शेयर बजारमा नयाँ कीर्तिमान नेपाली शेयर बजारमा आज फेरि नयाँ कीर्तिमान बनेको छ । नेप्से आज ३८ दशमलव २८ अङ्कले बढेर तीन हजार एक सय ९८ दशमलव ६० विन्दुमा पुगेको छ ।यो नेप्से सूचकले कायम गरेको अहिलेसम्मकै उच्च विन्दु हो । यसअघि साउन २८ गते नेप्से सूचक तीन हजार एक सय ७८ दशमलव ९१ विन्दुमा पुगेर कीर्तिमान बनाएको थियो ।
आज बैंकिङ समूहको शेयर १६ अङ्कभन्दा धेरै, विकास बैंक समूहको शेयर तीन सय ३० अङ्कभन्दा धेरै, फाइनान्सको शेयर एक सय ४८ भन्दा धेरै, जीवन बीमा समूहको शेयर एक सय ५१ भन्दा धेरै अङ्कले बढेको छ । समग्र बजार बढे पनि आज व्यापार समूहको शेयर १५ अङ्कभन्दा धेरैले घटेको छ ।
आज अरुण भ्याली विकास कम्पनी, अरुण काबेली पावर कम्पनी, शिभम् सिमेन्ट र जीवन विकास लघुवित्त कम्पनीको शेयर दश प्रतिशतले बढेको छ । आज एसबीएल डिबेन्चरको शेयर सबैभन्दा धेरै पाँच प्रतिशतभन्दा धेरैले घटेको छ ।
आज दुई सय २८ कम्पनीका तीन करोड ६५ लाख कित्ता शेयर २१ अर्ब ३१ करोड रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै नेशनल हाइड्रो पावर कम्पनीको ७८ करोड रुपैयाँको शेयर किनबेच भएको छ ।