अर्थ मन्त्री जनार्दन शर्माले समाजवाद उन्मुख अर्थतन्त्रका लागि ‘प्रगतिशील कर प्रणाली’ लागू गर्नुपर्नेमा मन्त्री शर्माले जोड दिनुभएको छ । आज आइतवार राजस्व प्रशासनसम्बन्धी अधिकृतस्तरीय सेवाकालीन तालिमको उद्घाटन गर्नुहुँदै मन्त्री शर्माले यस्ता बताउनुभएको हो ।मन्त्री शर्माले व्यक्तिको कमाइका आधारमा कर सङ्कलन गर्नुपर्ने बताउनुभयो । कतिपय धनी र धेरै कमाउने व्यक्तिले थोरै कर तिरेको तर थोरै कमाउनेले धेरै कर तिर्ने गरेको गुनासो सुनिएको भन्दै मन्त्री शर्माले त्यसमा सुधार गर्नुपर्ने आवश्यकता औल्याउनुभयो । यस विषयमा प्रतिस्थापन विधेयकमार्फत व्यवस्था गर्न नसके पनि आउँदो बजेटमार्फत कर नीतिमा आमूल परिवर्तन गरिने उहाँले बताउनुभयो ।
देशमा विभिन्न आन्दोलनबाट परिवर्तन आए पनि व्यवहारतः कार्यान्वयन गर्न सङ्क्रमणकालीन अवस्थामा सबैले आ–आफ्नो ठाउँबाट प्रतिबद्ध भएर लाग्न मन्त्री शर्माले आग्रहसमेत गर्नुभयो । देश बनाउन राजनीतिकर्मी, कर्मचारी र नागरिकले आ–आफ्नो ठाउँबाट प्रतिबद्ध भएर प्राप्त उपलब्धिको संरक्षण र सरकारको नीतिलाई कार्यान्वयन गर्नुपर्ने उहाँले बताउनुभयो ।
कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री शर्माले समाजवाद उन्मुख अर्थतन्त्रबारे कर्मचारीले जान्नुपर्ने बताउनुभयो । कस्तो राजस्व नीतिले समाजवाद उन्मुख अर्थतन्त्र हुन्छ भन्ने कुरा कर्मचारीले जान्नैपर्ने उहाँले बताउनुभएको हो । संविधानले निर्दिष्ट गरेको समाजवाद उन्मुख अर्थतन्त्र कार्यान्वयनका लागि मन्त्री शर्माले जोड दिनुभएको हो । उहाँले नेपालको संविधान राजनीतिकर्मी, कर्मचारी, सर्वसाधारण सबै मिलेर ल्याएको परिवर्तन तथा उपलब्धि भएकाले त्यसको कार्यान्वयनका लागि कर्मचारी नै ‘फिल्ड’ मा रहेको स्मरण गराउनुभयो ।
मन्त्री शर्माले परम्परागत कार्यसम्पादन प्रणालीलाई प्रविधिमैत्री बनाउनुपर्नेमा जोड दिनुभयो । प्रविधिको प्रयोगले कम जनशक्ति लाग्ने र पारिश्रमिकसमेत बढाउन सकिने उहाँले बताउनुभयो । आजदेखि सुरु भएको तालिम आउँदो पुस ९ गतेसम्म चल्नेछ ।