पोखरा प्राकृतिक सुन्दरतासँगै साहसिक पर्यटनको सहरका रुपमा पनि परिचित छ । पोखराको प्याराग्लाइडिङले साहसिक पर्यटनका क्षेत्रमा धेरै पर्यटकको मन जितेको छ । यहाँ आउने आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पछिल्लो पटक प्याराग्लाइडिङ पनि पर्ने गरेको छ ।पोखराको पर्यटनलाई चलायमान बनाउन प्याराग्लाइडिङको भूमिका महत्वपूर्ण रहँदै आएको छ ।
यसैबीच पोखराको क्षेत्रीय विमानस्थलको निर्माण कार्य अन्तिम चरणमा पुगिरहँदा प्याराग्लाइडिङ व्यवसायीहरुमा भने व्यवसायको भविष्यलाई लिएर चिन्तित बनेका छन् । त्यसो त सन् २०१७ मा पोखरामा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण कार्य प्रारम्भ भएदेखि नै पोखराको सराङकोटबाट प्याराग्लाइडिङ उडान निरन्तरता हुन सक्छ कि सक्दैन भन्ने विषयले चर्चा पाएको थियो ।
अहिले विमानस्थलको काम करिब ८२ प्रतिशत सम्पन्न भइसकेको छ । निकट भविष्यमै सञ्चालनमा आउन लागेको विमानस्थलका कारण वर्षौंदेखि सञ्चालन भइरहेको प्याराग्लाइडिङ विस्थापित गर्नुपर्ने अवस्था आउने त होइन भन्ने चिन्ता यतिबेला व्यवसायीमा देखिएको छ ।यसैबीच हवाई खेलकुद संस्थाको टोलीले केही दिनअघि विमानस्थलको अवलोकन गरेर व्यवस्थापनसमक्ष प्याराग्लाइडिङ व्यवसायीका संस्थागत धारणाहरु राखेको छ । संस्थाका अध्यक्ष कृष्ण भण्डारीले पोखराको साहसी खेलका रुपमा ब्रान्डिङ भएको प्याराग्लाइडिङलाई उच्चतम प्रविधि र व्यवस्थापनमा जोड दिएर सोही स्थानबाट निरन्तरता पाउनेमा आफू विश्वस्त रहेको बताउनुभयो ।
उच्च प्रविधिको प्रयोगसँगै व्यवस्थापन गर्न सक्यो भने उडान असम्भव नभएको उहाँले बताउनुभयो । विमानस्थल निर्माण कार्य अन्तिम चरणमा पुग्दै गर्दा अब हुने ‘अपरेशन प्रोस्युडियर डिजाइन’मा प्याराग्लाइडिङलाई पनि सोही स्थानमा सञ्चालन गर्न सक्ने गरी योजना बनाउनुपर्ने उहाँले बताउनुभयो । संस्थाका महासचिव बलराम आचार्यले पोखरामा प्याराग्लाइडिङ उडान प्राविधिक हिसाबले समस्या देखिएको हो भने अन्तर्राष्ट्रिय अभ्यासहरु हेरेर सोही मोडेलअनुरुप निरन्तरता दिन सकिने बताउनुभयो ।
उनले २०७६ साल भदौ १६ गते नागरिक उड्डयन मन्त्रालयको निर्णयअनुसार पाराग्लाइडिङ सञ्चालन तथा व्यवस्थापनसम्बन्धी अध्ययन गर्न नेपाल नागरिक उड्डयन प्राधिकरणका उपनिर्देशक सुभाष झाको संयोजकत्वमा आठ सदस्यीय कार्यदल गठन भएको र त्यसले क्षेत्रीय विमानस्थल सञ्चालनमा आएपश्चात् आउने अवस्थाका बारेमा जानकारी गराएको बताउनुभयो ।
कार्यदलले प्याराग्लाइडिङबारे बुझाएको प्रतिवेदनमा दुई विकल्प उल्लेख छ । पहिलो विकल्पमा साबिकको क्षेत्रबाट सेवा सञ्चालन गर्नका लागि केही सर्त अघि सारेको छ जसमा आधुनिक प्रविधिको प्रयोग गर्दै वा अन्य कुनै व्यवस्थापकीय माध्यम अपनाई यस्तै प्रकृतिका अन्तर्राष्ट्रिय विमानस्थल आसपासमा प्याराग्लाइडिङ अपरेशन गरिरहेका स्विट्जरल्यान्ड, इटाली, फ्रान्स लगायतका देशले अवलम्बन गरेका नमूनास्वरुप गर्न सुझाएको छ ।
