कविता
कति ठुलो पद
ओहो कति माथि होला
जमिन नै छोडेछ
त्यति माथि पुग्नलाई
अति सुख सयल
अति नै मोजमस्ती
अब लड्ने डर छैन उसलाई
थेगिरहेछ एक अर्कालाई
गठबन्धन र भागबन्डाले
कुरा गर्छ त आकाशमा
आफू जस्तैसँग माथि माथि
रिस गर्छ झगडा गर्छ
ठुलै ठुलै पदसँग
कहिले कालो बादल
कहिले सेतो बादल
मडारिए जस्तो आकाशमा
गड्याङ गुडुङ गरेर
छिनमै फेरि मिल्छ
केही पाइने भएपछि
खोजे जस्तो भेटिने भएपछि
शिखर शिखरका चुचुरोमा
हुरीको झोक्का ठोक्किएझैँ
अट्टहास गर्छ एक आपसमा
दङ्ग परेर रमाउँदै
आफ्नो पदोन्नतिमा
आफ्नो अहमत्याइँमा
ठुलो पद
जमिनका गाउँ-बस्ती र सहर
छोडिरहेछ तल
धेरै तल
छोडिएका ती आसले
घाम हत्केलाले छेकेर
हेरिरहन्छ रमिता
माथि धेरै माथि
त्यो ठुलो पद
तैरिरहेको उडिरहेको
ऊ पर आकाशमा
पद बाँडफाँडकै खुसीयालीमा
घरी घरी आकाशवाणी गर्छ
आफ्नै डम्फु बजाएर
ठुलो पद
यस्तो लाग्छ अब
जमिनको सबै समस्या
छोडिसक्यो जमिनमै
त्यहाँ बाँच्न चाहनेलाई
रोजी रोटीको आवश्यकता
बिर्सिसक्यो भुसुक्कै
अब उपरान्त
आतुर छ
एकदम हतार छ
माथि माथि नै फैलिएर
आलो पालो फेरिरहन
ठुलो पद
अक्टोबर ३०, २०२१
लस एन्जलस