अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:५२ | Colorodo: 16:07

नेपाली काव्य परम्परामा गोपालप्रसाद रिमाल

युवराज मैनाली २०७७ फागुन १३ गते ७:२० मा प्रकाशित

समालोचना

जीवनले आवश्यकताहरूको पूर्तिको क्रममा आफुभित्र गुम्सिएर रहेका भाव पनि ओकल्ने माध्यम अपनायो । मानिसका भाव, संवेदनाका प्रखर एवं तिखारिएका ती माध्यममध्ये जसले बहुजनका भावसँग तारतम्य राख्दछ, जसले अरूको मुटु छुन्छ, त्यसैलाई साहित्यको उँचो दर्जामा राखियो । मानवीय विकासक्रमसँगसँगै प्रारम्भका बोल्ने र सुन्ने सीमित माध्यम लेखन हुँदै छपाइ अनि आज आएर अनेक विद्युतीय माध्यमद्वारा यसको विस्तार मात्र नभई व्यापक प्रसार पनि हुँदै आएको छ ।

परम्परित अनेक जटिल मान्यताहरू पनि सहजीकरणतर्फ जाँदै छन् । काल्पनिक बहावभन्दा तथ्य सत्य आधारहरू अनि मानवीय आवश्यकताहरूका आधारमा यसलाई उभ्याउने, छोटाउनेदेखि लिएर युगअनुसार अघि बढाउने चाँजोपाँजोहरू गरिँदै आएका छन् । जे जस्तो भए पनि ढुङ्गे लेखनको अस्तित्व पनि कायमै देखिन्छ भने सुधार बौद्धिक, चाटुकारिताका रङ्गढङ्गका प्रदर्शन पनि नदीका दुई किनारासरी समानान्तर रूपमा रहनपुगेका छन् । अहिले साहित्यको इतिहास धार, उपयोगिता, प्रायोजन आदि इत्यादि अग्ल्याएर कसैलाई देखाइरहन आवश्यकता देखिँदैन किनकि चेतनतत्वको विस्तार प्रगाढ स्वरूपमा रहन पुगेको छ ।

नेपाली साहित्यतर्फ मोडिने हो भने बाँडिएका विधामध्ये काव्यतर्फका सर्जक अवश्य पनि झाँगिएकै देखा पर्दछन् । पूर्वीय पद्यका धारमा त्यति बेलाको हरियाली फाँट यस विधामा पातलिँदै गएको जरुर देखा पर्दछ तर समूल छेदन हुन पाएको छैन । त्यो यथार्थ यही छ ।

स्वको नभएर पनि पहिरनझैँ हामीले पद्यविधालाई स्व संस्कृतिमा हुलिसकेका छौँ । यसमा पनि के कुरामा रुमलिन्छौँ कि यो विधालाई आफूतिर तान्ने पहिलो को ? भानु आदिकवि हुन् होइनन् अझै छलफल, चर्चा, खोजमा प्रश्न तेर्सिने गर्छन् । ‘नेपाली गद्य कविताको प्रथम प्रयोग कसले गर्यो’ ? यस विषयमा ताना शर्माले लेखेका छन्  “……. मैले गोपालप्रसाद रिमालको अध्ययन गरेर तयार पारेको उनको आमाको सपना भन्ने कविता सँगालोको भूमिकामा स्पष्टसित नेपालीका पहिला सफल गद्य कवि रिमाललाई नै किटेको थिएँ ….” । आफ्नो भानुभक्तदेखि तेस्रो आयामसम्म (२०२७–५०) पुस्तकमा उपर्युक्त शीर्षकमै उल्लेख गरेका छन् । यसको पक्षमा केलाउने अहिलेको आशय हैन, मात्र उनै रिमालका स्मृति कृतिमा कोर्ने अभिप्राय यस लेखको रहेको छ ।

नेपाली काव्यजगत्को प्रारम्भिक चरणमा समयको रङ्ग पोखिँदै स्तुतिका रागहरू घन्किँदै फैलिँदै गएको जगजाहेरै छ । त्यस परम्परालाई तोड्न निकै समय लाग्यो । विश्वका साहित्यिक आवहवाका साथसाथै छिमेकी देशहरूको प्रभावले चेतनाका रापिला घामको तापले त्यो धारबाट चेतनतत्व पनि परिवर्तित हुनपुग्यो । काव्यजगत स्तुति भावनाका एकहोरो बगाइ मात्र होइन, बौद्धिक शब्द जालोको पोको पनि होइन । यसमा जीवन र जगत प्रतिको दायित्वबोध पनि अन्तर्भूत हुनुपर्छ । यही बोधको परिणतिमा सत्यम् शिवम् सुन्दरम् प्रकट हुन पुग्दछ । त्यस्ता सृजनाबाट सर्जकले अमरत्व प्राप्त गर्दछ ।

नेपाली काव्यजगत्मा दुई धारबीच रहेर पनि भानुभक्त आदिकविको रूपमा विभूषित भए । लेखनाथ कवि शिरोमणि बन्नपुगे । देवकोटा चिनिए पन्त, प्रसाद, निराला तीन भारतीय शिरका एकै शिरको रूपमा । उनी विश्वकै भए । थोरैमा आत्मजागरणको सरल अभिव्यक्त गहन रूपमा प्रस्तुत गरी काव्यका मर्मलाई छुनसक्नेका रूपमा गोपालप्रसाद रिमाल चिनिए । यत्तिमै मात्र सीमित नरहेर उनी पुराना मूल्य र मान्यतालाई पन्छाएर छन्दका कुवामा मडारिएर मात्र काव्य प्रवाह रहन्छ भन्ने मान्यताका विपक्षमा लेखेर यस पक्षका प्रथम मार्गदर्शक नै बन्नपुगे । तिनैबाट सिको गरेर सम र देवकोटा पनि गद्यकाव्य प्रवाहमा समाहित हुनपुगेका हुन् ।

कवि रिमालका गद्यकविताको प्रकाशन १९९२ फागुन १६ गतेको गोरखापत्रमा ‘कविको गान’ शीर्षकबाट हुनपुग्यो जसलाई नेपाली गद्यकविताको प्रारम्भ मानिन्छ । यसपछि शारदा (वर्ष ९, अङ्क ७ कार्तिक २०००) मा प्रकाशित “आमाको सपना” शीर्षक दिएर २०१९ मा पुस्तकाकार कृति प्रकाशित भएपछि रिमालको कवित्व सबैका लागि परिचित भयो । तत्कालीन स्थितिमा देशवासीको कर्तव्यदेखि लिएर काव्यका पहिचान व्यक्तिका सामाजिक दायित्व आदि विषयमा उनको कलम परिवर्तनका निमित्त जुर्मुराएको देखिन्छ । उनको पहिलो कविता नै प्रतीकात्मक, व्यङ्ग्यात्मक, चित्रात्मक र सरल शैली एवं नवीनतम नागबेली स्वरूपमा देखा परेको छ –

एक जङ्गलमा पक्षी वर्गले
कन्सर्ट पार्टी धूमधाम रचे
कविलाई हराउने उद्देश्यले;

यसबारे वरिष्ठ समालोचक ताना शर्माले “उल्टो प्रकृतिलाई प्रभावित पार्नसक्ने मानव मूल्यलाई प्रकृतिको मूल्यमाथि राखिएको आशय व्यक्त गरेको देखिन्छ । केही हदसम्म सहमतीय विन्दुमा यसलाई स्वीकार गर्न सकिए पनि अन्ततः कविताको आशय जङ्गल स्वरूपमा स्वेच्छाचारी राज्य अनि तिनका तापको तालमा नाच्ने आसेपासेकै स्वरूपमा चरा र जन्तु प्रतीक स्वरूपमा उल्लेख्य देखिन्छ । अनि निडर माछाका रूपमा निश्छल निडर जनता । विद्रोहको स्वर रिमालका कवितात्मक लक्ष्य हुन् । यस लक्ष्यबाट उनी विचलित भएर वा विद्रोहको नाममा सीमा नै नाघेर प्रकृतिसँगै मितेरी लगाउन पुगेको कहीँ पनि देखिन्न । प्रस्तुत कविता सङ्ग्रहभित्रै सङ्गालिएका ‘कुर्लिनघाट’, ‘बादल’, ‘निर्मल सरमा’, ‘साँघुबजारबाट’ ‘त्रिशुली’, ‘प्रति’ आदिले प्रकृतिलाई आफ्नो अधीन वा कवि अधीनस्थ प्रकृतिको बाँकी कतै देखिँदैन ।

कवि रिमालभित्र क्रान्तिकारिता तथा परिवर्तनको तीव्र चाहना पाइन्छ तर त्यसभित्र नारागत उत्ताउलोपना अर्थात् मर्यादाको उल्लङ्घन कतै भेटिँदैन । उनीभित्रको प्रगतिशील चेतले अन्धाधुन्ध फड्को हाल्नखोजेको पनि देखिँदैन ।

मानव बनमा कहिलेदेखि झर्न थाल्यो निर्झर
जसको इन्द्रधनुषले गर्दा जीवन यो सुन्दर सुन्दर

‘कवि हृदयमा’ शीर्षकको कविताले पनि यो कुरा स्पष्ट गरेको छ । अझ यसै कविताको अन्तिम हरफले भन्दछ –
निर्भर पर्वत वनहरूमा सौन्दर्यको जति छाप्छ
मानव आत्मामा उत्तिकै त्यै रमनीयताको भागछ ।

प्रस्तुत कवितांशमा प्रकृतिभित्र मानवीय शान्तिको भावलाई इङ्गित गरिएको छ । सबैतिरबाट दग्ध मानव प्रकृतिको काखमा आएर शीतलता अनुभूति गर्न पाउँदछ भन्ने भाव कविताको आरम्भिक पङ्क्तिमै यसरी प्रकट हुनपुगेको छ –

मानव–बनमा कहिलेदेखि झर्न लाग्यो निर्झर
जसको इन्द्रधनुषले गर्दा जीवन भो सुरसुन्दर

अनि यसै क्रममा–
सुख–दुःख रङ्गिन्छन् मानवजिवकादुइ रङ्ग
कहिले प्रेम–शशिको प्रकाशमा हृदयोदधिको ज्वार
कहिले पात पातमा टल्किरहने अनन्तताको शीत
विश्व–गीतमा नाचिरहेको सौन्दर्यको काखबीच

प्रस्तुत कवितामा प्रकृतिलाई हाँक दिइएको नभई प्रकृतिको तारतम्यता कविले आत्मसात् गरिएको पाइन्छ ।

यसरी नै ‘बादल’ शीर्षकमा कविको प्रवाह यस्तो छ –
त्यसैले बन्दिन कहिले बलेर सूर्य म
जगेर हुन्न सूर्यले बल्ने निदाउरो चन्द्र म
म सधैै आफ्नो शक्तिले बली जलन निभाउँछु
संसार सज्नु मेरो हो काम, यसैमा मग्न छु ।

प्रकृतिबाट दायित्वबोध गर्नुपर्ने भावको अभिव्यक्तिका लागि यहाँ ‘बादल’ लाई प्रतीकका रूपमा उभ्याइएको छ । प्रकृतिबाट सिक्नु र प्रकृतिकै अनुसरण गर्नुलाई सार्थकता मात्र नभई आफैँलाई त्यही सरह उभ्याएर अनुकरणात्मक भूमिका निर्वाह गर्नुपर्ने भाव यस कवितामा अभिव्यञ्जित छ । बाध्य एवं विवश परिस्थितिमा मानिसमा निराश हुनु स्वाभाविकै हो भन्ने भावलाई  “सहिदहरूसित” कवितामा बिम्बित भएको छ । यस्ता विम्बलाई कविले सोझै व्यक्त नगरी व्यङ्ग्यात्मक रूपमा यसरी व्यक्त गरेका छन् –

आफूलाई बचाउन पनि बाच्नै पर्‍यो,
जहान बच्चालाई बचाउन झन् चिरिन् जीवी हुनै पर्‍यो,
यो साझा फुलवारिको हरेक फूल चुस्नै पर्‍यो,
भोक र तिर्खा मेट्न यहाँ भोजमा चोक्टा चोक्टा लुछ्नै पर्‍यो,
माटो खाए माटो होइन्छ, मानिस खाए मानिस,
त्यसैले मान्छेलाई मान्छेले टोक्नै पर्‍यो,
मानिसहरू यो साझा फूलबारीमा निकै हुनै पर्‍यो,
त्यसैले सहिदहरूलाइै सम्झनै पर्‍यो,
उनीहरूसित प्रेरणा लिनै पर्‍यो ।

नेपाली धर्तीमा सन्तानब्बे, सात र सत्र पनि गए तर तिनको उपलब्धि के त ? ती परिवर्तनका सार के त ? आफैँ प्रत्येक परिवर्तनका प्रत्यक्ष सहभागी रहेका रिमालका अवलोकन, सुस्केराका उच्छवास पुञ्जको रूपमा देखिँदो छ यो २०१८ सालको “सहिदहरूसित” मा ।

रिमालको “आमाको सपना” भित्र जीवन जिउने कला छ भने मर्ने हौसला पनि त्यत्तिकै छ । सामाजिक प्राणीभित्रका नवै रस यसमा सिञ्चित छ । प्रगतिशीलता उनका कविताको मूल लक्ष्य भए पनि त्यसैमा आशक्त दुर्मुह अनि विद्रुपताको चहचह कतै भेटिँदैन । यसैले सरल भाषा, सहजग्राह्य बिम्व र प्रतीकले गर्दा उनका कविता साधारण पाठकका लागि समेत सहज बन्न पुगेको छ । यसको उदाहरणका लागि ‘सपनामा’ शीर्षक कविताको पङ्क्ति पुञ्जलाई उल्लेख गरिन्छ –

सपनामा तिमी सुरु सुरु आउन सक्छौ
न पर्खाल, न पहरा–
बिपनाको पखेटा सपना नहो

यसमा सपनाको व्याख्या छ । स्वप्न देख्नेका निम्ति न त पर्खाल न पहरा ठडिएका हुन्छन् । चाहन्छौ भने उडेर आउन कसैले रोक्न सक्दैन । यो उद्गार मात्र प्रीयसीको प्रिय प्रतिको होइन । यसभित्र लुकेको अन्तर आवाज पहिचानको माग यस कवितामा रहेको छ । यसैले बग्दैबग्दै रोमान्टिकताको दैलोबाट यसरी सुसेल्न थाल्दछन् –

मन लागे तिमी दुष्यन्त भएर आऊ
म शकुन्तला झैँ फूलको सुसारमा हुन्छु …..
मलाई बाबु आमा भन्न  कर परिहरको राक्षसहरूबाट
छुटकारा दिन कम्मर कस
म राक्षसहरूलाई आँसुले छकाएर
तिनीहरूको काल पत्ता लगाइदिन्छु,
तिमी उनीहरूलाई मार, मलाई हर !
तिमी आउ–
बिपनामा हराएको मणि नै सपना हो ।

प्रस्तुत कवितांशमा दन्त्यकथाबाट टिपिएका विम्ब र प्रतीकले कुनै जोसिला नारा दिएका छैनन् । कुनै चोटिला गाली बजारेका छैनन् । राक्षस को हो ? राक्षसकी छोरी को हो ? बडो स्पष्टसँग चिनाइएको छ । स्फुरण र शक्तिको पहिचान गराइएको छ । खोजिएको छ, निरङ्कुशता, अन्याय, अत्याचार विरुद्ध अघि बढाउन । ‘दन्त्यकथा’मा पनि उही राग भेटिने हुङ्कार यसमा पाइन्छ –

शिर उच्चा गर्दै हिँड्छस् ए गरिब
के तँ फेरि साउनको बादल झैँ निचोरिन्नस् ?
भेटको असम्भावनाले पत्थर भएर तेरो मुटु किच्दैन ?
…. दन्त्यकथा कन्जुसी गर्दछ
कथाको गरिब गम्भीर छ,
जादुले अर्कै भएजस्तो छ,
उ हावा गतिकै हलुका भएर राजकुमारीको खोपीमा पुग्दछ ।
उनीहरूको बिहे हुन्छ ।

कविको बिम्बचेत यसरी उज्यालो छर्न उद्यत रहेको छ –

नभन प्रिय ! यिनलाई पिन्चे आँसुकण
यही मेरो युग युगको सन्चित धन

होइनन् यी, प्रिय विवशताका चिन्ह

नैराश्यमा आँसु सुक्छन्, म त उत्साही अविच्छिन्न
म मानव, मानवताको छ सीमामाथि
त्यै सीमाको बाहिर पर्छ पूर्णताको अनुहार ।

मानवीय शृङ्गार रसको प्रतापझैँ देखिन्छ तर यसभित्रको प्रेम भनाउँदो तत्वले इङ्गित अर्कोतिर गर्दछ । यही हो रिमालभित्रको विशेषता, यही हो रिमालका लेखनको जीवन्तता । यही जीवन्तताभित्र संवेदनाका भुलभुल यसरी भूल्याउँदछ–

भनन भन कली !

क्षणभरको छोटो जीवन
बसन्तलाख फूलाउँछ !
शिशिर लाख सुकाउँछ !
अनाडी भूत अनन्त भविष्यको !
कहालीलाग्दो फैलावट बिच !
कस्तो यो जीवन काल कली ?
भनन भन कली ।

फेरि अर्को ‘फूल’ र ‘क्षण’ शीर्षकमा फूल फुल्ने झर्ने स्वाभाविक प्रक्रिया हो यस प्रक्रियागत क्रममा विशेष फूल जुन छातीमाथि फक्रन्थ्यो –

त्यो थोपालाई तृप्ति दिने
जब जगमा अमृत झरेथ्यो
के त्यो फूल फुल्यो ?
…. के त्यो क्षण आयो ?
स्वर्गयुग झैँ अङ्कित स्मृतिमा
त्यो क्षण कृष्ण युग झैँ फर्केन
अमृत प्याला झैँ पाएको त्यो फूल
हलाहल झैँ वारवार मिलेन ।

यसरी रिमालका काव्य विशेषता भनेको द्वयर्थक पनि एक हो । कठोर सत्यलाई कोमलतापूर्वक सम्प्रेषण गर्ने जुन कुशलता एवं तरलता उनीभित्र रहेको छ, त्यो अरूमा दुर्लभ प्रायः रहेको छ । मात्र शब्दजालको मरिचिकामा प्रस्फूरण रिमालका काव्य प्रवाह छैनन् । एउटा लक्ष्य जागरणको उद्देश्य एवं स्पष्ट सबल समाज निहित यसमा रहेको पाइन्छ । यही लक्ष्य मालामा “प्रति पनि एक लक्ष्य फूल हो ।

……झिलबिच एक पदमर्झैँ या खेत बिच एकली हेरेँ, हेरेँ, फेरी हेरेँ र फूल गाँस्न लागेको देखेँ । घाँसी देखेँ, अलि नजिक गै आँखा च्यातिहेरें अनि मेरी देवीलाई देखेँ …..

उपमा अलङ्कारको दृष्टिले र सौन्दर्य भावपूर्ण दृष्टिले ‘आमाको सपना’ भित्रको यो एउटा मात्र बान्की देखिन्छ । यसमा पनि उद्देश्य निहित रहेको छ । उनको अन्तरकुनामा माटो प्रेम, देशको माया यति भरिएको देखिन्छ कि त्यो रित्तिनैै सक्दैन । उनका गीत र भजनमा समेत नेपाल र नेपालीकै चिन्ता रहेको पाइन्छ –

हे देवी दुर्गे, जगत्को आमा, पुकार हाम्रो सुनिदेऊ
हामी नेपाली हाम्रो यो भावना सवमा जगाइदेउ
ह   ह   ह  ह   ह   ह

म गर्छु देश सेवा बलदेऊ लौ मलाई
मबाट होस् सबैको आनन्द औ भलाई
तिम्रै गरी पुकारा अर्पण गरेर भेटी
हामी भर्यौ फुका सव दासत्वलाई मेटी
ए शम्भुलौ मलाई बल देऊ लौ लौ मलाई
म गर्छु देश सेवा बल देऊ लौ मलाई ।

भजन पाराका यी दुई गीत भावमा एउटै भए पनि समयान्तर प्रस्ट देखिन्छ । पहिलोमा चिन्तन छ भने अर्कोतर्फ स्वतन्त्रताको आभास सहित अन्धकार फाँड्नुपर्ने भाव अभिव्यञ्जित छ । यस स्वतन्त्रताको आभासले दरिलो अनि चिरस्थायी आड दियो त ? यस प्रश्नको जबाफ उनकै ‘सान्त्वना’ कविताले यसरी दिएको छ:

तिमी नरोउ, वस केही वेरपर्खमात्र
संसार हाक्दै अघि बढ्ने तिम्रो योद्धा
भरे तिम्रो सानो कोठामा आइपुग्नेछ,

ह   ह   ह  ह   ह   ह

हो, उसले आफूलाई बेग्लै बेग्लै तुल्यायो

झ्वाट्ट चिन्न नसकिने तुल्यायो

यस्तै गरी –

किन भने उसले संसारलाई ठानेभन्दा अर्कै पायो,
उलट पुलट गरी दिनु पर्ने पायो,
ऊ त्यसैले योद्धा भयो कम्मर कसेर लडिरहेछ !

प्रस्तुत हरफमा कवि गोपालप्रसाद रिमालले परिवर्तनप्रति असन्तुष्टि जाहेर गरे पनि आफैँलाई र अरूलाई समेत यसरी सान्त्वना दिन्छन् –
ऊ भेट्टाउन नसकिने गरी पर पुगेको होइन
आइलाग्ने माथि जाइलागेको मात्र हो,
ऊ त्यसै पर पुगेको होइन,
वरु तिमी निन्याउरो नहोउ, तिमी हाँसिली होउ,
तिमी उज्याली भई देऊ, ।

यहाँ एक योद्धाका सहधर्मिणीप्रति यी सब भनिरहेको प्रतीत हुन्छन् तापनि उनको लेखन प्रवृत्ति नै यस्तो छ कि त्यसलाई लक्ष्मणरेखाहरूले बाँध्न मिल्दैछ । एउटा पृष्ठभूमिझैं रहेर चारैतिर छाउने उनको लेखनले पाटोपाटो छुनपुग्छ । योद्धाले मन दरो पारेर युद्धमा हिँडेको छ भने तिमी पनि दरी भइदेऊ भरे मायामा पग्लेर फर्के भनी आँचलमा आफ्नो कालो अनुहार लुकाउन आइपुग्यो भने भनिदेऊ–
म हारेको अनुहार हेर्दिन,
लडाइबाट पीठ फर्काउनेको निम्ति
मेरो घरको दैलो खुल्दैन,
मेरो अँगालोको हार हार्नेको निम्ति होइन,
मेरो जय माला विजोडताको निम्ति हो ।