प्याराग्लाइडिङ अपरेशनका लागि दुई घण्टा समय तोक्ने, ‘प्याराग्लाइडिङ जोन’को अधिकतम उचाइलाई कडाइका साथ पालन गरेर एटीसी टावरमा अत्याधुनिक प्रविधिबाट निगरानीे गर्ने र कन्ट्रोल गर्न सकिने प्रतिवेदनको सुझाव दिएको छ ।त्यसैगरी दोस्रो विकल्पका रुपमा कार्यदलले साबिक क्षेत्रभन्दा अन्य क्षेत्रबाट सञ्चालन गर्न सक्ने उल्लेख गरेको छ । हाल सञ्चालनमा आइरहेको सराङकोट, तोरीपानी, मान्द्रेढुङ्गा क्षेत्रबाहेकका क्षेत्रहरुबाट प्याराग्लाइडिङ सञ्चालन गराउनु पर्दा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको एयरस्पेसभन्दा बाहिर पर्ने तर पोखरा उपत्यका आपासका क्षेत्रहरु पञ्चासे, माछापुच्छ्रे गाउँपालिका लगायतका क्षेत्रहरुबाट सञ्चालन गराउनसक्ने जनाएको छ ।
विमानस्थल आयोजना प्रमुख बिनेश मुनकर्मीले अन्तर्राष्ट्रिय उडान र अवतरणमा सराङकोट क्षेत्र प्रयोग नहुने भए पनि अवतरण हुन नसकेका अवस्थामा सिधै जहाज सराङ्गकोटतर्फ उड्ने भएकाले सो ठाउँ सुरक्षाका हिसाबले त्यति उपयुक्त हुन नसक्ने धारणा राख्नुभयो । अर्कातर्फ आन्तरिक उडानको रुट नै त्यही क्षेत्र पर्ने भएकाले प्याराग्लाइडिङ सञ्चालनमा बाधा पुग्न सक्ने उहाँको भनाइ थियो ।यद्यपि, उहाँले आफू यस विषयको विज्ञ नभएकाले अहिले नै हुन्छ या हुन्न भन्नुभन्दा पनि प्राविधिक विज्ञहरुको अध्ययनपश्चात् मात्र आधिकारिक धारणाबाहिर आउँदा राम्रो हुने बताउनुभयो ।
पोखरा र आसपास क्षेत्रमा सर्वप्रथम सन् १९९७ देखि अल्ट्रालाइट विमानबाट तथा सन् २००१ देखि यन्त्ररहित प्याराग्लाइडरबाट सेवा सञ्चालन भएको थियो । त्यसयता ७९ वटा कम्पनी सञ्चालनमा आएका छन् ।प्याराग्लाइडिङ कम्पनी ७०, प्याराग्लाइडिङ फ्लाइङ स्कुल तीन, अल्ट्रालाइट कम्पनी चार र हटएयर बेलुन कम्पनी एकवटा सञ्चालनमा छन् । संस्थाका उपाध्यक्ष अनिल केसीका अनुसार हाल प्याराग्लाइडिङका ६० वटा कम्पनी सञ्चालनमा रहेका छन् । जसमा करिब एक अर्बको लगानी रहेको छ । यस क्षेत्रमा पोखरामा मात्रै तीन सय ४२ जना नेपाली प्यारापाइलटले व्यावसायिक उडान भरिरहेका छन् । विदेशी प्यारापाइलट करिब १५ जना रहेका छन् । प्याराग्लाइडिङ क्षेत्रमा एक हजारभन्दा बढीले प्रत्यक्ष रोजगारी पाएको केसीको भनाइ छ ।
सन् २०१७ को नोभेम्बरदेखि राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल सन् २०२१ को जुलाई १० मा निर्माण सक्नुपर्ने सम्झौता थियो । चिनियाँ ठेकेदार कम्पनी सीएएमसीईले तोकिएको समय सीमाभन्दा छ महिनाअघि निर्माण सम्पन्न गरेर हस्तान्तरण गर्ने बताउँदै आए पनि कोरोनाका कारण विमानस्थलको एक वर्ष थप गरेर १० जुलाई २०२२ सम्म धकेलिएको छ ।