गत आइतबार ट्याक्सीमा चढ्ने क्रममा महिलालाई मास्क लगाउन आग्रह गर्दा चालक खड्कामाथि उनीसहितका तीन महिलाले दुर्व्यवहार गरेका थिए । उनीहरुले दुर्व्यवहार गरेको उक्त भिडियो सार्वजनिक भएलगत्तै भाइरल बनेको थियो ।
भिडियोमा मास्क लगाउन आग्रह गर्दा महिलाले खड्काको मोबाइल खोस्नुका साथै मास्कसमेत थुतेर चुँडालिदिएकी थिइन् । उनले खड्काको मुखैमा आएर पटकपटक खोकेकीसमेत थिइन् ।
मास्क नलगाई ट्याक्सीमा नराख्ने बताएपछि उनीहरुले हिँड्ने बेलामा चालक खड्काको आँखामा पोल्ने खालको अर्थात् खुर्सानीको धूलो मिश्रित रसायन छर्किएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका थिए ।
दुर्व्यवहारविरुद्ध खड्काले सन्फ्रान्सिस्को प्रहरीमा उजुरी दिएपछि ती महिला पक्राउ परेकी हुन् । आफू एशियाली भएकाले नश्लीय भेदभाव गरिएको खड्काले बताएका छन् । उनीमाथि गरिएको दुर्व्यवहारको सर्वत्र आलोचना भएको थियो ।
आफ्ना चालकमाथि दुर्व्यवहार गरेकामा उबरले तीनै जनालाई प्रतिबन्ध लगाउने निर्णय गरेको पनि विज्ञप्ति निकाली जनाएको छ । यसका साथै खड्का माथि भएको व्यवहारको आलोचना गर्दै अर्को ट्याक्सी कम्पनी लिफ्टले पनि उनीहरुलाई नचढाउने जनाइसकेको थियो ।