अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:४३ | Colorodo: 19:58

आश्रममा बोकेदार्हीले गरे ६० हजार बराबरको सामग्री हस्तान्तरण

बिआरटीनेपाल २०७७ फागुन ३ गते ९:३४ मा प्रकाशित

इटहरी,  पुर्वका सम्राट् उपनामले लोकप्रिय भएका श्रीकृष्ण लुइँटेल ‘बोके दाह्री’ ले बाल आश्रमलाई सहयोग हस्तान्तरण गरेका छन् । इटहरीमा अवस्थित निःसहाय बालबालिका सेवा आश्रममा उनले सहयोग हस्तान्तरण गरेका हुन् । प्रवासी नेपालीहरूको सहयोगी मनका कारण यो सहयोग गर्न सफल भएको यसका लागि नेपालमा संयोजकत्व गर्ने आश्मा पराजुलीले बताइन ।

आश्रममा खाद्यान्न, ब्याग, बालबालिकाले खेल्ने खेलौना तथा दैनिक प्रयोजनमा चाहिने आवश्यक सामग्रीहरू वितरण गरिएको हो । उल्टो साइकल यात्री बिरेश प्रतिष्ठान तथा स्कोलोष्टिक फाउन्डेसन नेपालले प्रवासमा सहयोग सङ्कलन कार्यमा संयोजन गरेका थिए भने नेपालमा आश्मासंगै नैनाले संयोजकत्व गरेका थिए । हेर्नुस् भिडियो ।

प्रवासबाट उठेको ६० हजार २ सय २८ रकमबाट आवश्यक सामग्री किनमेल गरेर वितरण तथा बाकी रहेको रकम आश्रमकी सञ्चालिका गीता गौतमलाई लुइँटेलको हातबाट हस्तान्तरण गरिएको हो । लुइँटेलका फ्यानहरू रहेका साना नानीहरूसँग उनी रमाए भने उनले आफ्नो चर्चित गीत तेरो बाउ थोते, ए बा किन्देउन् भटभटे र ओके छ त गीत गाएर सुनाउँदा सबै जना सँगसँगै गाउँदै रमाइरहेका थिए ।

पूर्वमै रहेर कलाकारिता तथा कमेडी गायकीमा राष्ट्रिय स्तरमा लोकप्रियता हासिल गरेका उनले नयाँ गीत सार्वजनिक गर्ने तयारी गरेका छन् । सुनसरीको इटहरी-४, सयपत्री टोलमा रहेको निःसहाय बालबालिका सेवा आश्रम अनाथ र असहाय बालाबालिकाहरुको सेवा गर्ने उद्देश्यले ०४१ सालमा आफ्नै प्रयास र लगानीमा आश्रम सञ्चालनमा ल्याएकी थिइन् । हाल आश्रममा ४५ जना बालबालिकाहरू रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू