अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:३४ | Colorodo: 22:49

बानालाई विधायिकी बण्डमार्फत् दुई लाख ५० हजार अमेरिकी डलर सहयोग प्राप्त

बिआरटीनेपाल २०७८ चैत १० गते १७:३९ मा प्रकाशित

मेरिल्यान्ड राज्यको बाल्टिमोरमा बसोबास गरिरहेका नेपालीहरूको साझा संस्था बाल्टिमोर एशोसियन्स अफ नेपलिज इन अमेरिका (बाना)ले विधायिकी बण्डमार्फत् दुई लाख ५० हजार अमेरिकी डलर सहयोग पाएको छ । सहयोगमध्ये एक लाख २५ हजार बाना बिल बण्डका रूपमा राज्यका तर्फबाट र एक लाख २५ हजार म्याचिङ फन्डका रूपमा बाल्टिमोर काउन्टीका तर्फबाट प्राप्त भएको हो । यो कुराको जानकारी एक प्रेस बिग्यप्ती अनुसार मेरिल्यान्ड हाउस अफ एसेम्बेली, डिस्ट्रिक्ट ८ का डेलिगेट ह्यारी भण्डारीले दिएका हुन ।

आज बिहीबार मार्च २४ तारिख बाल्टिमोर काउन्टीले चालु खर्चबाटै म्याचिङ फन्ड बानाको खातामा जम्मा गरिदिएको छ । समुदायका लागि चालु खर्चबाटै म्याचिङ फन्ड उपलब्ध हुनु आफैँमा मानक उपलब्धि हो । यस्तो उपलब्धि नेपालीका लागि त पहिलो हो नै, अमेरिकाका अन्य समुदायका लागि पनि सम्भवतः पहिलो हुनुपर्छ । बाल्टिमोर काउन्टीले उपलब्ध गराएको म्याचिङ फन्ड उपलब्ध भएसँगै बाना बिल बण्डको रकम पनि बैङ्कमा जम्मा हुन्छ । म्याचिङ फन्डको चरित्र र प्रावधान नै यही हो ।

अमेरिकामा पहिलो पटक कुनै पनि नेपाली सामुदायिक संस्थाले राज्यका तर्फबाट लाखौँ डलर बजेट पाएको छ । मेरिल्यान्ड संसद्मा नेपाली समुदायको एक मात्र सदस्य भएकाले यो अभियानको प्रारम्भ गर्ने र यसलाई तार्किक निष्कर्षमा पुर्‍याउने आधिकारिक व्यक्तिका रूपमा यो सुखद खबर सार्वजनिक गर्न पाउँदा अत्यन्त खुसी भएको छु, भनेर डेलिगेट ह्यारी भण्डारीको विज्ञप्तिमा लेखिएको छ ।

बाना बण्ड बिल पारित भएर राज्यबाट एक लाख २५ हजार निकासा भएको २०२० मै हो तर हामीले त्यसका लागि म्याचिङ फन्ड खोज्नुपर्ने प्रावधान रहेकाले हामीले त्यो रकम समयमा उपभोग गर्न सकेनौं । तर, अब बाल्टिमोर काउन्टीले म्याचिङ फन्ड उपलब्ध गराइदिएकाले अब बानालाई दुई लाख ५० हजार रकम उपलब्ध भएको छ । यो रकम २०२७ सम्म खर्च गर्न सकिने छ। अमेरिका प्रक्रियामा चल्ने देश भएकाले यहाँ कुनै पनि काम निष्कर्षमा पुग्न प्रक्रिया पूरा हुनै पर्छ। कोरोना कहरका बेला हामीलाई पनि यो प्रक्रिया पूरा गर्न अलि समय लाग्यो, विज्ञप्तिमा लेखिएको छ् ।

यो रकम हेर्दा सानो देखिए पनि हाम्रो समुदायको आकार र आर्थिक अङ्कगणितका आधारमा यो सानो रकम हैन। बानाको सामुदायिक भवन दुई लाख ९८ हजारमा खरिद गर्दा पनि हाम्रो समुदायलाई हम्मे हम्मे परेको थियो र अहिले पनि संस्था ऋणमै रहेको ट्रस्टीहरूले भनिरहेको अवस्था छ। यो भवन बाल्टिमोरका नेपालीहरूको मनको आसन हो। यसको स्तरोन्नतिका लागि राज्य र काउन्टीले दुई लाख ५० हजार सहयोग प्रदान गरेको छ। दुई लाख ९८ हजारको संरचनाका लागि दुई लाख ५० हजार सहयोग यो आफैँमा एक मानक सहयोग हो ।

अन्तमा, मैले यसलाई मेरो पहिलो कार्यकालको एक मानक उपलब्धि मानेको छु । आज म जुन धरातलमा उभिएको छु, त्यो सबै नेपाली समुदायको असीम साथ, सहयोग र सद्भावका कारण प्राप्त भएको हो । मैले यो सत्यलाई कहिल्यै भुलेको छैन र भुल्ने पनि छैन । मलाई लाग्दछ, हामीले कुनै पनि सामुदायिक काम गर्ने मानिसलाई मनैदेखि सम्मान व्यक्त गर्ने संस्कार विकास गर्नुपर्छ । यदि हामीले त्यसो गरेनौ भने हाम्रा लागि भोलि काम गरिदिने कोही पनि हुँदैन । त्यसैले म यो अभियानमा सहभागी हुनुभएका बानाका पदाधिकारीहरू, ट्रस्टीहरूलगायत समुदायका तमाम आदरणीय आमा-बुबा, दाजु-भाइ तथा दिदी-बहिनीहरूमा हार्दिक कृतज्ञता प्रकट गर्दछु । यसै गरी यो बिल बण्ड पारित गराउने क्रममा सहयोग गर्ने मेरिल्यान्ड हाउस अफ एसेम्बेलीका मेरा सहकर्मीहरू, चालु खर्चबाटै म्याचिङ फन्ड उपलब्ध गराइ दिनुहुने बाल्टिमोर काउन्टीका कार्यकारी लगायतका सम्बन्धित सबै महानुभावहरूमा पनि आभार प्रकट गर्दछु ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू