विआरटी नेपाल सम्बाददाता-अमेरिका
नेपाली समाज टेक्सस (एन. एस. टी.) को आयोजनामा नयाँ वर्ष २०७४ को अवसरमा शनिवार टेक्सासको युलेसको बियर क्रिक पार्कमा बिहान देखि नै बालबालिका तथा युवाका विभिन्न खेलकुद प्रतियोगिताहरू सहित अन्य कार्यक्रम सम्पन्न भएको छ ।
बिहान १० बजे देखि खेलकुद कार्यक्रम सुरु गरिए पनि अन्य गीत, नृत्य कार्यक्रम भने २ बजे पछि सुरु भएको थियो । कार्यक्रम साँझ ६ बजे सम्म चलेको थियो । आउने (जाने गरी झन्डै ४०० को सङ्ख्यामा उक्त कार्यक्रममा उपस्थिति रहेको अनुमान हाम्रा प्रतिनिधिले गरेका थिए ।
कार्यक्रममा भाषणले स्थान खासै स्थान पाएको थिएन । अमेरिकामा युथ लिडरशिप ट्रेनिंगमा सहभागी हुन् आएकी अनेरास्ववियुकी केन्द्रीय अध्यक्ष नविना लामा हाल टेक्ससमा रहेकी छन् उनले कार्यक्रममा शुभकामना मन्तव्य दिइन ।
भलिबल खेलमा १६ वटा टीमहरुले भाग लिएका थिए । युएस एंड नेपाल डट कम, एनएस टी, इन्द्रेणी, नर्थ ट्यारेण्ट भलिबल टिम, अर्भिंग टिम, जन सम्पर्क समितिको टिम, यति च्याम्बर्स अफ कमर्सको टिम, युलेसको टिम, एनआरएनको टिम त्यहाँ समाबिस्ट भएका थिए । खेल सौहाद्रपूर्ण रूपमा सम्पन्न भयो ।
कार्यक्रममा विभिन्न नेपाली खानेकुराहरु स्टल राखिएको हुँदा सहभागीहरुलाई खानपिन निकै सहज थियो । कार्यक्रममा नेपाली पहिरन लगाएर कार्यक्रममा उपस्थित हुनेलाई पनि पुरस्कार दिने कार्यक्रम रखिएको थियो तर आयोजकका तर्फबाट भने कोही पनि नेपाली पोशाकमा देखिएका थिएनन ।
बिहानबाट नै आयोजित भलिबल खेल प्रतियोगितामा स्थानीय १६ संस्थाहरूले भाग लिएका थिए जसमा नर्थ ट्यारेण्ट भलिबल क्लब प्रथम र दोस्रो स्थान इन्द्रेणी सांस्कृतिक सङ्घको टिमले जितेको थियो । कार्यक्रममा विजयी टिमलाई ट्रफी प्रदान गरिएको थियो । कार्यकमको अन्तमा कार्यक्रममा सहभागी भई कार्यक्रम सफल बनाउन, कार्यक्रमको शोभा बढाउनुहुने सबैलाई नेपाली समाज टेक्ससले धन्याबाद ज्ञापन गरेको छ ।