नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय सभा चुनावमा हार स्वीकार गरिसकेको बताउनुभएको छ । पार्टीको काठमाण्डौ महानगर कमिटीले आज शुक्रवार आयोजना गरेको एक कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले राष्ट्रिय सभाको चुनावमा ओलीले आफ्नो पार्टीको हार स्वीकार गरेको बताउनुभएको हो ।
एमाले अध्यक्ष ओलीले आज पार्टीको जिल्ला अधिवेशन उद्घाटनका क्रममा ‘राष्ट्रिय सभा चुनावका परिणाम आफ्नो पार्टीका लागि प्रतिकूल आउन सक्ने’ बताउनुभएको थियो । त्यही भनाइलाई उद्धृत गर्दै अध्यक्ष नेपालले ओलीले आफ्नो दम्भी स्वभाव विपरीत राष्ट्रिय सभाको चुनावमा आफ्नो पार्टीको पराजय निश्चित छ भनेर भाषणमै स्वीकार गरेको टिप्पणी गर्नुभयो ।
उहाँले ओलीले देशभर एकसाथ जिल्ला अधिवेशन उद्घाटन गरेर नयाँ नेतृत्व स्थापित हुन नदिएको आरोपसमेत लगाउनुभयो । जिल्ला–जिल्लामा गरेको भए नेताहरू जाने, सम्बोधन गर्ने अवसर हुने र त्यसले नेतृत्व स्थापित हुने अध्यक्ष नेपालको भनाइ थियो ।
तर त्यो पद्धति ओली समूहमा नरहेको उहाँले बताउनुभयो । अध्यक्ष नेपालले ओलीसँग आलोचनात्मक चेत भएका, सिद्धान्तनिष्ट कार्यकर्ता नभएको दाबी पनि गर्नुभयो । उहाँले ओलीसँग देवत्वकरण गर्ने मानिसहरू मात्रै रहेको र अन्य मानिसहरू विद्रोह गरेर आफ्नो पार्टीमा प्रवेश गरिरहेको दोहोर्याउनुभयो ।
अध्यक्ष नेपालले जनताको जीवन परिवर्तन गर्नका लागि आफ्नो पार्टी स्थापना गरेको बताउनुभयो । उहाँले जनताको जीवनमा परिवर्तन ल्याउने गरी आचरण र व्यवहार देखाउन पनि पार्टीका नेता÷कार्यकर्तालाई निर्देशन दिनुभयो ।
