अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:४७ | Colorodo: 21:02

कोरोनाविरुद्धको खोप किन्न एडीबीसँग १९ अर्ब ५८ करोड रुपैयाँको ऋण सम्झौता

बिआरटीनेपाल २०७८ साउन २७ गते ७:३१ मा प्रकाशित

कोरोना भाइरसविरुद्धको खोप खरिदका लागि नेपाल सरकार र एसियाली विकास बैंक (एडीबी) बीच १९ अर्ब ५८ करोड रुपैयाँ बराबरको सहुलियतपूर्ण ऋण सम्झौता भएको छ । आज बुधवार अर्थ मन्त्रालयमा भएको कार्यक्रममा नेपाल सरकारका तर्फबाट अर्थ सचिव मधुकुमार मरासिनी र एसियाली विकास बैंकका देशीय निर्देशक आनो कुस्वाले सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको हो ।

यो सहुलियत ऋण सहायताले एक करोड ५९ लाख डोज कोभिडविरुद्धको खोप खरिद गरी नेपाल सरकारको राष्ट्रिय खोप योजनालाई सहयोग पुग्नेछ । यसबाट ६८ लाख जनसङ्ख्या लाभान्वित हुनेछन् ।

कार्यक्रममा अर्थ सचिव मरासिनीले नेपाललाई सुरक्षित र प्रभावकारी खोपको उपलब्धताको सुनिश्चितताका लागि एसियाली विकास बैंकको यो सहायता महत्त्वपूर्ण हुने उल्लेख गर्दै खोप अभियानले नागरिक जीवनको सुरक्षा गरी अर्थतन्त्रको पुनरुत्थानमा मद्दत पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो । खोप कार्यक्रम सरकारको उच्च प्राथमिकताको विषय भएको जानकारी गराउँदै उहाँले यसमा एसियाली विकास बैंकको ऋण सहायताले महत्त्वपूर्ण भूमिका खेल्ने बताउनुभयो ।

एडीबीका देशीय निर्देशक कुस्वाले यो सम्झौता कोभिड १९ को चक्र तोडेर नागरिक जीवनको रक्षा गरी आर्थिक एवम् सामाजिक पुनरुत्थानतर्फ अघि बढ्न सहयोगीसिद्ध हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले कोभिड १९ सङ्क्रमणबाट सार्वजनिक स्वास्थ्य र राष्ट्रिय अर्थतन्त्रमा परेको असर व्यवस्थापन गर्न नेपाल सरकारलाई बैंकले पुर्‍याइरहेको सहयोगलाई आउँदा दिनमा समेत निरन्तरता दिने आश्वासन दिनुभयो ।

याेसँगै एसियाली विकास बैंकबाट परिचालित प्राविधिक सहायताले खोप वितरणलााई प्रभावकारी बनाउने र सञ्चार तथा सामुदायिक सहभागितालाई बढावा दिँदै कोभिड १९ विरुद्ध जनचेतना फैलाउन सहयोग पुग्ने विश्वास सरकारले लिएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय