लघुकथा
देशमा कमिसन तन्त्र, माफियातन्त्र र भ्रष्टाचारको प्रभाव बढिरहेको थियो । राज्यसञ्चालकहरूले पनि यो कुरा स्विकार्न थालेका थिए । तर, उनीहरू पनि केही गर्न सक्तैनथे किनकि आश्रित त उनीहरू त्यसैमा थिए । विद्यालय निस्कन निस्कन लागेका तीन जना विद्यार्थी खुब मिल्थे । तिनीहरूसँगै पढ्ने मात्र होइन– प्रायजसो काम पनि सँगसँगै गर्दथे । जस्तो कि सिनेमा हेर्ने टिभी हेर्ने यावत् पनि उनीहरू सँगसँगै गर्दथे ।
तिनीहरू अखबार पढ्दथे, एफएम सुन्दथे । यसैले थाहा पाएका थिए विविध घटना । तिनीहरूले जानिसकेका थिए देशको अवस्था । खाजाको पैसाबाट पहिले त तिनीहरूले एउटा थोत्रो कम्प्युटर किन्न भ्याए । बिग्रेको चाइनिज एफएम रेडियो प्रत्येकसँग थियो नै– प्रत्येकको घरमा आफ्नो अनि भाइबहिनीका थोत्रिएका खेलौना पनि थिए । पढाइ सकिएपछिको फुर्सद अब खेल्न साइबर जान आदि÷इत्यादिमा खेर नफालेर कम्प्युटर र खेलौनामा भिड्न पुगे । उनीहरूले यो पनि सुनेका, हेरेका र पढेका थिए कि सरकारले प्रतिभाहरूको संरक्षण गर्छ । यसैको आधारमा तिनीहरूले सरकारसँग सहयोग मागे । धेरै दिनसम्म उनीहरूले आशाका बादल चहारे । आश्वासनका मरुभूमि चहारे । प्रत्येक घरका अभिभावकले छोरा बरालिएको भन्न थाले ।
अन्त्यमा केही नलागेपछि आफ्ना योजना र व्यथा आफ्नै स्कुलका विज्ञान सर र सहपाठीलाई बताए । सबैले सहयोग जुटाउन थाले । आखिर उनीहरू आफ्नो लक्ष्यमा पुगिछाडे । उनीहरूले एउटा रोबोट उभ्याइछाडे । विज्ञान शिक्षकको सल्लाह अनुसार रोबोट प्रदर्शनमा उनीहरू अरू/अरूका साथै कूटनैतिक नियोगका प्रतिनिधिलाई पनि बोलाए । रोबोटले काम गर्न थाल्यो । बीउदेखि बोटसम्म सबै पहिल्यायो । चारैतिर हलचल मच्चियो ।
तिनीहरूलाई के थाहा– पहिलेदेखि अथाह आँखा उनीहरूमाथि निगरानी गर्दै थिए । प्रदर्शनपछि हलचल जहाँ भयो– त्यहीदेखि चलखेल पनि सुरु भयो । देशी मान्छेहरू आएर तिनीहरूको कार्यशालामा आगो लगाए । त्यहाँबाट बचेर उम्केका उनीहरू अपहरणमा परे । तिनीहरू गुन्टाझैँ कसिए । कुनै शक्तिशाली मुलुकमा पु¥याइए । तिनीहरूका बारेमा पढेका र हेरेका केही प्रवासी नेपालीले उनीहरूलाई त्यही देखे । “झटारोको मट्याङ्ग्रो मन्दिरमा !” उनीहरूको कार्यक्षमता सीप र प्रतिभाको यथार्थ मूल्याङ्कन भयो । अपहरणकारीले उनीहरूलाई त्यस देशको महत्त्वपूर्ण सम्मान दिलाए ।
आफ्नो देशको सरकारले यता ङिच्च दाँत देखायो ।