अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:११ | Colorodo: 05:26

प्रतिनिधि सभाको बैठक कात्तिक २९ गतेसम्मका लागि स्थगित, एमालेको अबरोध जारी

बिआरटीनेपाल २०७८ कार्तिक ११ गते ७:४६ मा प्रकाशित

प्रतिनिधि सभाको बैठक १८ दिनका लागि स्थगित भएको छ । आज बसेको बैठकमा गजेन्द्र हमालले उद्योगमन्त्रीबाट दिनुभएको राजीनामाबारे राष्ट्रपतिको कार्यलयबाट प्राप्त पत्र सभामुखले वाचन गरेर सुनाउनुभएको थियो । प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट कानून न्याय तथा संसदीय मामिलामन्त्री दीलेन्द्रप्रसाद बडूले राष्ट्रिय दलित आयोगको वार्षिक प्रतिवेदन पेश गर्नुभयो ।

सभामुखले सांसदहरूको अनुपस्थितिको सूचना स्वीकृतिका लागि प्रस्तुत गर्नुभयो । सांसद झलनाथ खनाल, कर्मा घले र प्रदीप गिरी बिरामी भएर १३ वटा बैठकमा अनुपस्थित भएको सूचना सभामुखले प्रस्तुत गरेपछि सभाले स्वीकृत गरेको थियो । त्यसपछि सभामुख सापकोटाले अर्को बैठक कात्तिक २९ गते दिउँसो १ बजे बस्ने जानकारी दिनुभयो ।
आजको बैठकमा पनि प्रमुख प्रतिपक्षी नेकपा एमालेको नाराबाजी जारी रह्यो । सभामुख सापकोटाले ‘प्रतिनिधिसभाको कामकारबाही सुरु हुन्छ’ भन्ने बित्तिकै एमालेका सांसदहरूले नाराबाजी सुरु गरेका थिए । सभामुखले सदनको कामकारबाही अवरुद्ध हुँदा जनसरोकारका विषयमा छलफल हुन नपाएको भन्दै संसदमा जारी नराबाजी रोक्न एमालेका सांसदहरूलाई आग्रह गर्नुभयो ।

तर, एमालेले नाराबाजी कायमै राख्यो । २३ साउन २०७८ बाट सुरु भएको चालु अधिवेशनमा एमालेले निरन्तर नाराबाजी गर्दै आएको छ । एमालेले पार्टीले कारबाही गरेका १४ जना सांसद पदमुक्त भएको सूचना टाँस गरिनुपर्ने माग राखेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू