहाँले बताउनुभयो । पर्यटकीय सिजनको अन्त्यसँगै हिमाल आरोहण गरी फर्कने यात्रु समस्यामा रहेको उहाँको भनाइ छ ।लुक्लामा तारा र समिट एयरले नियमित उडान भर्दै आएका छन् । तत्काल मौसममा सुधार हुने अवस्था नदेखिएपछि कतिपय यात्रुहरू पैदल नै सदरमुकाम सल्लेरी हुँदै सडक मार्गबाट गन्तव्यतर्फ लागेका छन् ।
लामो समय लाग्ने सल्लेरीसम्मको यात्रा समेत त्यति सहज नभएको यात्रुहरूको गुनासो छ । विमानस्थलमा भिजिविलिटी अत्यन्त न्यून रहेकाले हवाइजहाज तथा हेलिकप्टर उडान तथा अवतरण हुन नसकेको हो । विमानस्थल वरपरको भिजिबिलिटी ५० मिटर भन्दा कम रहेको छ । जसलाई उडान क्षेत्रमा नील मानिन्छ । उडानका लागि कम्तीमा पाँच किलोमिटर भिजिबिलिटी आवश्यक पर्छ ।