अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:४२ | Colorodo: 23:57

‘पर्यटकीय सम्पदाको संरक्षणमा सरकार गम्भिर भएन’

बिआरटीनेपाल २०७७ चैत १२ गते ९:११ मा प्रकाशित

पर्यटकीय तथा पुरातात्विक महत्वको सम्पदाहरुको संरक्षण र सम्बद्र्धनमा सरकार गम्भिर नभएको सांसदहरुले बताएका छन् ।प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बिहीबारको बैठकमा बोल्दै सांसदहरुले पुरातात्विक, पर्यटकीय तथा सांस्कृतिक क्षेत्रको संरक्षण र सम्बद्र्धनमा सरकार गम्भिर नभएको बताएका हुन् ।

उनीहरुले पर्यटन क्षेत्रमा गरिएको लगानीले रोजगारी कति बढाएको छ र पूँजिको परिचालन कति भएको छ भन्ने बारे खोज्नुपर्नेमा जोड दिएका छन् ।समितिकी सभापति पवित्रा निरौला खरेलले पर्यटकीय क्षेत्रको विकासको सम्बन्धमा सरकारलाई निर्देशन नै दिनुपर्ने आवश्यकता रहेको बताउनुभयो ।

सांसद मोहन बानियाले पर्यटकीय क्षेत्रलाई सुचिकृत गर्नुपर्ने आवश्यकता औल्याउनुभयो ।सांसद रेनुका गुरुङले आन्तरिक पर्यटनलाई महत्व दिएर सातै प्रदेशमा आ–आफ्नो संस्कृति, परम्परा र संस्कार झल्कने गरी भौतिक पूर्वाधारहरु निर्माण गर्नुपर्ने बताउनुभयो ।

सांसद उमा रेग्मीले पर्यटन उद्योगलाई परिचालन र परिमार्जन गर्न सरकारको ध्यान नजानुले देशले घाटा बेहोर्नुपरेको बताउनुभयो । यस्तै सांसद सुजिता शाक्यले पशुपतिनाथ मन्दिर, स्वयम्भु र चागुनारायण मन्दिर परिसरमा भुक्षय तथा चोरी हुने गरेको भन्दै भुक्षय रोक्न तथा चोरी सिकारी रोक्न प्राथमिकता दिनुपर्ने बताउनुभयो ।

सांसद दीपक प्रकाश भट्टले पर्यटकीय क्षेत्रको संरक्षणमा केन्द्र, प्रदेश र स्थानीय तहबीच समन्वय हुन नसकेको बताउनुभयो । पर्यटनको क्षेत्रमा केन्द्रीय नीति नै नरहेको पनि बताउनुभयो । सांसद पुष्पा भुसालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बस्ने ट्याक्सी चालकहरुको बेथिति रहेको भन्दै सरकारले नियमन गर्नुपर्ने बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय