अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:५३ | Colorodo: 00:08

तनहुँ बन्दीपुरको ‘मिनी ग्रेटवाल’मा पर्यटकको आकर्षण

बिआरटीनेपाल २०७७ चैत १६ गते ८:३३ मा प्रकाशित

चीनको ग्रेटवालको झल्को दिने गरी तनहुँको बन्दीपुरमा ‘मिनी ग्रेटवाल’ निर्माण भइरहेको छ। गण्डकी प्रदेशको पोखरापछिको पर्यटकीय गन्तव्यका रुपमा विकास भइरहेको बन्दीपुरमा नयाँ पूर्वाधार थप गर्ने योजना बमोजिम गाउँपालिकाले मिनी ग्रेटवाल निर्माण गर्न लागेको हो। गत वर्षदेखि निर्माण सुरु भएको मिनी ग्रेटवाल निर्माण नसकिँदै पर्यटकको रोजाइमा पर्न थालेको छ। निर्माणाधीन अवस्थामा रहेको मिनी ग्रेटवाल अवलोकनका लागि पर्यटक पुग्ने गरेका छन्।

रोटरी क्लबले गण्डकी प्रदेशका १४ देखि १८ वर्षसम्मका युवालाई सोमबार मिनी ग्रेटवालको भ्रमण गराएको छ। क्लबको आयोजनामा तीन दिनदेखि बन्दीपुरमा युवा नेतृत्व विकास तालीम सञ्चालन भइरहेको छ। तालीममा भाग लिन आएका युवालाई बन्दीपुरको पर्यटनका बारेमा जानकारी गराउन सो ठाउँको भ्रमण गराइएको रोटरी क्लब अफ दमौलीका पूर्वअध्यक्ष एवं पर्यटनविज्ञ हरिसिं गुरुङले जानकारी दिनुभयो ।

गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापा मिनी ग्रेटवाल पर्यटकको रोजाइमा पर्ने गरेको बताउनुहुन्छ । बन्दीपुर घुम्न आएका सबैजसोले यस ठाउँका बारेमा चासो लिने गरेका छन्। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट बजेट विनियोजन भएपछि कामलाई अगाडि बढाउन सहज हुने उहाको भनाई छ । थापाका अनुसार गत वर्ष एक हजार एक सय मिटर पदमार्ग निर्माण सम्पन्न भएको छ भने चालु आर्थिक वर्षमा पनि ३५ मिटर पदमार्ग निर्माण सम्पन्न भइसकेको छ। गत वर्ष ७० लाख रुपैयाँ खर्च भएकामा चालु आर्थिक वर्षमा ३० लाख रुपैयाँको काम भइरहेको छ।

कुल साढे दुई किलोमिटर दूरी रहने मिनी ग्रेटवालसँगै यहाँ थप पूर्वाधार निर्माण गर्ने योजना छ। गुरुयोजना अनुसारका पूर्वाधार निर्माणका लागि १९ करोड रुपैयाँको लागत अनुमान गरिएको अध्यक्ष थापाले जानकारी दिनुभयो । यहाँ थानीमाई मन्दिर, उद्यान, सेल्फी उद्यान, प्याराग्लाइडिङ गर्ने ठाउँ, ९ मिटर अग्लो बन्दीपुर लेखिएको स्तम्भ, घोडा शयर, पुष्पलाल स्मृति पार्क, मुकुन्देश्वरी पार्कलगायत संरचना निर्माण गर्ने योजना छ।

विश्वकै प्रसिद्ध ग्रेटवालको झल्को दिने गरी निर्माण गरिएको पदमार्ग पर्खालले यहाँको पर्यटन विकासमा टेवा पुग्ने विश्वास गरिएको छ। बन्दीपुर गाउँपालिका–२ स्थित थानीमाई मन्दिरबाट निर्माण सुरु गरिएको पदमार्ग पर्खाल मुकुन्देश्वरी डाँडामा पुगेर टुङ्गिने छ। मुकुन्देश्वरी डाँडा तत्कालीन राजा मुकुन्द सेनले शासन गरेको ठाउँ हो। यस पदमार्ग पर्खाललाई पनि ‘मुकुन्देश्वरी पर्खाल’ को नामकरण गरिएको छ।

पदमार्ग पर्खाल तीन मिटर फराकिलो रहनेछ। बन्दीपुरमा वार्षिक एक लाखभन्दा बढी पर्यटक भ्रमणका लागि पुग्ने गरेका छन्। पदमार्ग पर्खाल निर्माण सम्पन्न भएसँगै पर्यटकको सङ्ख्या अझै बढ्ने अनुमान छ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय