परीक्षाफल प्रकाशित भयो । उसले मोबाइलमा डायल ग¥यो । सफलताको लहरमा उसको नम्बर नरहेको जानकारी प्राप्त गर्यो । उसको सामु अँध्यारो फैलियो । गाउँको विद्यालयको विद्यार्थी उसलाई त्यहाँ राम्रै विद्यार्थीका रूपमा हेरिएको थियो । यौटा विषयमा चाहिँ ऊ कमजोर रहेको कुरा उसलाई नै थाहा थियो । त्यसैले गाइडको टेको लिएर भए पनि फलामे ढोका प्रथम श्रेणीमा पार गर्न सफल भएको थियो तर यस खुड्किलोमा भने झरेको महसुस गरेरै क्याम्पसमा मार्कशिट लिन जान आँट गर्न सकेन ।
केही दिनमा क्याम्पसबाट फर्म भर्ने सूचना पायो । मार्कशिटकै लागि भए पनि ऊ क्याम्पसतर्फ डोरियो । तर क्याम्पसमा उसको मार्कशिट नै भेटिएन । क्याम्पस प्रमुखले फर्म भर्न भने । उसले त्यसलाई स्वीकार गर्न सकेन । परीक्षा नियन्त्रण कार्यालयमा पुग्यो । त्यहाँ पनि मार्कशिट भेटिएन ।
उहापोहको अवस्थामै उसले झल्याँस्स सम्झ्यो भिसीका दाजुलाई । उनैको शरण पर्यो । उनैले भाइलाई फोन गरिदिए । भाइचाहिँले परीक्षा नियन्त्रण कार्यालयमा फोन गरिदिए । ऊ फेरि परीक्षा नियन्त्रण कार्यालयमा पुग्यो । त्यहाँ उसको मार्कशिट मात्र भेटिएन– मेरिटको ब्याज सहित लिएर क्याम्पस हातामा छिर्यो ।