युवा तथा साना व्यवसायी स्वरोजगार कोषले १२ हजार बेरोजगार युवालाई स्वरोजगार बनाउने भएको छ ।कोषले चालु आर्थिक वर्षमा ती युवालाई लक्षित गरेर पाँच नयाँ कार्यक्रम मार्फत स्वरोजगार बनाउन शुरुआत गरेको हो । आर्थिक अभावका कारणले स्वरोजगार बन्न नसकेका युवालाई कोषले दुई लाख रुपैयाँ सहुलियत दरमा ऋण उपलब्ध गराउने गर्दछ ।
कोषले सहकार्यमा आधारित साझेदारी कार्यक्रम, कोशी इकोनोमिक करिडोर कार्यक्रम, भेरी–कर्णाली इकोनोमिक करिडोर कार्यक्रम, काठमाण्डौ उपत्यका स्वरोजगार कार्यक्रम र तराई–मधेश स्वरोजगार जस्ता नयाँ पाँच कार्यक्रम सञ्चालन गरेर १२ हजार युवालाई स्वरोजगार बनाउन थालिएको कोषका कार्यकारी उपाध्यक्ष डा कल्याण रोकाले जानकारी दिनुभयो ।
उहाँले अहिले ती कार्यक्रमको सञ्चालनका लागि अनुगमनको कार्य भइरहेकाले चाँडै नै युवालाई कर्जा प्रवाह गरेर स्वरोजगारमुखी कार्यक्रम सञ्चालन गरिने बताउनुभयो । ती युवालाई आफूले जानेको सीप, क्षमता र ज्ञानका आधारमा व्यवसाय सञ्चालन गर्नका लागि कोषले ३ दशमलव २ प्रतिशत ब्याजमा दुई लाख रुपैयाँ उपलब्ध गराउने छ ।
साझेदारी कार्यक्रम
कोषले स्थानीय तहसँग सहकार्य गरेर युवालाई स्वरोजगार बनाउने छ । स्थानीय तहबाट ३ दशमलव ५ प्रतिशत ब्याजमा ऋण लिए कोषले तिनै स्थानीय तहमा बेरोजगार युवालाई स्वरोजगार बनाउन दुई लाख रुपैयाँका दरले ३ दशमलव २ प्रतिशत ब्याजमा ऋण उपलब्ध गराउने भएको छ ।
कोषले स्थानीय तहमा रहेका बैंक, वित्तीय संस्था र सहकारीमार्फत ती युवालाई रु दुई लाखका दरले ऋण उपलब्ध गराउने छ । अहिले कोषले सहकार्यका लागि स्थानीय तहलाई प्रस्ताव आह्वान गरेको छ । साझेदारी कार्यक्रमका कार्यक्रम संयोजक नरबहादुर साउँदले १२ स्थानीय तहले साझेदारी गर्नका लागि प्रस्ताव पेश गरेको जानकारी दिनुभयो । यस वर्ष स्थानीय तहका पाँच हजार युवालाई स्वरोजगार बनाइने लक्ष्य दिइएको छ ।
कोशी इकोनोमिक करिडोर कार्यक्रम
यस्तै कोषले कोशी नदी र त्यस नदीका सहायक नदीसँग जोडिएका १७ जिल्लाका युवालाई लक्षित गरेर कोशी इकोनोमिक करिडोर कार्यक्रम पनि सञ्चालनका तयारीमा गरेको छ ।
सिन्धुपाञ्चोक, काभ्रे, सिन्धुली, रामेछाप, दोलखा, ओखलढुङ्गा, सोलुखुम्बु, खोटाङ, उदयपुर, सप्तरी, भोजपुर, सङ्खुवासभा, धनकुटा, तेह्रथुम, पाँचथर, ताप्लेजुङ र सुनसरी जिल्लाका करीब दुई हजार ५ सय युवालाई लक्षित गरी कार्यक्रम सञ्चालन गर्न थालिएको कोषका कार्यकारी उपाध्यक्ष डा रोकाले जानकारी दिनुभयो ।
सप्तकोशाी नदी तथा उक्त नदीमा सहायक नदीका किनारको आसपासमा नदीले छोएका ती जिल्लाका युवालाई माछापालन, लोकल हाँस–कुखुरापालन, बङ्गुरपालन, बाख्रापालन, होमस्टे, ¥याफटिङ व्यवसाय, आलुखेती, केराखेती, बगरखेती, गोलभेंडा, अदुवाखेती, काउली बन्दा, बेसार र पशुपालन व्यवसाय सञ्चालनका लागि कर्जा उपलब्ध गराइने छ ।अहिले युवालाई कर्जा उपलब्ध गराउनका लागि वित्तीय संस्थाको अनुगमन भइरहेको कोषका कार्यकारी निर्देशक नारायणदत्त देवकोटाले जानकारी दिनुभयो ।
भेरी–कर्णाली इकोनोमिक करिडोर कार्यक्रम
कोषले भेरी र कर्णाली नदी किनारमा रहेका १७ जिल्लाका युवालाई पनि व्यावसायिक प्रयोजनका लागि कर्जा उपलब्ध गराउने भएको छ । हुम्ला, जुम्ला, मुगु, अछाम, डोल्पा, कालिकोट, दैलेख, सुर्खेत, जाजरकोटा, अछाम, डोटी, बझाङ, बाजुरा, सल्यान, रुकुम (पश्चिम र पूर्व दुवै), कैलाली र बर्दियाका दुई हजार युवालाई तरकारी खेती, पशुपालन, पंक्षीपालन, फापर÷काउनो खेती, माछापालन, राताचामल, फलफूलखेती, होमस्टे÷होटल, र्याफटिङ र स्थानीय व्यवसाय सञ्चालनका लागि कर्जा प्रवाह गरी स्वरोजगार बनाउने कार्यक्रम शुरु गरेको छ ।
काठमाण्डौ उपत्यका स्वरोजगार कार्यक्रम
कोषले काठमाण्डौ उपत्यकामा बेरोजगार युवालाई लक्षित गरी ठेलामा खानेकुरा बेच्नका लागि कर्जा उपलब्ध गराउने भएको छ । काठमाण्डौ, ललितपुर र भक्तपुरका बेरोजगार युवालाई चोक, पार्क, सपिङ मल अगाडि खानेकुरा, तरकारी, फलफूल र दुग्धजन्य खाद्यपदार्थ बेच्नका लागि दुई लाखका दरले कर्जा उपलब्ध गराउने तयारी गरेको छ ।
कोषका कार्यकारी निर्देशक देवकोटाले युवालाई कर्जा प्रवाह गर्नका लागि अनुगमनका कार्य भइरहेको र चाँडै नै कार्यक्रम सञ्चालन गरिने जानकारी दिनुभयो ।
तराई–मधेश स्वरोजगार कार्यक्रम
कोषले यस कार्यक्रम मार्फत तराईका २१ जिल्लाका युवालाई बायोफ्लक प्रविधिबाट भकारीमा प्रविधियुक्त माछा पालनमा लगानी गरी स्वरोजगार सिर्जन गर्नेछ । कञ्चनपुर, कैलाली, बाँके, बर्दिया, दाङ, कपिलवस्तु, नवलपरासी, रुपन्देही, चितवन, बाचरा, पर्सा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सिराहा, सप्तरी, सुनसरी, मोरङ, झापा र उदयपुरका युवालाई माछापालनसँगै अटोरिक्सा, ठेलागाडामा व्यवसाय, फलफूल, तरकारी, चट्पटे, फास्टफुड पसल, भैंसीपालन सञ्चालनका लागि कर्जा प्रवाह गर्नेछ ।
कोषले तयारी पारेको ढाँचाअनुसार ऋणका लागि प्रस्ताव पेश गर्नुपर्नेछ । सो प्रस्ताव कोषले स्वीकृत गरेपछि कोषसँग सहकार्य गरेका वित्तीय सङ्घसंस्था, सहकारीमार्फत आधारमा युवाले ऋण पाउने छन् । एक जनाले दुई लाखका दरमा वार्षिक ३ दशमलव २ प्रतिशत ब्याजमा ऋण पाउने छ । यसरी पाएको ऋणबाट उनीहरुले आफ्नो सीप, क्षमताअनुसार कुनै व्यवसाय सञ्चालन गर्ने छन् ।
देशमै पूँजीको व्यवस्था गरी देशको उत्पादनशील र सीपयुक्त युवा जनशक्तिलाई पूँजी र कामको अभावमा विदेश पलायन हुने प्रवृत्तिलाई निरुत्साहित गर्न २०६५ सालमा कोषको स्थापना गरिएको हो । कोषले अहिलेसम्म ७८ हजार युवालाई स्वरोजगार बनाइसकेको छ ।
कोषले देशमा उपलब्ध जनशक्तिलाई आर्थिकरुपमा सक्षम बनाइ स्वरोजगार कार्यक्रममा उनीहरुको सहज, पहुँच र स्रोत परिचालन गर्नसक्ने अवस्था सिर्जना गरी अपनत्व र स्वामित्वको अनुभूति गराउन कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ ।