अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:२६ | Colorodo: 08:41

लोप हुँदै सुनका पूराना गहना

बिआरटीनेपाल २०७७ माघ १८ गते ६:४७ मा प्रकाशित

सुदूरपशिचम प्रदेशका पहाडी क्षेत्रमा रहेका परम्परागत गहनाका रुपमा रहेका सुनका गहना लोप हुँदै गएका छन् । नाकमा लगाउने बुलाकी, निधारमा लगाउने सुनका टीका, कानमा लगाउने मडेरी, घाँटीमा लगाउने ढुङ्ग्री, कपालमा लगाउने क्लिपलगायतका पूराना गहना अहिले लोप हुने अवस्थामा पुगेका छन् ।

बुढापाकाले लगाउने पूरानो शैलीका सुनका गरगहना आधुनिकताका कारण अहिले डडेल्धुरालगायतका जिल्लामा लोप हुने अवस्थामा पुगेका हुन् । सुनका पूराना गरगहना बनाउने कामदारको अभाव र नयाँ पुस्ताले आधुनिक डिजाइनका सुनका गहना प्रयोग गर्न थालेसँगै पूराना गहना विस्थापित हुन थालेको पाइन्छ । यस क्षेत्रका बुढापाका महिलाले लगाउने सुनका बुलाकी, नअथी, मडारी, फुली, टीका, ढुङ्ग्री, क्लिपलगायतका सुनका गहना पहिला विवाहमा बेहुलीका लागि अनिवार्य लगाउनुपर्ने चलन थियो ।

सुनका गहना पहिलाको तुलनामा महँगो बन्नुले पनि विपन्न परिवारका महिलाले त्यस्ता गहना प्रयोग गर्न छाडेको सुनचाँदी व्यवसायीको रमेश सुनारले बताउनुभयो । नाकमा बुलाकी लगाउने कहिलेकाहीँ मात्र देख्न सकिने भए पनि अन्य गहना भने लोप हुने अवस्था आएकाले पूरानो सांस्कृति नै लोप हुने अवस्थामा पुगेको सिद्धबाबा सुनचाँदी पसलका सञ्चालका अर्जुन सदाशङ्करको भनाइ छ ।

सुनचाँदी पसलमा समेत अहिले पुराना मोडलका गहना बन्न छाडेको र पूराना मोडलका गहना बनाउन जान्ने कामदारको समस्या डडेल्धुरा, डोटी, अछाम र बाजुरामा अभाव रहेको डडेल्धुरा सुनचाँदी व्यवसायी सन्दिप सिजापतिले जानकारी दिनुभयो । सुनका गहना बढी प्रयोग हुने विवाहमा समेत आधुनिक गहनाको प्रयोगले गर्दा मौलिकखाले गहना लोप हुने अवस्थामा पुगेको उहाँको भनाइ छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय