अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:५६ | Colorodo: 10:11

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनको तयारीमा, वैशाख १ गते परीक्षण उडान हुँदै

बिआरटीनेपाल २०७८ फागुन २८ गते ६:३७ मा प्रकाशित

दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलका रुपमा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनको तयारीमा रहेकाे छ । देशको एक मात्रै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको ७२ वर्षपछि अब दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलका रुपमा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई सञ्चालन गर्न  लागिएको हो ।

राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको भैरहवा (रुपन्देही) मा निर्माण गरिएको गौतमबुद्ध विमानस्थलमा व्यावसायिक उडानको तयारीसँगै  अब दुई अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा हुनेछन् । आउँदाे जेठ २ गते (बुद्ध पूर्णिमा) देखि व्यावसायिक रुपमा सञ्चालनमा ल्याउने तयारीका साथ यान्त्रिक परीक्षण उडान (क्यालिब्रेशन फ्लाइट) सम्पन्न यो विमानस्थलमा आउँदो वैशाख १ गते परीक्षण उडान हुँदैछ ।

जेठ २ गतेदेखि व्यावसायिक उडान सञ्चालन गरिने नियामक नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले जनाएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलकै क्षमतामा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन हुनेछ । कुल ९२ लाख यात्रु क्षमताको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विकल्पको रुपमा पनि गौतमबुद्ध विमानस्थललाई हेरिएको छ । मौसम खराबी भएको अवस्थामा काठमाण्डौ विमानस्थलमा अवतरण गर्न नसकेका जहाज भैरहवा विमानस्थलमा सहजै अवतरण गर्नसक्ने गरी यान्त्रिक प्रणाली जडान गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय