वैकल्पिक राजनीतिमा आस्था राख्ने महिला नेतृहरूको समूहले नयाँ राजनीतिक महिला सङ्गठन घोषणा गरेका छन्।विवेकशील साझा पार्टीभित्र विमति राख्ने नेतृहरुले वैकल्पिक महिला सङ्गठन नामको नयाँ महिला सङ्गठन घोषणा गरेका हुन्।सङ्गठनको केन्द्रीय संयोजकमा विद्या श्रेष्ठ महर्जन चयन हुनुभएको छ । श्रेष्ठले यसअघि विभिन्न राष्ट्रिय अन्तराष्ट्रिय संघसँस्थाहरुको नेतृत्व गरिसक्नुभएको छ ।
२५ सदस्यीय रहने केन्द्रीय समितिमा पहिलो चरणमा १७ सदस्यको नाम घोषणा भएको छ। पहिलो चरणको केन्द्रीय समितिमा संयोजक विद्या श्रेष्ठ महर्जनसँगै इन्दिरा शर्मालाई सल्लाहकारको जिम्मेवारी दिइएको छ। चण्डिका तिमल्सिना र सोनिका लामालाई केन्द्रीय सदस्य र सल्लाहकारको जिम्मेवारी दिइएको छ। अन्य केन्द्रीय सदस्यहरूमा प्रतिभाञ्जली पोखरेल, प्रेक्षा पण्डित, आशा ठाकुर, समासिं महर्जन, आरती कुसवा, निर्जला तामाङ, रबिना थापा, प्रियंका मिश्र, मेनुका पौडेल, रीतु खड्का, विनिता चौलागाईं, रबिना दंगाल र नाबिता शर्मा रहनुभएको छ । बाँकी नामहरू र अन्य पदाधिकारीहरू दोस्रो चरणमा घोषणा हुने बताइएको छ ।
महिलाहरूसँग सम्बन्धित नीति, कार्यक्रम र समस्याको समाधानबारे बहस चलाउने तथा वैकल्पिक राजनीतिमा महिलाहरुको अर्थपूर्ण सहभागिता र अग्रणी नेतृत्व स्थापित गर्ने वैकल्पिक महिला संगठनको मूल उदेश्य हुने जनाइएको छ। महिलामैत्री समतामूलक समाज निर्माणमा योगदान गर्न संगठन क्रियाशील रहने जनाइएको छ। विवेकशील आन्दोलनले सुरु गरेको आशाको राजनीति जोगाइराख्न र अझ सशक्त ढङ्गले महिला तथा युवा केन्द्रित समावेशी र गतिशील वैकल्पिक राजनीतिलाई अघि बढाउन वैकल्पिक महिला सङ्गठनको घोषणा भएको संयोजक श्रेष्ठले बताउनुभयो ।