अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:३५ | Colorodo: 01:50

संसद अवरोधको औचित्य छैन– भीम रावल

बिआरटीनेपाल २०७८ मंसिर १९ गते ६:५३ मा प्रकाशित

नेकपा एमालेका सांसदसमेत रहेका नेता भीम रावलले प्रतिनिधि सभा अवरोध गर्नुको औचित्य नरहेको बताउनुभएको छ । सरकारका सबै कामकारबाही अगाडि बढिरहेकोले संसद अवरूद्धको औचित्य नभएको उहाँको भनाइ छ।

सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले यही मंसिर २८ गते संघीय संसदको दुबै सदनको अधिवेशन आह्वान गर्नुभएको छ । प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शुक्रबार यही अवस्थामा संसद चल्न नसक्ने बताउनुभएको थियो । देश र जनताको पक्षमा बहस गर्ने ठाउँ संसद भएको रावलको भनाइ छ।

‘संसद देश र जनताको पक्षमा बहस गर्ने र आवाज उठाउने थलो हो,’ आज ट्वीट गर्दै उहाँले भन्नुभएको छ, ‘सरकारका सबै कामकारबाही हुन दिई संसद अवरूद्ध गरेको भन्नुको अ‍ौचित्य छैन।’ नेता रावलले सरकारले ल्याउने विधेयक र प्रस्ताव रोक्न सके मात्रै संसद अवरूद्धको औचित्य हुने पनि बताउनुभयो ।

‘कि सरकारले ल्याउने विधेयक र प्रस्ताव रोक्नसक्नु पर्योे नभए त्यसबारे जनताको आवाज उठाउन पाउनु पर्यो। अन्यथा म कुटे जस्तो गर्छु तँ रोए जस्तो गर भने झैं ठहर्छ,’ रावलले भन्नुभयो । तर अध्यक्ष ओलीले एमालेले कारबाही गरेका सांसदलाई संसदमा स्थान दिएसम्म संसदको अवरोध जारी नै रहने बताउँदै आउनुभएको छ ।

एमालेको चितवनमा सकिएको दसौं राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पदमा पराजित भएका रावलले त्यसपछि पहिलोपटक सार्वजनिक विषयमाथि टिप्पणी गर्नुभएको हो । प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकार बनेपछि नेकपा एमालेले गत साउनयता लगातार संसद अवरोध गर्दै आएको छ। एमाले अवरोधबीच सरकारले बजेट पनि पारित गरेको थियो।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय