अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:१५ | Colorodo: 07:30

नेपालले अब बिजुली व्यापार गर्ने बेला आयो- मन्त्री भुसाल

बिआरटीनेपाल २०७८ चैत ७ गते ८:१३ मा प्रकाशित

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसालले नेपाल बिजुलीमा आत्मनिर्भर हुँदै गएकाले अब बिजुलीको व्यापार गर्ने बेला आएको बताउनुभएको छ । आज सोमवार रुकुम पश्चिमको मुसिकोटमा निर्मित विद्युत् सबस्टेशनको औपचारिक उद्घाटन समारोहमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।

जलस्रोतले सम्पन्न रुकुममा भरपर्दो सेवाका लागि ३३÷११ केभी, ३ एमभीए क्षमताको सबस्टेशन सञ्चालन गरिएको भन्दै मन्त्री भुसालले बिजुलीको उपयोग गरेर साना र मझौला उद्योगले उत्पादन बढाउनुपर्ने उल्लेख गर्नुभयो । रुकुमका विभिन्न ठाउँमा किलोवाट क्षमताका विद्युत् गृह सञ्चालन गरिएकाले अब किलोवाटबाट मेगावाट बन्ने उहाँको भनाइ छ । कार्यक्रममा मन्त्री भुसालले रुकुम समाजवादको अभ्यासमा उदाहरणीय जिल्ला भएको समेत दाबी गर्नुभएको छ । उहाँले रुकुमको संस्थागत र पारदर्शी विकास प्रक्रिया अन्य जिल्लाले समेत अनुशरण गर्नलायक रहेको समेत बताउनुभयो ।

आर्थिक विकासको मूल आधार कृषि र वन क्षेत्र भएकाले यस क्षेत्रमा बिजुलीको उपयोगिता बढाउनुपर्नेमा मन्त्री भुसालले जोड दिनुभयो । सरकारले सिँचाइमा ५० प्रतिशत बिजुली महसुलमा छुट दिएकोले यहाँका खेतीयोग्य जमिनमा सिँचाइ सुविधा पुग्ने र उत्पादन बढ्ने उहाँले विश्वास व्यक्त गर्नुभयो । नेपाल सरकार र नेपाल विद्युत् प्राधिकरणको संयुक्त लगानीमा सञ्चालित मुसिकोट सबस्टेशनको ऊर्जा मन्त्री भुसाल र अर्थमन्त्री जनार्दन शर्माले संयुक्त रूपमा रिबन काटेर उद्घाटन गर्नुभएको हो ।

कार्यक्रममा अर्थमन्त्री शर्माले विद्युत् सेवा आर्थिक जीवनक्रान्तिको अपरिहार्य साधन भएकाले यसको उपयोग गर्नुपर्ने बताउनुभयो । अबको गुणात्मक विकास र प्रभावकारी सेवामा विद्युत् अपरिहार्य रहेको उहाँको भनाइ छ । देशले बेहोरिरहेको व्यापार घाटा सामना गर्न विद्युत् सेवा प्रमुख माध्यम हुने मन्त्री शर्माले उल्लेख गर्नुभयो । यसअघि सल्यानको शीतलपाटी सवस्टेशनबाट जिल्लामा ११ केभीको लाइन आइरहेको थियो, अब भने सबस्टेशनमा सल्यान हुँदै ३३ केभी क्षमताको प्रसारण लाइन आउने छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय