अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:३७
| Colorodo: 14:52
दोब्रिएका कलमका निबबाट
जबर्जस्ती कोरिने अक्षर जस्तै
मेरो देशको कविता लेख्ने मसी पनि
अचेल यस्तै कलममा भरिएको छ
र जबर्जस्ती लेखिँदै छ
छन्द नमिलेको कविता जस्तै
देशको स्वदेश गान
कहिले चर्को कहिले मधुरो
लय भङ्ग
बेसुर धुन भरिएको सङ्गीत जस्तै
आश्वासन लयहरूले
टट्टाएका छन् अचेल कानहरू
खोइ कहिले लेखिन्छन्
अनवरत सद्भावका कविताहरू
निब नभाँचिएका कलमले र
मेटिन्छन् सारा दुःखी मनका पीडाहरू
खोइ कहिले बज्छन्
सुमधुर सरगमका धुनहरू
र गाइन्छन् आर्तका घाउहरू
मल्हमका रागहरूले
अब त हे
कलम समाउने हातहरू
टाठाबाठाको चङ्गुलमा
निसास्सिएको कवितालाई
एउटा नयाँ आयाम बोकेर
एउटा नयाँ आकार बोकेर
स्वतन्त्रताको कविता लेख
निर्धक्क भएर
निडर भएर
अनि पो भित्रिनेछन्
नयाँ यामका बिहानीहरू
र
दैलोभरि झुल्किनेछन्
खुसीका कविताका आभाहरू