अर्थमन्त्री जनार्दन शर्माले नेपालको विशेषता र आवश्यकता सुहाउँदा सर्तहरू राखेर एडिबीले परियोजनामा लगानी गर्नुपर्ने धारणा राख्नुभएको छ । ऋण लिने भनेर हामीलाई अप्ठ्यारो पार्नु नुहने भन्दै उहाँले नेपालको विशेषता र आवश्यकताका आधारमा सर्तहरू राखेर परियोजना अघि बढाउन एडिबीलाई आग्रह गर्नुभयो ।एडिबीले नेपालमा कार्यान्वयन गरिरहेका विभिन्न परियोजनाको बार्षिक समिक्षा कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री शर्माले ठूला परियोजनाहरूमा अझै दातृ निकायको ऋण आवश्यक परेको र यसरी ऋण दिँदा विकसित देशमा प्रयोग हुने नबिन प्रविधिसमेत भित्र्याएर सहयोग गर्न पनि आग्रह गर्नुभयो ।
ऋण लगानीमा निर्माण हुने परियोजना कार्यान्वयनमा आएपछि सोही ऋण तिर्न सक्ने प्रतिफलयोग्य हुनुपर्ने अर्थमन्त्री शर्माको भनाइ छ । छलफलमा सहभागी विभिन्न मन्त्रालयका प्रतिनिधिहरुले समन्वयको अभाव भएको बताएका थिए ।मन्त्री शर्माले समन्वय हुन नसक्नु कर्मचारीकै कमजोरी भएको बताउनुभयो । उहाँले समन्वय गर्न कर्मचारीबीच तालमेल नहुँदा विकासमा अवरोध भएको समेत बताउनुभयो । नेपालमा एबिडीको हाल ४ खर्ब ९ अर्ब रूपैयाँ लगानीका परियोजना संचालनमा रहेको जनाइएको छ ।