अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:३४ | Colorodo: 14:49

पोखरामा ११ देशका राजदूत : प्राकृतिक सुन्दरताको खुलेर तारिफ, पोखरा घुम्न आह्वान गर्ने प्रतिवद्धता

बिआरटीनेपाल २०७८ असोज १२ गते ७:३४ मा प्रकाशित

कोरोना महामारीसँगै थलिएको पोखराको पर्यटन बजार एकाएक तातेको छ । गण्डकी प्रदेश सरकारले पर्यटन क्षेत्रलाई पुरानै लयमा फर्काउन एकैचोटी ११ देशका राजदूत पोखरा एयरपोर्टमा ओरालेपछि एकाएक पर्यटकीय सरगर्मी बढेको हो ।गण्डकी प्रदेश पर्यटकीय दृष्टिकोणले अरु प्रदेश भन्दा महत्पूर्ण मानिन्छ । पछिल्लो समयमा गण्डकी प्रदेश सरकारले पर्यटन क्षेत्रलाई उकास्ने प्रयास जारी राखेको छ । विश्व पर्यटन दिवसको दिन पोखरा पुगेका राजदूत र अन्य कुटनीतिक नियोगका प्रमुखले पोखरा घुम्नका लागि सुरक्षित छ भन्ने सन्देश दिएका छन् ।

पोखराको कास्कीकोट, सराङकोटदेखि पदयात्रा र प्राकृतिक सुन्दरताको समेत विशिष्ट अतिथिहरूले खुलेर प्रशंसा गरेका छन् । कास्कीको नाउँडाँडाबाट सुरु भएको पदयात्रा करिब ४ घण्टासम्म चलेको थियो । पोखरामा आयोजित मिनी सडक महोत्सवमासमेत सहभागी भएका उनीहरूले पर्यटन क्षेत्रमा पोखरा पोख्त रहेको प्रतिक्रिया दिए ।नेपालका लागि इजिप्टका राजदूत माइकलले पोखरामा पहिलो पटक भ्रमण गरेको बताउँदै यहाँको मनोरम दृश्यले आफूलाई मोहित तुल्याएको बताउनुभयो । नेपालका लागि जर्मनका राजदूत डाक्टर थोमस, बंगलादेशका राजदूत सलाउद्दिन नोमान चौधरीले यहाँको सुन्दरता अद्वितिय रहेको भन्दै भावी पुस्ताका लागि बचाइ राख्नुपर्ने सुझाव दिनुभयो ।

गण्डकी प्रदेश सरकारको पहलमा कतार, साउदी अरेबिया, युएई, दक्षिण कोरिया, थाइल्याण्ड, बंगालदेश, इजिप्ट, जर्मनी, मलेसियालगायत देशका राजदूत, कुटनीतिक नियोगका उच्च टोली पोखरा पुग्दा पर्यटकीय माहोल बनेको हो । एकै पटक राजदूतहरूलाई पोखरामा बोलाएर गण्डकी प्रदेश सरकारले पोखरा घुम्नका लागि सुरक्षित रहेको दिएपछि यहाँको माहोल बेग्लै देखिएको छ । आगामी दिनमा पोखरा आन्तरिक एवं बाह्य पर्यटन प्रवद्र्धन हुनेमा पर्यटन बोर्ड पोखराका प्रमुख काशीराज भण्डारी आशावादी देखिनुहुन्छ ।

पर्यटकीय माहोलकाबीच रेवान पोखराले आयोजना गरेको एकदिने मिनी सडक महोत्सवको समेत मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले उद्घाटन गर्नुभयो । यहाँको तामझाम हेर्दा अबका दिनमा पोखरा पर्यटकका लागि घुम्न सहज छ भन्ने सन्देश दिन खोजिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय