अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:३२ | Colorodo: 22:47

लन्डनको स्पिकर्स कर्नरमा ‘युरेसियाको स्पर्श’ सार्वजनिक

बिआरटीनेपाल २०७३ चैत ६ गते १४:०४ मा प्रकाशित

लन्डनको ‘स्पिकर्स कर्नर’मा साहित्यकार कृष्ण बजगाईंको नियात्रासङ्ग्रह ‘युरेसियाको स्पर्श’ सार्वजनिक गरियो । साझा प्रकाशनका अध्यक्ष तथा महाप्रबन्धक डोलिन्द्र शर्माले उक्त पुस्तक सार्वजनिक गरेका हुन् । अभिव्यक्ति स्वतन्त्रताका लागि कानुनद्वारा संरक्षित ऐतिहासिक स्थल स्पिकर्स कर्नरबाट पुस्तक सार्वजनिक गर्न पाउँदा आफूलाई खुसी लागेको कुरा शर्माले बताए ।

बेलायतका नेपालीहरूको साहित्यमा रुचि देखेर प्रशन्नता व्यक्त गर्दै आगामी दिनमा साझा प्रकाशनले बेलायती स्रष्टाहरुका कृति प्रकाशन गरिदैं जाने कुरा बताए । नेपाल बेलायतको दौत्य सम्बन्ध कायम भएको द्विशतवार्षिकीको अवसरमा नेपाली दूतावास लन्डनमा आयोजित पुस्तक प्रदर्शनीमा साझा प्रकाशनका दुइसय शीर्षकका तीनहजार थान पुस्तकको लिएर महाप्रबन्धक शर्मा बेलायत आएका हुन् । लन्डनमा जारी पुस्तक प्रदर्शनी फलदायी रहेको बताउँदै साझा प्रकाशन बचाउन बेलायतमा रहेका नेपाली स्रष्टाहरुबाट सहयोगको अपेक्षा राखेको कुरा बताए ।

लामो समयदेखि बेलायतमा रहेर कथा, लघुकथा, नियात्रा, कविता आदि विधामा कलम चलाउँदै आएका साहित्यकार बजगाईंको सातौँ कृति ‘युरेसियाको स्पर्श’ साझा प्रकाशनले बजारमा ल्याएको हो । चीन, जर्मनी, बेलायत, फ्रान्स, बेल्जियम तथा लक्जेम्बर्गका सत्रवटा यात्रानुभूति उक्त पुस्तकमा रहेका छन् ।

प्रतिक्रिया