आफ्नो भाव प्रवाहमा दृढ स्वर निकाल्दै कवि युद्धमा जित अवश्यम्भावी छ भन्ने शङ्खघोष कविले यसरी गरेका छन् –
हाम्रो शिर ठाडो हुन नदिने अत्याचारको विरुद्ध
हामीलाई बोल्न नदिने गरिवीको विरुद्ध
हामीलाई बाँच्न नदिने गरिवीको विरुद्ध
हामीलाई केही थाहै नदिने अज्ञानको विरुद्ध
कम्मर कसेर लडिरहेछ

जित उसैको हुन्छ ।
रिमालका कवितामा लयात्मक, गेयात्मक अनि प्रभावात्मक रहेको छ भने प्रतीकको प्रयोग पनि सुस्पष्ट रूपमा देखा परेको छ ।
आफूले देखेको परिवर्तनका सपना यथार्थमा भोगाइका क्षणमा फुस्रोफुस्रो देख्नुपर्ला भनेर कविले चिताएका थिएनन् भन्ने भावको प्रकटीकरण यसरी भएको छ –
एक जुगमा एक दिन एकचोटि आउँछ
उलट पुलट, उथल पुथल, हेरफेर ल्याउँछ
लाटा साधा बोल्न थाल्छन् चल्छन ओठ दुःखको
सहेभनी सम्झिएका इख फेर्न उद्त छन्
गए भनी नदेखिएका फर्की फर्की आउँछन् ।

परिवर्तन आए पनि अपुरो देखियो अधुरो देखियो । यस्तो सिलसिला समयक्रममा भट्किन्छ, यो मन कथा हाल्न पुग्दछ, परिवर्तनका एकजुगमा दिनहरू एकचोटीबाट चोइटिएर आए । उनले दोहोलो¥याएका थिए परिवर्तनकै कुराहरू–

हिजोसम्म जसको बोलीमा केही थिएन,
मनको प्रतिध्वनि सम्म थिएन,
आज तिनैको बोलीमा प्राण छ,
ब्यथा, उन्माद, आव्हान छ, अकाकर्षण छ,
आज तिनैको मौनता पनि बोल्छ ।

परिवर्तन आए पनि आमाको वेदना उही छ । आमाको सपनामाथि वादल लागेको छ भने भाव प्रस्तुत कवितांशमा भएको छ ।
आमाको सपना फेरिफेरि नियाल्दा क्षणहरू भन्दा यो क्षण बहकाउमा बढी थिएँ । दुई ओटा गद्य गीत पनि छ एउट “छल–कपट” अर्को म भन्न सक्दिन । ‘आमाको सपना’ संग्रहमा परेका । प्रिय, कहिलेकाही तिमीसित पनि मैले छलकपट गरेको छु –

तिमीले मलाई वरवर पार्न आफ्नो हृदय ओछ्याउँदाखेरि पनि म परपर हुनखोजेको छुु । त्यसोगर्दा तिमी कति मनमनै अपमानित भयौ होला, तिमीलाई कस्तो उराठ लाग्दोहोला तर त्यसरी तिमीले पिर मानेकोमा पनि मैले स्वाद लिएको छु, आफ्नू तुच्छ मान राख्न तिमीलाई अपमानित गरेको छुँ भन्ने आत्मस्वीकृतिलाई कविले यसरी प्रकट गरेका छन् –

प्रिय कहिलेकाहिँ तिमीसित छलकपट गरेको छु ।
यस्तै म भन्न सक्दिन नै मा म कल्पनाहरू खेलाउन थालेँ । म भन्न सक्दिन ऊ नजिक आएपछि ती सपना, कल्पनाहरू कुन प्राण भएर पछ्याउने हुन्, म कुन जीवन–काखमा खेलाउन पाउने हुँ । म भन्न सक्दिन ।

सबैले टड्कारै सुन्ने गरी टाढैबाट उनले भनेका कुराहरू त त्यस्ता मिठा छन् भने म भन्न सक्दिन । उसले मेरो कानमा खुसुक्क भनेका कुराहरू कति मिठा होलान् । म भन्न सक्दिन ।

आजकलका स्विटझैैं, लघुकथाका बान्कीर्झै यी दुई गीतका काव्य पहिरनका वर्णन कहाँबाट आरम्भ गर्ने अनि कहाँबाट अन्त्य । कवि गोपालप्रसाद रिमालका काव्यधारको चर्चाक्रममा उनलाई गद्यकविताका सूत्राधारमा मात्र सीमित राख्नु त्यति उचित हुँदैन । नेपाली गद्य कविताको आरम्भसँगसँगै यसको प्रयोगपक्षमा पनि एउटा बेजोड नमुना उनले जुन रूपमा प्रस्तुत गरेका छन्, त्यसको तुलना कसैसँग पनि हुँदैन । यसमा व्यक्तिका भावभन्दा सामूहिकताको प्रवाह सशक्त अनि निर्मल देखिन्छ ।

यदा यदाहि धर्मस्यको रागमा लुटुपुटिको झैँ देखापर्ने शीर्षकीय कविता “जून”ले जनजिब्रोमा प्रखर हुनपुगेको छ “आमाका सपना”–

आमा त्यो आउँछ र ?
हो वा त्यो आउँछ !
त्यो विहानको सूर्यझैँ उज्यालो छर्दै आउँछ ।
……………………..–……………………..

हेरौला त्यो हुरी भएर आउनेछ
तिमी पात भएर पछ्याउने छौ ।

अभिव्यक्तीय गहनता, बुझाइमा सुस्पष्टता, आत्मविश्वासको दृढता अन्धकाररूपी शोषण, अन्याय, अत्याचार विरुद्ध नवक्रान्ति आँधीबेहरी बनेर कुसंस्कार, कुप्रवृत्ति, निमिट्यान्न पार्न सबै अघि सर्दछन् । यही अघि सराइ नै ‘आमाको सपना’ हो । नयाँ युग नव सृजना तवमात्र हुन्छ, नयाँ नेपाल तव मात्र बन्छ । यसबारे अरू व्याख्या गरिरहनु पर्दैन, कवि रिमालले भनेझैँ परिर्तन एक युगमा एकचोटी आउँदछ तर परिवर्तन सानो हुरी वा वर्षे खहरे झैँ आएमा त्यो परिवर्तन साँच्चिकै परिवर्तन नभएर त्यसको सूचक मात्र बन्नपुग्दछ । ‘आमाको सपना’ को पूरकको रूपमा आएको “सपनामा” यस कुराको पूरक स्वरूप कविले यसरी देखाएका छन् –

तर त्यो तिमी नै हौला भन्ने
मेरो योवन भरिको सपना थियो ।

“आमाको सपना” को अन्तिम उक्त हरफले छोरा स्वत्वलाई अङ्गिकार गरिएको छ । अरूबाट लादिएर आएको हुरीले दिगो क्रान्तिको परिणिति दिनसक्दैन भन्ने खबरदारी पनि यस कवितामा गरिएको छ । कविले “आमाको सपना” लाई यसरी जोड दिएका छन् –

“हो तिमी जन्मँदा तिम्रो कलिलो अनुहारमा
त्यसकै छाया देख्ने आशा गरेकी थिएँ !
….   …  …   …

तर त्यो मीठो गीतले तिमीलाई
आफ्नो बाँसुरी बनाएन छ !
त्यो तिमी नै हौला भन्ने
मेरो यौवनभरीको सपना थियो ।

स्वपुत्रको प्रत्यक्ष सहभागिता नभएको यस पङ्क्तिबाट प्रस्टिन्छ तर त्यो क्रान्ति अरू कसैबाट परिचालित भएको होकि भन्ने प्रश्न उठ्छ । जे होस् यस विषयमा अरू व्याख्या एवं छलफललाई थाति नै राखेर पनि रिमालको सपनाचाहिँ अझै यथार्थमा परिणित हुन नपाएको र उनले कल्पना गरेको समाज अनि शासन थाति नै रहेको स्थितिचाहिँ ठोकुवा नै गर्न सकिन्छ ।

गोपालप्रसाद रिमाल “आमाको सपना” को सेरोफेरोमा प्रगतिशील ढल्काइमा देखिन्छन् तर उनको प्रगतिशीलता अरू प्रगतिशील लेखनकर्मीभन्दा बेग्लै रहेको छ । उनी नारा घन्काउँदैनन्, स्वमाटो र स्वपरिवेशको अनि स्वभावधारामा जीवन्त पार्दछन् । रिमाल छायावाद र प्रतीकको आवरणभित्र आफ्नो सृजनालाई सिङ्गार्न पुगेका देखिन्छन् । क्रान्तिकारी कवितामा युद्धप्रसाद मिश्र अनि सिद्धिचरण श्रेष्ठ आदि सोझै र सपाट घन्काइमा उफ्रन्छन् तर रिमाल भावपूर्ण रूपमा उपमा र शैलीको सरल प्रयोगले मुटु छुन पुग्छन् । उनी प्रकृतिका माध्यमबाट जीवनका आरोहावरोहलाई पृष्ठभूमि बनाएर आफ्नो सृजना जीवन्त तुल्याउँछन् । थोरै लेखेर धेरै योगदान गरेका भूपिशेरचनजस्तै उनले पनि थोरै लेखे तर आफ्नो लेखनीको छाप अमीट छोडे । उनको “आमाको सपना” कै बारेमा भन्ने नै हो भने निफनाइ यसभित्र थोरै छ्यासमिस नपाइने होइनन् जसलाई अस्वाभाविक मान्न सकिँदैन । रिमालले … “प्रति”, “नारी”, “बादलसँग”, “निर्मल सरमा”, “पिँजडाको क्यानरी”, “तिमी र म” आदि साथसाथै मृत्युको बारेमा पनि लेखेका छन् ।

उनी लेख्छन् –
जब कल्पनाको सुनौलो संसार
जुनकिरिसरी अध्यारोमा
पिलपिलिँदै हराउँदै जान्छ
अनि मृत्यु देखिन्छ– यही देखेँ

साँच्चिकै गोपालप्रसाद रिमालले मृत्यु नै देखे–‘आमाको सपना’ पूरा गर्न नसकेको भन्ठानेर वा सामाजिक सञ्जालका महाजाल, राजनीतिक दाउपेचमा आफूलाई खस्रो लागेर हो विद्रोही कलमका धनी–

म मानव हुँ, म जिउँदो छु
आँसु मेरो प्राण  (आँसु)

भन्ने व्यक्तित्व आँसु झार्दाझार्दै त्यसलाई रित्याएर खालीखाली रहेर आफ्नो मानसिक रिक्ततामा थाहै नहुनेगरी बस्न पुगे । सब कुरा उनले विर्सँदै गए सम्झे एउटै विद्रोह स्वर –
काट्छु मार्छु …..
मार्छु काट्छु ………
खुकुरीको धार देखाउँदै आखिर २०३० मा आफूलाई माटोमा समर्पित गरिदिए । अनि प्रश्नहरू छाडिगए आफ्नै शब्दको कात्रो ओढ्दै ।
के त्यो क्षण आयो ?
स्वर्ण युग झैँ अङ्कित स्मृतिमा
त्यो क्षण कृष्ण युग झैँ फर्केन
अमृत प्याला झैँ पाएको त्यो फूल
हलाहल झैँ बारबार मिलेन (फूल रक्षण)

हलाहल मिलिरहेको थियो उनले थाहै नपाउने गरी  । २०१९ मा मदन पुरस्कार प्राप्तिले सार्वजनिक सम्मान पाए पनि उनले व्यक्तिगत तृप्ति पाउन सकेनन् । उनलाई राम्ररी थाहा थियो कि –
म त न आफ्नो खुसीले आँखा चिम्लिने हुँ, साथी
यो होस् कसलाई भएको हो साथी
यो होस् भएर वा नभएर आँखा चिम्लनुअगाडि तन धोएझैँ सम्पूर्ण मैल धुँदै आखिर २०३० मा उनले आँखा चिम्ले । भोगाइका मार खप्न नसकेर जगलाई हँसाउँदै आएका भैरव अर्यालझैँ उनले खोलामा फालहाल्न परेन । नियतिले पहिले उनीबाट चेतन थुत्यो अनि शरीरै लुट्यो–
म अहिल्यै त नमरुँ नमरुँ

……………………..

मेरो हृदयमा जागेको जहरिलो घुणाले,
मेरो दुस्मनमाथि म आफ्नो पनि माया मारेर
निस्फिक्री नबजेसम्म …
……….. ….. .

म न विलाउँ, नडगूँ !
म अहिल्यै नमरुँ !
मेरो एउटै योजिउँदो गुनासो
नमरेको यो धोको, यही यौटा धीत
मअहिल्यै त नमरुँ नमरुँ !
अहिल्यै त नमरुँ   (गुनासो)
हो, मृत्युले उनको जिउ लगे पनि जिउनीको सम्पत्ति लग्नसकेन । ‘आमाको सपना’ लग्नसकेन नाटकहरू भारी भए मृत्युले उनका ।
उनको स्वास प्रस्वासका उच्छवास, उमङ्ग, जाँगर पनि लग्नसकेन, गीत बनी गुन्जिई नै रहे निरन्तर गुन्जिइरहनेछन् । यसै गरी ढक्क चौडा छाती फुलाएर यसरी नै –

रातो र चन्द्र सुर्जे, जङ्गी निसान हाम्रो ।
जिउँदो रगत सरियो, बल्दो यो सान हाम्रो ।।
हिमाल झैँ अटल यो, झुकेन यो कहिल्यै ।
लगेन यो कहिल्यै, जङ्गी निसान हाम्रो ।।
यो जन्मँदै जगतमा, कैयौँ प्रहार आए ।
सामाज्य दुई हारे, हारेन सान हाम्रो ।।
जवसम्म हुन्छ आफ्नै रातो रगत यो हाम्रो
गाई सरि छ्न् साधु जोजो यहाँ जगतमा
सबको सरन बलियो, जङ्गी निसान हाम्रो ।।
यही सानमा सानका साथ गोपालप्रसाद रिमाल फर्फराइ रहनेछन् सदासदा नेपाल रहेसम्म ।