पाल्पामा मलामी बोकेको बस दुर्घटना हुँदा कम्तीमा ७ जनाको मृत्यु भएको छ । मृतक ७ मध्ये ५ जनाको सनाखत भएको छ । प्रहरीका अनुसार पाल्पाको रिब्दीकोट गाउँपालिका–३, लघुवामा भएको दुर्घटनामा मृत्यु हुनेहरुमा बुटवल उपमहानगरपालिका–१७, का ३० वर्षीय पशुपति रसाइली, ४० वर्षीय खुमबहादुर राना, वडा नं ११, का ३२ वर्षीय विजय थापा क्षेत्री, अर्घाखाँची मालारानी–२, का २८ वर्षीय भोजेन्द्र विक, २५ वर्षीय शंकर विक रहेका छन् ।
मृतकमध्ये दुई जनाको आफन्त नआइसकेकाले पहिचान हुन बाँकी रहेको प्रहरी उपरीक्षक सन्तोषकुमार भट्टराईले जानकारी दिनुभयो ।रुपन्देहीको बुटवल देवीनगर डिङगरनगरदेखि शव दाहसंस्कारका लागि कालीगण्डकी नदी रुरुक्षेत्रको रिडीघाट हिँडेको बस आइतबार बिहान पाल्पा–रिडी सडक खण्डको ओरालोमा चिप्लिएर दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनाग्रस्त बसबाट तीन वटा शव बाहिर उछिट्टिएको थियो । ४ वटा शव भने बसले थिचेको अवस्थामा डोजरको सहायतामा निकालिएको छ ।
तीव्र गतिमा गुडेको लु १ ख ७२७९ नम्बरको बस ओरालो सडकमा आइतबार बिहान साढे १० बजे दुर्घटना भएको घाइते यात्रुले बताएका छन् । दुर्घटनाका १५ घाइतेमध्ये ९ जनाको लुम्बिनी मेडिकल कलेज प्रभासमा र ६ जनाको मिसन अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । अर्घाखाँचीको मालारानी गाउँपालिका–२, मरेङ कुभिण्डेका वीरबहादुर टमाटाको शव दाहसंस्कारका लागि रिडी लगिँदै थियो । दुर्घटनामा घाइतेका अनुसार बसमा करिब ३५ जना मलामी चढेका थिए । अन्य मलामीको अवस्था भने सामान्य छ ।
